राजनीति

कांग्रेस र एमालेको कार्यकर्ताबीच मैदीमा झडप, धादिङबेसी बन्द

धादिङ- नेपाली काग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपको विषयलाई लिएर धादिङबेसी बन्द गराएका छन्। झडपमा संलग्नहरुलाई पक्राउ गरी कारबाहीको माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सदरमुकाम धादिङबेसी बन्द गराएका हुन्।

आइतबार बिहानैदेखि सदरमुकामका पसल व्यवसायहरु खुलेका छैनन्। सदरमुकामबाट अन्यत्र बाहिरने र भित्रिने सवारीहरु पनि चल्न सकेका छैनन्।

दोषीहरुलाई १२ बजेसम्म पक्राउ नगरे आन्दोलनका कार्यक्रम थप गरिने नेपाली कांग्रेसका नेता रामनाथ अधिकारीले बताए। 'अहिले विद्यार्थीले मात्रै बन्द आह्वान गरेका छन्। १२ बजेसम्म पक्राउ परेन भने हामी शसक्त आन्दोलनमा निस्कन्छौं,' अधिकारीले भने।

ज्वालामुखी गाउँपालिकाको विजय सभामा सहभागी भएर फर्कने क्रममा शनिबार साँझ मैदीको उखुबारी भन्ने ठाउँमा झडप भएको थियो। झडपमा दुबै तर्फका गरी पाँच जना घाइते भएका छन्। कांग्रेसका नवनिर्वाचित अध्यक्ष विनोद तिमल्सिना सहित नरेन्द्र भट्ट र दामोदर भट्ट घाइते भएका छन्। एमालेका नारायण पूरी र अमृत आले घाइते भएका छन्।

घाइते सबैजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। ज्वालामुखी गाउँपालिकाको साँधभञ्ज्याङमा आयोजित विजय सभामा सहभागी भएर फर्कदै गर्दा कांग्रेस कार्यकर्ताले गाडीमा ढुङ्गा हानेपछि प्रतिकारमा उत्रिएको एमालेले जनाएको छ भने एमाले कार्यकर्ताले आफुहरुमाथी आक्रमण गरेको कांग्रेसको आरोप छ।

घटना भएलगत्तै जिल्लाप्रहरी कार्यालय धादिङका डिएसपि दिपेन्द्र पञ्जियारसहितको टोली, सशस्त्र प्रहरी र मैदी प्रहरी चौकीका प्रहरीहरु घटनास्थल पुगेर स्थिति सामान्य पारेका थिए। घटनाको थप अनुसन्धान भइरहेको डिएसपी पञ्जियारले बताए।

प्रकाशित: ७ जेष्ठ २०७४ ०५:१८ आइतबार

कांग्रेस एमालेको कार्यकर्ताबीच मैदीमा झडप धादिङबेसी