राजनीति

प्रधानमन्त्रीले सत्ता हस्तान्तरण गर्नेमा शंका नगरौं : नेता रायमाझी

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले प्रधानमन्त्रीले उचित समयमा सत्ता हस्तान्तरण गर्नेमा कुनै आशङ्का नगर्न आग्रह गरेका छन्।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा रायमाझीले वर्तमान सरकार निर्माणका क्रममा साझेदार दलसँग स्थानीय तहको चुनावपछि प्रधानमन्त्रीले राजीनामा दिने सहमति र समझदारी भएअनुसार कार्य हुने बताउँदै दोस्रो चरणको निर्वाचनलाई नकारात्मक प्रभाव पार्ने गरी राजीनामा दिन नहुने बताए।

पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकाले अब दोस्रो चरणको निर्वाचन जेठ ३१ गते नै गर्नुपर्नेमा जोड दिँदै पहिलो चरणको निर्वाचनमा जनताले आफ्नो पार्टीलाई दिएको मत आशा गरेजस्तो नभएको स्पष्ट पारे।

गृह राज्यमन्त्री इन्द्र बानियाँले मधेसी मोर्चालाई दोस्रो चरणको निर्वाचनमा सहभागी गराउनका लागि सरकार स्थानीय तहको सङ्ख्या थप्न पनि तयार रहेको स्पष्ट पार्दै सरकारले टीकापुरलगायत तराई–मधेसका आन्दोलनलाई राजनीतिक घटनाका रुपमा लिएकाले मोर्चाका मागअनुसार मुद्दा फिर्ता लिने तयारी गरेको बताए।

नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले पहिलो चरणको निर्वाचन सम्पन्न भएको अवस्थामा अब दोस्रो चरणको निर्वाचन अगाडि सङ्ख्या बढाउने विषय अस्वाभाविक भएकाले त्यसको पक्षमा आफ्नो पार्टी नरहेको बताए।

आयोगले तोकिसकेको अवस्थामा जेठ १० गते संशोधन प्रस्ताव व्यवस्थापिका–संसद्मा निर्णयार्थ प्रस्तुत गर्न खोज्नुले निर्वाचन नगराउने षड्यन्त्र भएको बताउँदै उनले भने, “यो एक महिना उहाँहरु चुप लागेर बस्नुभयो, जब निर्वाचन आउन थाल्यो अनि उहाँहरु निर्वाचनमा नजानका लागि लाग्नु भइरहेको छ, मोर्चाका साथीहरु आफै निर्णय गर्न सक्नुहुन्न, उहाँहरु कहीँकतैबाट निर्देशित हुनुहुन्छ।”

राष्ट्रिय जनता पार्टी नेपालका नेता महेन्द्र राय यादवले आफूहरु चुनावमा भाग लिने स्पष्ट पार्दै सरकारले स्थानीय तहको सङ्ख्या भने वृद्धि गर्नुपर्ने बताए। उनले स्थानीय तहको सङ्ख्या जनसङ्ख्याका आधारमा बढाउने भनेर एमाले पनि सकारात्मक रहेको अवस्थामा सङ्ख्या बढाउनुपर्नेमा जोड दिए।रासस

 

प्रकाशित: ६ जेष्ठ २०७४ १६:१२ शनिबार

प्रधानमन्त्रीले सत्ता हस्तान्तरण गर्नेमा शंका नगरौं नेता रायमाझी