चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनाव सम्पन्न भएका कारण राष्ट्रको जित भएकोे बताएका छन् । ‘चुनाव हुनु ठूलो कुरा हो । निर्वाचन भएपछि कस्ले जित्यो हार्याे त्यो मेरा लागि महत्वपूर्ण विषय रहेन । मतदानको दिनपछि त मैले टिभी नै हेर्न छाडेको छु’ शुक्रबार चितवन रामपुरमा कृषि तथा वन विश्व विद्यालय केन्द्रीय कार्यालय भवनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले भने ।
धेरै ठूलो दृढता देखाएर निकै मिहेनत गरेर पहिलो चरणको निर्वाचन गरेको उनले बताए । दोस्रो चरणको निर्वाचन सम्पन्न गराउन अझ बढी जिम्मेवार भएर लाग्नु पर्ने अवस्था रहेको उनले बताए । दोस्रो चरणको निर्वाचनका विषयमा आज शुक्रबार नै काठमाडौंमा सर्वदलीय बैठक बस्ने र सबैलाई समेटेर चुनाव गर्ने विषयमा महत्वपूर्ण सहमति हुने उनले जानकारी दिए ।
‘स्थानीय चुनावले परिर्वतन संस्थागत त गर्छ नै विकासको युग पनि सुरुवात गर्छ । त्यसैले चुनाव भएपछि काँग्रेसले जिते पनि म खुसी, एमालेले जिते पनि म खुसी र आफ्नै पार्टीले जिते पनि खुसी नै छु । राष्ट्रले जितेको अवस्था छ । त्यसैले जस्ले जिते पनि यो मेरै आफ्नै जित हो’ दाहालले भने । यसरी सोचेर सवै सहमतिमा आए दोस्रो चरणको निर्वाचन झनै ठूलो उत्साहपूर्ण माहौलमा सम्पन्न हुने उनले बताए ।
प्रकाशित: ५ जेष्ठ २०७४ १०:१६ शुक्रबार