राजनीति

राम्रो काम गर्दै जाने हो, जस खोज्ने होइन: ओली

फाइल।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जीवनमा कुनै प्रतिफलको आशा नगरी देश र जनताको समृद्धिको काममा निरन्तर लागिरहने बताएका छन्।

भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीमा सञ्चालनमा आएको ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’को आज उद्घाटन गर्दै उनले राम्रा कुरालाई बढावा दिएर जानुपर्ने बताएका हुन्।

नेपालमा बालबालिका, ज्येष्ठ नागरिकप्रति हेरचाह गर्ने, सेवा गर्ने परम्परा निकै पुरानो भएको चर्चा गर्दै कार्यक्रममा उनले स्याङ्जाको आँधी खोलामा श्रवण कुमार मारिएका र उनका आमाबुबाको उद्धार गरिएको कथा सुनाएका थिए।

रिडीको छेउको रुरु क्षेत्र उपनिषद् र पुराणको प्रसिद्ध क्षेत्र भएको सुनाउँदै एमाले अध्यक्ष ओलीले हरिणले समेत दूध पिलाएर बालिका बचाएको पवित्र भूमि नेपाल नै भएको इतिहास रहेको बताएका थिए।

नेपाली परम्परा, संस्कृति र पहिचानभन्दा फरक संस्कृति नेपालमा भित्रिन थालेकामा चिन्ता व्यक्त गर्दै उनले गुरुलाई नमान्ने, आदर भाव नदेखाउने, आमाबुबालाई हेला गर्ने कुरा सुनिन थाल्नु दुःखद भएको बताए।

देश र जनताका लागि राम्रा काम गरेकै कारण आफूलाई सरकारमा जान नदिन निरन्तर षडयन्त्र भइरहेको भन्दै उनले भने, “मलाई कसले के भन्यो भन्ने कुरामा म खासै चासो दिन्नँ, मैले राम्रो काम गर्दा पनि त्यसको श्रेय दिए पनि नदिए पनि म अर्थ राख्दिनँ, कसैले राम्रो भनोस् कि नभनोस् त्यसको अर्थ राख्दिनँ, तर जसले जे भने पनि आफूले राम्रो काम अनवरतरूपमा गरिरहनुपर्छ, म गरिरहन्छु।”

प्रकाशित: १८ असार २०८० १७:४३ सोमबार