राजनीति

समाजवादको उच्चतम परिभाषा ‘सर्वे भवन्तु सुखिन’ होः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलहरुले भन्ने गरेको समाजवादको उच्चतम परिभाषा सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया रहेको बताएका छन्।

सोमबार काठमाडौंमा पार्टीले गरेको राप्रपा नेपालको हिन्दुराष्ट्रः अवधारणा र औचित्य अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरुले अहिले भन्ने गरेको समाजवाद वैदिक कालमा नै व्याख्या गरिसकिएको बताएका हुन्।

उनले सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया भन्दा समाजवादको उच्चतम र उत्कृष्ट परिभाषा अरु हुनै नसक्ने दाबी गरे। उनले सबै सुखी हुन्, सबै समान हुन्, कोही पनि दुःखी र रोगी नहुन् भन्नेकुरा वैदिक कालमा नै शास्त्रले व्याख्या गरिसकेकाले अहिलेका राजनीतिक दलहरु र संविधानमा लेखिरहनुको अर्थ नरहेको जिकिर गरे। प्रजातान्त्रिक मूल्य र मान्यताको संरक्षणका लागि पनि नेपाल हिन्दुराष्ट्र हुनुपर्ने उनको भनाइ छ। उनले हिन्दु राष्ट्रका कुरा गर्दा अहिलेका आधुनिक कुरालाई वहिष्कृत गर्ने नभइ त्यसलाई पनि संरक्षण गरेर आर्थिक समृद्धिको दिशामा जान सकिने बताए।  

उनले भने, ‘हाम्रो सनातन संस्कृतिमा प्रजातान्त्रिक मूल्य र मान्यता छ। त्यसको संरक्षणका निमित्त पनि नेपाल हिन्दुराष्ट्र हुनुपर्छ । सामाजिक समन्वय, नैतिक मूल्य, उदार आर्थिक मान्यता, यो उदार आर्थिक मान्यता कतिपयले यो आधुनिक विश्वको उपलब्धिको रुपमा लिएका छन्। प्रजातन्त्र, डेमोक्रेसी र लिबरल इकोनोमीलाई एक अर्काका परिपूरकका रुपमा लिइरहेका छन्। तर उदार आर्थिक मान्यता, समृद्धिको जुन कुरा छ, आर्थिक समृद्धिको कुरा मैले गरेको छु, त्यो समृद्धिको क्रममा अहिलेको लिबर इकोनोमीको आत्मा भनेको इण्टुभिजुअल फ्रिडम हो, त्यो इण्टुभिजुअल फ्रिडमको चर्चा त वैदिक कालमै भनेको छ। उपनिषद्हरुमा छ। हिन्दु राष्ट्रका कुरा गर्दा अहिलेका आधुनिक कुरालाई वहिष्कृत गर्ने होइन। त्यसलाई पनि हामीले संरक्षण गरेर आर्थिक समृद्धिको दिशामा जान सक्छौँ। वसुधैव कुटुम्बकम धेरै चर्चा भइसकेको विषय हो। सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामया। आजकाल अधिकांश राजनीतिक पार्टीहरु समाजवाद भन्छन्। हुँदा हुँदा हाम्रो संविधानमा नै समाजवादउन्मुख लेखिएको छ, त्यो आवश्यक नै थिएन। सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया। सबै सुखी हुन्, कोही दुःखी नहुन्, कसैले दुःख नपाओस् भन्ने मान्यता नै हाम्रो वैदिक मान्यता हो। यही हो समाजवाद भनेको। जहाँ समानता हुन्छ। समाजवादको उच्चतम परिभाषा भनेकै सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया हो। यो भन्दा अर्को उच्चतम, उत्कृष्ट परिभाषा हुनै सक्दैन।’

प्रकाशित: १८ असार २०८० १३:५१ सोमबार

अध्यक्ष कमल थापा