राजनीति

बैंकको जागिर छाडेर गाउँपालिका प्रमुख

गोरखा – कृषि बिकास बैंकको जागिर छाडेर चुनाव लडेका होमबहादुर राना गण्डकी गाउँपालिका प्रमुखमा विजयी बनेका छन् ।  चुनाव लड्न जागिर छाडेका उनले ४ हजार १ सय ३८ मत ल्याएर विजयी बने । प्रतिद्वन्द्वी दीपक तिमल्सिनाले ३ हजार ८ सय ६३ मत ल्याएका थिए । 

लामो समयदेखि राजनीतिमा सक्रिय प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्नु उनलाई सहज थिएन । माओवादी केन्द्रका केन्द्रीय सदस्यसँग उनी चुनाव लडेका हुन् । ‘चुनाव लड्नु मेरा लागि नौलो थियो, जागिर छाडेर जनताको सेवा गर्न राजनीतिमा होमिएको छु’, नेपाली कांग्रेसबाट गाउँपालिका प्रमुखमा विजयी भएपछि उनले भने, ‘अब यहाँका जनताको सेवामा लाग्नेछु, जनताले विश्वास गर्दा गर्व महसुस भएको छ ।’

यस्तै प्रधानाध्यापकको जागिर छाडेर चुनाव लडेका तयाराज गुरुङ ७ सय ७३ मत ल्याएर सिराञ्चोक गाउँपालिका ३ को वडाध्यक्ष बने । कांग्रेसका तर्फबाट मनोनयन दर्ता गर्नु केही दिनअघि मात्रै उनले राजीनामा दिएका हुन् । 

विद्यालयमा लामो समय अध्यापन गराएका उनलाई स्थानीय चुनावमा प्रतिस्पर्धा गर्न सजिलो भएको अनुभव छ । ‘राजनीतिमा नलागेपछि समाजसेवा र सामाजिक काममा लागेको थिएँ’, उनले भने, ‘यहाँका स्थानीयको मन जित्न सक्छु, विश्वास गर्नेछन् भन्ने लागेको थियो, जितें ।’ अपेक्षाअनुसार काम गर्न सकिँदैन कि भन्ने चिन्ता लागे पनि जनमुखी भएर काम गर्ने उनको योजना छ ।

यस्तै चुनाव लड्न प्रधानध्यापकबाट राजीनामा दिएका रहमतुल्ला मियाँ पनि वडाध्यक्षमा विजयी भएका छन् । गोरखा नगरपालिका २ मा नेपाली कांग्रेसका तर्फबाट उनले प्रतिस्पर्धा गरेका थिए । चार सय ३१ मत ल्याएर उनी विजयी बने । उनले गाउँको महालक्ष्मी माविमा ३७ वर्ष पढाए । २२ वर्षसम्म उनी त्यही विद्यालयमा प्रधानाध्यापक भए । ५३ वर्षीय मियाँ फरक बाटो लिएर राजनीतिमा लागेका छन् । वैशाख १० गते जिल्ला शिक्षा कार्यालयमा राजीनामा बुझाएर उनी चुनाव प्रचारमा लागेका थिए । ‘समुदायमा बसेर लामो समय काम गरेको थिएँ, मलाई राम्रो गरी चलाउँछ भन्ने ठानेर जनताले मत दिएजस्तो लाग्छ ।’ 

संघीयता सफल बनाउन र जनतालाई गाउँ विकासको अनुभूति हुनेगरी काम गर्ने योजना उनको छ । ‘जागिरबाट राजीनामा दिएपछि मतदाताको घरघरमा पुगें, नचिनेको कोही थिए’, उनले भने, ‘भइरहेको जागिर छाडेर के चुनावमा उठेको होला समेत भनेका थिए ।’ धेरै मतदाताले सहानुभूति देखाएअनुसार नै मतदान गरेको उनी बताउँछन् । प्रचारप्रसारमा केही दिन घरघरै हिँड्नुपरे पनि अन्यत्रजस्तो खर्चले सीमा ननाघेको मियाँ बताउँछन् । विद्यालयमा रहँदा अभिभावक, विद्यार्थी, शिक्षकसँगको सहकार्यको फाइदा चुनावमा पुगेको उनको अनुभव छ । उनी विजयी भएको ठाउँ गोरखा नगरपालिका २ मा मुस्लिम समुदायका बाक्लो बस्ती छ ।

स्थायी शिक्षक छाडेर गाउँपालिका अध्यक्ष 
उता नवलपरासीको हुप्सेकोट गाउँपालिका अध्यक्षमा विजयी कांग्रेसकी लक्ष्मी पाण्डे शिक्षकबाट राजीनामा दिएर चुनावमा होमिएकी हुन् । उनले ४ हजार ४ सय ६८ मत  प्राप्त गरेको स्थानीय नागरिककर्मीले जनाएका छन् । उनी  जनता उच्च मावि देउरालीको प्राथमिक तहकी स्थायी शिक्षक थिइन् । 

 

प्रकाशित: ४ जेष्ठ २०७४ ०३:१७ बिहीबार

बैंकको जागिर छाडेर गाउँपालिका प्रमुख