राजनीति

तालमेल र सिद्धान्तमा नैतिक प्रश्न

काठमाडौं – पहिलो चरणको स्थानीय तहको निर्वाचनको प्रारम्भिक परिणामले गठबन्धन, गढ क्षेत्र र पार्टीका परम्परागत राजनीतिक सिद्धान्तमाथि प्रश्न उठाएको छ ।

मतगणनाको प्रारम्भिक नतिजाले शान्तिप्रक्रिया सुरु भएपछि निर्माण भएका दलका गढहरू भत्केका छन् भने केन्द्रीय तहमा भएका तालमेललाई स्थानीय तहका मतदाताले ठाडै अस्वीकार गरेका छन् । अप्राकृतिक तालमेलले राजनीतिक र सैद्धान्तिक विषयमा दलहरूमाथि प्रश्न उठाएको छ । 

समाजशास्त्री प्रा.डा. पीताम्बर शर्माले स्थानीय तहको निर्वाचन ‘जित्नका लागि’ तालमेल गरिएपछि दलका सैद्धान्तिक र राजनीतिक मान्यतामाथि नैतिक प्रश्न उठेको बताए । ‘निर्वाचन जित्न र क्षणिक फाइदाका लागि सैद्धान्तिक र राजनीतिक रूपमा कहींकतै नमिल्नेहरू यसपालि मिलेको देखियो । कांग्रेस र माओवादी, एमाले र राप्रपाबीच न सिद्धान्त मिल्छ, न त वैचारिक मान्यता,’  शर्माले नागरिकसँग भने, ‘मुख्यतः यी चार दललाई राजनीतिक मान्यताका आधारमा भोट माग्ने नैतिक आधार गुमेको छ ।’ 

इतिहासमा पहिलोपटक निर्वाचनमा फरक दलको निर्वाचनमा मत माग्ने र मत हाल्ने समेत काम तालमेलका नाममा शीर्ष नेताबाट भएको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाले फरक दलका निर्वाचन चिह्न (हँसिया हथौडा) का लागि चितवन पुगेर मत मागे भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अन्य दलको चुनाव चिह्न (रूख) मै भोट हालिदिए । ‘सम्भवतः यस्तो दृश्य यसअघि कहिल्यै देखिएको थिएन । यसैले सैद्धान्तिक आधारमा भोट माग्ने दुवै दलको नैतिक आधार गुमेको छ,’ शर्माले भने । 

यस्तै राजतन्त्र र हिन्दु धर्मको वकालत गर्ने पार्टीसँग सबैभन्दा ठूलो वामपन्थी शक्ति एमालेले तालमेल गर्नु अप्राकृतिक मात्रै होइन, सैद्धान्तिक र वैचारिक रूपमा विरोधाभासपूर्ण मानिन्छ । काठमाडौं, ललितपुर, म्याग्दीलगायतमा यी दुई दलबीच तालमेल भए पनि प्रारिम्भक मत परिणाम ठिक उल्टो आएको छ ।

काठमाडौं र ललितपुरमा एमाले र राप्रपाबीच भएको तालमेलले कुनै अर्थ देखिएको छैन । त्यस्तै भरतपुर र पोखरामा भएको कांग्रेस–माओवादीबीचको तालमेलले अपेक्षित परिणाम देखाएको छैन । पोखरा र भरतपुरमा कांग्रेस–माओवादी तालमेललाई पछि पार्दै एमालेले अग्रता लिएपछि तालमेलमा पुनर्विचार गर्न बाध्य बनाउँदै लगेको छ । ‘परिणाम अनपेक्षित भए पनि जनादेश स्वीकार गर्छौं, विचलित हुँदैनाैँ, आत्मसमीक्षा गर्छौं, थप मेहनत गर्छौं’, राप्रपा अध्यक्ष कमल थापाले भनेका छन् ।

ललितपुरमा मेयरमा एमाले र उपमेयरमा राप्रपाबीच तालमेल भए पनि मतदाताले उम्मेदवार नै नभएको एमालेको सूर्य चिह्नमा मत हालेर दुवै पार्टीको केन्द्रीय सहमतिलाई कडा जबाफ दिएका छन् । 

०६४ सालयताको प्रमुख दलका गढ मानिएका क्षेत्र स्थानीय निर्वाचनले भत्काइदिएको छ । कांग्रेसले विजय हासिल गरेको बाग्लुङमा एमाले र एमालेले विजय हासिल गरेका कतिपय क्षेत्रमा कांग्रेस उम्मेदवार विजयी भएका छन् । 

यसअघि कांग्रेसले जितेको बाग्लुङमा एमाले र एमालेले जितेको बेनी म्याग्दीमा कांग्रेसले जितेको छ । ‘केही ठाउँमा कांग्रेसले जितेको ठाउँमा एमाले र एमालेले जितेको ठाउँमा कांग्रेस आएको देखिन्छ,’ एमाले नेता रवीन्द्र अधिकारी भन्छन्, ‘यो चुनावले फलानो पार्टीको गढ भन्ने परम्परागत मान्यतामा धेरै ठाउँमा उल्टोपाल्टो गरिदिएको छ ।’ 

माओवादी केन्द्रले अन्य दलका गढमा आक्रमण गर्न नसके पनि आफ्नो गढ जोगाउन भने केही सफल भएको छ ।

‘जहाँजहाँ जनयुद्धका क्रममा जनतासँग दुःखसुख गरी बसेका थियौं, त्यहाँत्यहाँ माओवादी पराजित भएको छैन, त्यहाँ जितेका छौं,’ प्रवक्ता पम्फा भुसालले नागरिकसँग भनिन्, ‘तर, अन्य ठाउँमा फैलिन भने त्यति सकिएको छैन ।’ उनका अनुसार सशस्त्र युद्धकालीन आधार इलाकामा माओवादी केन्द्रको पकड कायमै रहेको छ । रुकुमका सबै स्थानीय तहमा माओवादी केन्द्रले झन्डा गाडेको छ । 

प्रदेश नम्बर ६ माओवादी सशस्त्र युद्धकालीन आधार क्षेत्र भएकाले १५ वटा स्थानमा विजयी हासिल गरेको छ । 

धेरै ठाउँमा एमाले र कांग्रेसले युद्धकालीन अवस्थाअघिको क्षेत्रमा आफ्नो स्थिति  कायम गर्न सफल भएका छन् । यसअघि माओवादी गढ मानिएको गोरखामा कांग्रेसले चार ठाउँमा विजयी भएको छ । ‘माओवादी फटेर नयाँ शक्ति बनेपछि कांग्रेसले पल्लाभारी मारेको देखिन्छ तैपनि हामी बलियै छौं,’ भुसालले भनिन् ।  

 

प्रकाशित: ४ जेष्ठ २०७४ ०३:११ बिहीबार

तालमेल सिद्धान्तमा नैतिक प्रश्न