राजनीति

नेपालको आर्थिक प्रगतिमा नर्वे सन्तुष्ट

भेटवार्ताका क्रममा राजदूत चेल टोरमोड पिटर्सेन र कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ । तस्बिर : उपराष्ट्रपतिको कार्यालय

काठमाडौं – नेपालका लागि नर्वेका राजदूत चेल टोरमेड पिटर्सेनले नेपालको आर्थिक  प्रगतिमा नर्वे खुशी र सन्तुष्ट रहेको बताएका छन् ।  

मंगलबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय बहादुर भवन कान्तिपथमा कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनसँगको भेटवार्तामा उनले स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएकोमा बधाई दिए । उनले दोस्रो चरणको निर्वाचन सफलताको शुभकामनासमेत व्यक्त गर्दै नेपालले गरिरहेको आर्थिक प्रगतिमा नर्वे खुशी र सन्तुष्ट रहेको बताए । 

भेटमा कार्यवाहक राष्ट्रपति पुनले नेपालको शान्तिप्रक्रियामा नर्वेले गरेको सहयोग नेपालले कहिल्यै बिर्सन नसक्ने बताए । उनले शान्ति प्रक्रियामा नर्वेले गरेको सहयोगले दुई देशबीचको सम्बन्ध झनै प्रगाढ बनेको बताए । 

उनले नयाँ संविधान लागू गर्ने क्रममा स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको र छिट्टै दोस्रो चरणको निर्वाचन हुने बताए । उनले निर्धारित समयमै स्थानीय तहको दोस्रो चरण, प्रदेश र संघको निर्वाचन सम्पन्न भई संविधानको पूर्ण कार्यान्वयन हुने बताए । उनले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा अन्तर्राष्ट्रिय समुदायले गरेको स्वागतप्रति धन्यवाद दिए । 

 

प्रकाशित: २ जेष्ठ २०७४ ११:२७ मंगलबार

नेपालको आर्थिक प्रगतिमा नर्वे सन्तुष्ट