राजनीति

जनतामा सरकार र राज्यप्रतिको विश्वास जागेको छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले जनतामा सरकार र राज्यप्रति पुनः आशा, भरोसा र विश्वास जागेको दाबी गरेका छन्।

प्रेस सेन्टर नेपालले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले विगतमा सरकार र राज्यप्रति टुटेको आशा, भरोसा र विश्वास अहिलेको सरकारका कारण पुनः जागेको बताए।

‘जनतामा सरकारप्रति, राज्यप्रति बिस्तारै टुटेको भरोसा फेरि प्राप्त हुँदै गएको छ,’ उनले भने।

जनताले अहिले सरकारले गरिरहेका काम हाम्रै लागि त हो नि भनेर बुझ्न थालेको बताउँदै उनले भने, ‘सरकार, राज्यले त हाम्रै लागि गर्‍या हो नि भन्ने बुझ्न थालेका छन्।’ सरकारले पछिल्लो समय गरेका सुशासन सम्बन्धी, भारत भ्रमणका क्रममा गरिएको देशको हित सम्बन्धी, सामाजिक न्याय सम्बन्धी कामले जनतामा आशा, भरोसा, विश्वास जागेको उनको दाबी छ।

प्रधानमन्त्री दाहालले सरकारलाई दिएको समर्थन थोरै वा धेरै जे भए पनि जनताको भरोसा र विश्वास भएसम्म फरक नपर्ने बताए। 

‘सरकारको भरोसा भनेको जनता नै हो। जनताको विश्वास र भरोसाका अगाडि सरकार जतिसुकै प्रतिशत समर्थन भए पनि बलियो भईराख्छ,’ उनले भने।

प्रधानमन्त्री दाहालले सरकार कमजोर हुँदै गएको भनाईमा सत्यता नरहेको बताए। सरकारलाई दिएको समर्थन त ९९.२५ प्रतिशतबाट घटेर ५३.४५ प्रतिशतमा झर्दा सरकार त कमजोर भयो नि भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘सरकार कमजोर बिलकुल भएको छैन। बजेट पासले पनि सरकार धेरै बलियो छ भन्ने प्रमाणित गरिसकेको छ।’ उनले बरु अहिलेको समर्थन बढेर पुनः ९९ प्रतिशत वरिपरि पुग्ने सम्भावना रहेको बताए। तर त्यसको आधारबारे भने उनले प्रस्ट्याएनन्।

प्रधानमन्त्री दाहालले गठबन्धन पाँचै वर्ष जाने बताए। कसैले सरकारलाई कमजोर बनाएर गठबन्धन फेर्ने प्रयास गरे पनि त्यो सम्भव नरहेको उनले दाबी गरे। 

उनले भने, अहिलेको गठबन्धन पाँचै वर्ष चल्छ। कसैले यो हिलाएर हिल्लीने स्थिति छैन।’

प्रकाशित: १६ असार २०८० ०८:३१ शनिबार

प्रधानमन्त्री पुष्पकमल दाहाल