राजनीति

कोशी प्रदेश: ठूलो दलकाे हैसियतमा सरकार गठनको आह्वान गर्न एमालेको माग

नेकपा एमालेका सांसदहरूले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुख पर्शुराम खापुङलाई आग्रह गरेका छन्।

प्रदेश प्रमुखको कार्यालय पुगेका एमालेका सांसदहरूले संविधानको धारा १६८ को उपधारा २ प्रयोग भइसकेका कारण उपधारा ३ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष माग गरेका हुन्।

नेकपा एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले कोशी प्रदेशमा संविधानको धारा १६८(२)को प्रयोग भइसकेका कारण उपधार ३ अनुसार सरकार गठनको आह्वान गर्न प्रदेश प्रमुखलाई आग्रह गरिएको जानकारी दिए। ‘प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारी र म गएर प्रदेश प्रमुखलाई धरा १६८ को उपधार ३ अनुसार सरकार गठनको आह्वान गर्न आग्रह ग¥यौं’ भण्डारीले भने।

उनका अनुसार दुई कारणले धारा १६८ (२) अनुसार प्रदेशमा सरकार गठन हुन सक्दैन। एउटा धारा १६८(२)को अभ्यास भइसकेको छ। अर्को सभामुख कुनै पनि दलको जिम्मेवारीमा नरहने भएका कारण माओवादीले सरकार गठनका लागि सदस्य संख्यामा सभामुखलाई गणना गर्न मिल्दैन। सभामुखलाई गणना गर्न नमिल्ने भएकाले विपक्षी गठबन्धनसँग बहुमत पुग्दैन। यी दुई कारण संविधानको धारा १६८ को २ अनुसार गरकार गठन गर्न मिल्दैन। यदी धारा  १६८(२) बमोजिम सरकार गठनको प्रक्रिया अघि बढे कानुनी उपचार खोज्ने भण्डारीले बताए। उनले भने, ‘कोशी प्रदेशमा संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनको प्रक्रिया अघि बढे कानुनी उपचारको बाटो खोज्छौं।’  

संविधानको धारा १६८ को २ मा  कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा  बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था उल्लेख छ। उपधारा ३ मा प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू  भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख छ। कोशी प्रदेशसभाको सबै भन्दा ठूलो दल नेकपा एमाले भएका कारण पुनः सरकारमा जान एमालेले प्रयास थालेको छ। शुक्रबार कोशी प्रदेशसभामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मत सम्बन्धी प्रस्ताव असफल भएको छ।

मुख्यमन्त्रीले विश्वासको मत नपाएसँगै कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ। कोशी प्रदेशसभामा नेकपा एमालेका ४० र राप्रपाका ६ सांसद छन्। यस्तै विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २९, नेकपा माओवादीका सभामुखसहित १३, नेकपा एकिकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्। सभामुखलाई गणना नगर्दा दुबै पक्षमा बराबरी ४६/४६ सांसद पुग्छन्। ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ जना सांसद आबश्यक पर्छ।  

प्रकाशित: १५ असार २०८० १२:०० शुक्रबार

नेकपा एमाले