राजनीति

कालिकोटमा विप्लवका कार्यकर्ताले मतपेटिका जलाए

सुर्खेत- कालिकोटको नरहरिनाथ गाउँपालिका–६ नन्दादेवी मावि सेरापाटामा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका खोसेर जलाएका छन्। आठ सय ७९ मतदाता रहेको मतदान केन्द्रमा मतदान सकाएर मतपेटिका निर्वाचन कार्यालयमा लग्ने क्रममा विप्लवका कार्यकर्ताले आक्रमण गरेर कब्जामा लिँदै जलाएका थिए। सोही क्रममा प्रहरीको गोली लागेर सात जना घाइते भएका छन्। घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेको छ।

प्रमुख जिल्ला अधिकारी गिरधारी सुवेदीले दुईजना घाइते भएको बताए। ‘घटनास्थलमा मुसलधारे पानी परिरहेको छ, थप सुरक्षाकर्मी पठाउन सकेका छैनौं’ उनले भने, ‘सुरक्षाकर्मीको जवाफी कारबाहीमा दुईजनालाई गोली लागेको जानकारी आएको छ।’ घटना भएको क्षेत्रमा टेलिफोन सम्पर्क हुन नसकेको उनले बताए। ‘कर्मचारीहरु भागेका छन्, मतपेटिका जलाइएको छ’ उनले भने, ‘थप जानकारी सोमबार मात्रै आउँछ।’ घाइतेमध्ये चारजना विप्लवका कार्यकर्ता हुन्।

प्रजिअ सुवेदीका अनुसार दिउँसो मतदान स्थल नजिकै फेला परेको सकेट बम र हाते ग्रिनेट डिस्पोज गर्ने क्रममा पनि नेपाली सेनामाथि विप्लवका कार्यकर्ताले आक्रमण गरेको बताए। ‘दिउँसो विप्लवका कार्यकर्ताले सेनाको बम डिस्पोजल टोलीमाथि ढुंगामुडा गरेका थिए’ उनले भने, ‘साँझ मतदान सकेर मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने क्रममा फेरि झडप भयो।’

विप्लव माओवादीका पोलिटब्यूरो सदस्य भरत बम ‘रणवीर’ ले प्रहरीको गोली लागेर सातजना घाइते भएको बताए। ‘एकजना वडा अध्यक्षका उम्मेदवारसहित सातजना घाइते भएका छन्’ उनले भने, ‘तीमध्ये चारजनाको अवस्था गम्भीर छ।

प्रकाशित: ३१ वैशाख २०७४ १६:५७ आइतबार

कालिकोटमा विप्लवका कार्यकर्ताले मतपेटिका जलाए