राजनीति

मतगणना आजै साँझदेखि

काठमाडौं— निर्वाचन आयोगले मतगणना कार्य आजै साँझदेखि सुरु हुने जनाएको छ। मतदानका लागि निर्धारित समय ५ बजेसम्म तोकिएको छ। मतदान केन्द्रबाट स्थानीय तह केन्द्रमा मतपेटिका संकलन गरे लगत्तै सम्बन्धित दलहरुको सहमतिमा मतगणना सुरु गरिने आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले बताए।

‘निर्वाचन नियमावलीले सम्बन्धित निर्वाचन अधिकृतलाई सम्पूर्ण अधिकार दिएको छ। मतदान सकिए लगत्तै मुचुल्का हुन्छ। सबै मतपेटिका संकलन गरेर दलहरुको सहमतिमा उनीहरुले आजैदेखि गणना सुरु गर्न सक्छन्’, उनले भने।

स्थानीय तह निर्वाचनको पहिलो चरणमा ३४ जिल्लामा उत्साहजनकरुपमा मतदान भइरहेको छ। आजको निर्वाचनमा ८० प्रतिशतसम्म मतदान हुने आयोगको अपेक्षा छ।

आयोगले जारी गरेको मतगणना निर्देशिकाअनुसार एक—एक वडाको मतगणना गर्नुपर्नेछ। एउटा वडाको वडाअध्यक्ष, सदस्य, महिला सदस्य, दलित सदस्यको मतगणना भइसकेपछि अर्को वडामा सोहीअनुसार गणना गर्नुपर्ने हुन्छ।

प्रकाशित: ३१ वैशाख २०७४ ०७:५२ आइतबार

मतगणना आजै साँझदेखि