राजनीति

दुई दिन हिँडेर मतदान केन्द्रमा

भोट हाल्न शनिबारै मतदान केन्द्र आइपुगेका धादिङ नेवेरका मतदाता बासको व्यवस्था मिलाउँदै । तस्बिर सौजन्य : तिसमान तामाङ

 धादिङ – जिल्लाका दुर्गम गाउँका मतदाता मतदानको अघिल्लै दिन शनिबारै मतदान केन्द्र आइपुगेका छन् । रुबीभ्याली गाउँपालिका–५ नेवेरका मतदाता दुई दिन हिँडेर शनिबार दिउँसो सदाचेतस्थित लापा मावि मतदान केन्द्र आइपुगेका हुन् । मतदान केन्द्र गाउँबाट टाढा भएकाले मतदानको अघिल्लै दिन केन्द्र आसपास आएर बास बस्नुपरेको ती मतदाताले बताए । स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि आइतबार बिहान ७ बजेदेखि मतदान सुरु हुँदैछ ।

‘गाउँभन्दा मतदान केन्द्र धेरै टाढा छ । भोट हाल्न भ्याउँदिन कि भनेर अघिल्लै दिन आएँ,’ शनिबार अपराह्न लापा मावि मतदान केन्द्र नजिकै भेटिएकी नेवेरकी मंगलीमाया तामाङले भनिन् । मंगलीमाया उमेरले ७८ वर्ष लागिन् । नेवेरबाट दुई दिन लगाएर भोट हाल्नकै लागि लापा मावि केन्द्रमा आइपुगेको उनले बताइन् ।

‘२८ गते भात खाएर घरबाट हिँडेकी थिएँ । २९ गते कपुरगाउँमा बास बसें । ३० गते त यहाँ (मतदान केन्द्र) आइपुगें,’ मंगलीमायाले भनिन्, ‘आफन्त नै उठेका छन्, जसरी नि जानु पर्छ भने, त्यसैले आएँ । भोलि (३१ गते आइतबार) भोट हालेर हिँडिहाल्छु ।’ आफूभन्दा एक दिनपछि २९ गते घरबाट हिँडेका गाउँलेहरू बाटोमा आउँदै गरेको उनले सुनाइन् ।

नेवेरका उर्गेन तामाङ पनि भोट हाल्न शनिबारै मतदान केन्द्र आइपुगेका छन् । ‘२०४६ सालदेखि सबै चुनावमा भोट हालेको छु, यसपटक छुट्ला कि भनेर अघिल्लै दिन भोट हाल्ने ठाउँमा आएँ,’ उनले भने ।

उत्तरी धादिङमा पर्ने रुबीभ्याली गाउँपालिकाको नेवेर गाउँ पहाडबीचमा छ । गाउँबाट मतदान केन्द्र सदाचेतस्थित लापा मावि आइपुग्न भीरको बाटो एक दिन हिँड्नुपर्छ । युवालाई एक दिन लागे पनि वृद्धवृद्धालाई मतदान केन्द्र पुग्न दुई दिन लाग्ने स्थानीय तिसमान तामाङले बताए । 

‘ठिटाठिटी अलि चाँडै एकै दिनमा पुग्छन्, हिँड्न नसक्ने बूढापाका, बास बस्दै जान्छन्,’ नेवेरका घनबहादुर तामाङले भने, ‘गाविस त हटेर वडा भयो तर हाम्रो समस्या हटेन, अहिले जितेर आउने प्रतिनिधिले हाम्रो समस्या बुझिदेलान भन्ने आशा छ ।’
यसअघिका निर्वाचनमा पनि अघिल्लै दिन नै मतदान केन्द्र पुगेर भोलिपल्ट भोट खसालेको उनको अनुभव छ ।

६३ घरधुरी रहेको नेवेरमा भूकम्पपछि त्यो संख्या घटेर ४६ भएको छ । सो गाउँबाट विस्थापित भएर सदरमुकाम आसपासका शिविर, सल्यानटार र ढोलाको शिविरमा बसिरहेका पनि शनिबारै मतदान केन्द्र पुगिसकेका छन् । अघिल्ला निर्वाचनमा पनि नेवेरवासीले मतदान केन्द्र नजिक पारिदिन आग्रह गरेका थिए । नेवेर मात्रै होइन लापाको तेन्चेत, तिङ्चेत, कचेत, छुम्राङ, चपाङचेतलगायत बस्तीका मतदाता पनि शनिबारै मतदान केन्द्र आइपुगेका छन् ।

आइतबार भोट खसाल्न शनिबारै मतदान केन्द्र आसपास रहेका आफन्तका घरमा आएर बसेको तेन्चेतका अमन तामाङले बताए ।

साबिकको लापा, तिप्लिङ र सेर्तुङ गाविस मिलाएर रुबीभ्याली गाउँपालिका बनाइएको छ । यो गाउँपालिका जिल्लाकै दुर्गम हो । रुबिभ्याली गाउँपालिकामा ८ वटा मतदान केन्द्र छन् । प्रायः मतदाता शनिबारै मतदान केन्द्र आसपास रहेका आफन्तको घर पुगेर बसेको सामाजिक अगुवा शिलास तामाङले बताए । केन्द्र टाढा भए पनि मतदानका लागि मतदाता उत्साहित भएको उनले बताए ।

जिल्ला निर्वाचन कार्यालयले भने सबैलाई पायक पर्ने ठाउँमा मतदान केन्द्र बनाइएको दाबी गरेको छ । निर्वाचन कार्यालय धादिङका प्रमुख निर्वाचन अधिकृत ईश्वर सिंखडाले भने, ‘सिफारिस समितिको सुझावअनुसार मतदान केन्द्र निर्धारण गरिएको हो । मतदाता उत्साहित छन्, निर्वाचन सफल हुन्छ ।’

 

प्रकाशित: ३० वैशाख २०७४ २३:५९ शनिबार

दुई हिँडेर मतदान केन्द्रमा