राजनीति

एमाले कार्यकर्तामाथि गोली प्रहार

भोजपुर – भोजपुर नगरपालिका १ हेलौछामा एमाले कार्यकर्ता माथि गोली प्रहार भएको छ । हिजो साँझ ३४ वर्षीया शारदा तामाङमाथि माओवादी केन्द्रका कार्यकर्ता एकिन्द्र भुजेलले गोली प्रहार गरेका हुन् । 

घर नजिकै रहेको जंगलमा हिडिरहेको अवस्था एमाले कार्यकर्ता तामाङलाई माओवादी कार्यकर्ताले गोली प्रहार गरेका थिए । हतियारले ताकिरहेको देखेपछि आत्तिएर लडेकी तामाङलाई गोली भने नलागेको प्रत्यक्षदर्शीले बताए । गोली प्रहारबाट उनको शरीरमा गोलीको सामान्य छर्रा लागेको छ । एमाले सम्बद्ध अनेमसंघ नगरकमिटीका सचिव रहेकी तामाङ र माओवादी कार्यकर्ता भुजेलबीच राजनीतिक बिषयमा पहिले देखि नै विवाद रहदै आएको थियो । 

गोली प्रहार गर्ने माओवादी केन्द्रका कार्यकर्ता एकिन्द्र भुजेललाई भरुवा बन्दुकसहित पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक काजीकुमार आचार्यले बताए । 

एमालेले आफ्ना कार्यकर्तामाथि गोली प्रहार भएको घटनाप्रति भत्र्सना गरेको छ । नेकपा एमालेका जिल्ला सचिव शरणकुमार राईले आफ्नो कार्यकर्तामाथि नियोजित रुपमा गोली प्रहार भएको भन्दै दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन । एमाले सम्बद्ध भातृसंगठनहरूले तामाङमाथि भएको गोली प्रहारको भत्र्सना गर्दै नजिकिदै गएको निर्वाचनलाई भाड्न खोजेको आरोप लगाएका छन । साथै उनीहरूले नजिकिदै गएको स्थानीय तहको निर्वाचनका लागि शान्ति सुरक्षाको व्यवस्था गर्न प्रशासन समक्ष माग गरेका छन् । 

प्रकाशित: २९ वैशाख २०७४ ०७:०५ शुक्रबार

एमाले कार्यकर्तामाथि गोली प्रहार