राजनीति

चुनावमा राष्ट्रपतिसहित चार मन्त्री मुलुकबाहिर

काठमाडौं- बीस वर्षपछि आइतबार हुन लागेको स्थानीय तहको निर्वाचनका दिन राष्ट्रपतिसहित चार मन्त्री देशबाहिर हुने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार श्रीलंका भ्रमणमा निस्कँदैछिन्। राष्ट्रपतिसँगै सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी पनि श्रीलंका जाँदैछन्। शुक्रबार नै उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महरा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीको टोली चीन जाँदैछ।

'राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गतेदेखि जेठ २ गतेसम्म श्रीलंकाको औपचारिक भ्रमण गर्नुहुने भएको छ। उहाँ शुक्रबार त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ,' परराष्ट्र मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ। श्रीलंकाको राष्ट्रपति मैथि्रपाला सिरिसेनाको निमन्त्रणामा भण्डारी श्रीलंका जान लागेकी हुन्। श्रीलंका पुग्नुअघि एक दिन राष्ट्रपति भण्डारीले थाइल्यान्डको राजधानी बैंककमा बिताउनेछिन्।

परराष्ट्र मन्त्रालयका अनुसार २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी शुक्रबार बिहान सबा १० बजे नेपाल वायुसेवाको विमानमा बैंकक जाने कार्यक्रम छ। राष्ट्रपतिको श्रीलंका भ्रमण टोलीमा सामान्य प्रशासनमन्त्री बुढाथोकी, चिकित्सक, सल्लाहकार, राष्ट्रपति कार्यालय तथा परराष्ट्र मन्त्रालयका अधिकारी र सञ्चारकर्मी  रहनेछन्।

श्रीलंकामा आइतबार राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्रसंघको एक सम्मेलनको समापन समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा श्रीलंकाली राष्ट्रपतिसँग उनले द्विपक्षीय भेटवार्ता गर्नेछिन्। बैंककमा रहँदा उनले केही महिनाअघि मृत्यु भएका थाइल्यान्डका राजा भूमिबोल अदुल्यादिजको समाधिस्थल पुगी समवेदना व्यक्त गर्ने कार्यक्रम छ। राष्ट्रपति भण्डारी जेठ २ गते स्वदेश फर्कनेछिन्।

उपप्रधान तथा अर्थ मन्त्री महरा अन्य दुई मन्त्री लेखक र कार्कीसहित आठ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार चीन जाँदैछन्। उनीहरू बेइजिङमा वैशाख ३१ गते सुरु हुने 'बेल्ट एन्ड रोड शिखर सम्मेलन' मा सहभागी हुन त्यसतर्फ जान लागेका हुन्। शुक्रबार बिहान परराष्ट्र मन्त्रालयमा एक समारोहमा बीच 'वान बेल्ट वान रोड' (ओबिओआर) सम्बन्धी प्रेमवर्क समझदारीपत्रमा नेपाल र चीनका पदाधिकारीबीच हस्ताक्षर भएपछि तीन मन्त्री चीन प्रस्थान गर्ने कार्यक्रम छ।

समझदारीपत्रमा नेपालमन तर्फबाट परराष्ट्र सचिव शंकरदास वैरागी र चीनमन तर्फबाट चिनियाँ राजदूत यु होङ्ले हस्ताक्षर गर्नेछन्।

बेल्ट एन्ड रोड शिखर सम्मेलन उद्घाटन चिनियाँ राष्ट्रपति सी जिन्पिङले गर्नेछन्। सम्मेलनमा २८ देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख सहभागी हुने जनाइएको छ। सम्मेलनमा सहभागी हुन जाने मन्त्री महरा नेतृत्वको नेपाली टोली जेठ २ गने स्वदेश फर्कनेछ।

प्रकाशित: २९ वैशाख २०७४ ०३:१७ शुक्रबार

चुनावमा राष्ट्रपतिसहित मन्त्री मुलुकबाहिर