जाजरकोट – घरमा भोट माग्न आउने सबै दलका उम्मेदवारहरुसँग त्रिवेणीनलगाड नगरपालिका १० औलगुर्ताका २८ वर्षीय तेजवहादुर विक र भेरी नगरपालिका ४ गैरीखालीकी ७४ वर्षीया ओमकुमारी खत्रीले फरक परक माग राख्ने गरेका छन् ।
स्नातक सम्मको पढाइ पुरा गरेका विकले घरमा जुन पार्टीका उम्मेदवार आएपनि एउटै प्रश्न सोध्ने गरेका छन् तपाईलाई भोट हाले मैले रोजगारी पाउँछु कि नाई ? अनि एकल महिला समेत रहेकी ७४ वर्षीया ओमकुमारीले सोध्छिन् भोट माग्न आउने सबै उम्मेदवारसँग तपाईलाई भोट हाले मेरो वृद्ध भत्ता कति पुग्छ ?
बुढेसकालमा जीवन जिउन निकै कठिन भयो तपाईले जिते म जस्तै धेरै वृद्धवृद्धाको सुरक्षा कसरी गर्नु हुन्छ? उनले सबै उम्मेदवारहरुलाई सोध्ने गरेकी छिन् । सबैले विकासका नाराहरू आकर्षक ल्याएका छन् तर म जस्तै युवाहरुको लागि आत्मनिर्भर बन्ने र विदेश जानै नपर्ने रोजगारीको ग्यारेन्टी गर्ने लाई भोट हाल्ने हो औलगुर्ताका तेजबहादुर भन्छन्।
मलाई गाउँको विकास र सम्वृद्धि भन्दा पहिला जागिर चाहिन्छ विक जस्तै कुसे गाउँपालिका अर्छानीकी सरस्वती सिंहले भनिन् । स्नातक तहमा अध्ययन गरिरहेकी उनले भनिन् हामी यत्रो उमेर सम्म बेरोजगार भएर पढ्ने मात्र काम गरिरहेका छौं हाम्रो माग जसले पुरा गर्छ भोट पनि उतै जान्छ ।
त्यस्तै जुनिचँदे ५ गर्खाकोटका ६७ वर्षीय बेदबहादुर विक पनि आफू जस्ता बुढाबुढीलाई जसले राम्रो भत्ता र सुरक्षाको व्यवस्था गर्छ उसैलाइ भोट हाल्ने बताउँछन् ।
बुढेसकालमा जसले हाम्रो राम्रो ख्याल राख्ने काम गर्छ उसैलाइ भोट हाल्ने हो बाबु उनले घरमा भोट माग्न आउने सबै उम्मेदवारसँग भन्ने गरेका छन् ।
तेजबहादुर, सरस्वती, ओमकुमारी र बेदबहादुरले मात्र होइन जिल्लाका सबै नगरपालिका र गाउँपालिकाका युवा र जेष्ठ नागरिकहरूले अहिले उम्मेदवाहरुसँग आफ्नो आफ्नो उमेर सामाजिक एवम् राजैनितक अवस्था अनुसारका माग राखेर उम्मेदवारहरुसँग प्रतिबद्धता माग्न थालेका छन् ।
यो पटकको चुनावमा सबै अधिकार गाउँमा आउने भएकोले आफूहरूले वास्तविक रुपमा भोगिरहेको समस्या हल गर्ने उम्मेदवारलाई भोट हाल्ने विचार गरेको उनीहरू बताउँछन् । ‘सधै भोट माग्छन् पछि बिर्सन्छन् तर यो पटक हामी झुक्याउने नेतालाई भोट हाल्दैनौं, गर्खाकोटकी ६५ वर्षीया शितला शाहले भनिन् । मेरो मात्र होइन अहिले सबै जनताले यस्तै भन्छन्’, उनले भनिन् ।
गाउँमा जनताले पार्टी भन्दा पनि आफुहरुले भोगिरहेका समस्यालाई तत्काल सम्बोधन गर्न सक्ने नेता र दलको खोजी गरिरहेको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताए ।
युवाहरू रोजगारीका लागि उम्मेदवारसँग गुनासो पोखिरहेको र जेष्ठ नागरिकहरुले आफुहरुको सामाजिक सुरक्षाको प्रबन्ध राम्रोसँग गरिदिन उम्मेदवारहरुसँग आग्रह गरिरहेको बताए । पहिले जस्तो गाउँका जनताले बिजुली पानी, बाटो माग्ने कुरा नगरेको उनले बताए ।
युवा र जेष्ठ नागरिकहरूले राखेका मागहरू आफुहरुले पुरा गर्ने भन्दै उम्मेदवारहरूले पनि बाचा गरिरहेका छन् । त्रिवेणी नगरपालिकामा नेकपा माओवादी केन्दबाट मेयर पदका प्रत्यासी टेकबहादुर रावलले आफू निर्वाचित भइसकेपछि पहिलो प्राथमिकता नै युवाको रोजगारी हुने बताए । अब हामीले गरेको वाचा जसरी नि पुरा गर्नुपर्छ उनले भने ।
त्यस्तै भेरी नगरपालिकामा नेपाली काग्रेसबाट मेयर पदमा प्रत्यासी रहेका सनतकुमार कार्कीले पनि जेष्ठ नागरिकहरूको भत्तामा वृद्धि गर्दै उनीहरुलाई घरमै पुगेर भत्ता वितरण गर्ने प्रतिबद्धता गरेका छन् । कृषि र उध्योगका पूर्वाधारहरु तयार गरी युवालाई रोजगारी दिने र जेष्ठ नागरिकलाई उचित सम्मान दिने आफनो योजना रहेको उनले बताए ।
उता एमालेको तर्फबाट छेडागाड नगरपालिकामा मेयरका प्रत्यासी बनेका लालबहादुर महताराले जेष्ठ नागरिकको सम्मान र युवालाई रोजगारी आफ्नो सशक्त अजेन्डा रहेको बताए । युवालाई रोजगारीका लागि विदेश जानबाट रोक्ने आफ्नो योजना रहेको उनले बताए । तीन नगरपालिका र चार गाउँपालिका रहेको जाजरकोटमा तीन प्रमुख दलहरूका उम्मेदवारहरुकैबीचमा कडा प्रतिष्पर्धा रहेको छ भने जनताले उम्मेदवारका अजेन्डालाई पनि भोट दिने आधारको रुपमा लिएका छन् ।
प्रकाशित: २८ वैशाख २०७४ ०८:५२ बिहीबार