राजनीति

मतदान केन्द्रमा ११ सय कर्मचारी र दुई हजार सुरक्षाकर्मी, आज मतदाता परिचयपत्र वितरण

भक्तपुर – आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा सुरक्षाकर्मी र कर्मचारी खटिएका छन् । 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेशकुमार राईले भक्तपुरका ७८ वटा मतदानस्थलमा रहेका १९१ वटा मतदान केन्द्रमा कर्मचारी खटाइ सकिएको बताए । 

मतगणना नसकेसम्म कर्मचारी मतदान केन्द्रमै खटिने बताउँदै उनले बिहीबारदेखि ३० गतेसम्म प्रत्येक मतदान केन्द्रबाट फोटोसहितको मतदाता परिचयपत्र वितरण गरिने बताए । मतदान केन्द्रमा गएर मतदाता परिचयपत्र लिन उनले मतदातालाई आग्रह गरे । 

त्यसैगरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै मतदान केन्द्रमा सुरक्षाकर्मी तैनाथ गरेको छ । प्रमुख जिल्ला अधिकारी, द्रोण पोखरेलले सबै मतदानस्थलमा सुरक्षाकर्मी तैनाथ भएको बताए । उनले भने – “चारवटै नगरपालिकामा रहेका निर्वाचन क्षेत्रमा ६० देखि ६५ जनासम्मको सशस्त्र प्रहरीको क्याम्प स्थापना गरिएको छ, सबै मतदान केन्द्रमा सुरक्षाकर्मीको टोलीसहितको क्याम्प राखिएको छ ।” 

प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी, राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मीका टोली गरी करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको बताउँदै उनले नेपाली सेनाको टोलीले पनि सुरक्षा दिने बताए । सेनाका अनुसार भक्तपुरमा ४०० सेनाको टोली परिचालन हुने भएकोे छ । 

प्रजिअ पोखरेलले भने – “गाउँ गाउँमा सुरक्षाकर्मीको टोली पुगेको छ, भक्तपुर पूर्णरुपमा सुरक्षित छ, सुरक्षाका लागि रिजर्भ फोर्स र स्ट्रेरिङ फोर्स तयारी अवस्थामा राखिएको छ, आवश्यक पर्दा सुरक्षाकर्मीको थप टोली पठाउन सकिने व्यवस्था गरिएको छ ।” 

प्रजिअ पोखरेलले निर्वाचनलाई शान्तपूर्वक सम्पन्न गर्न एक हजार एक सय निजामती कर्मचारी खटाइसकेको र सबै कर्मचारी मतदान केन्द्रमा पुगिसकेको बताए । 

जिल्लामा निर्वाचनको दिन कुनै अप्रिय घटना भएको अवस्थामा पाँच मिनेटभित्रै घटनास्थलमा सुरक्षाकर्मी पुग्ने गरी व्यवस्था गरिएको बताउँदै उनले निर्वाचनको सबै सुरक्षाका लागि आवश्यक व्यवस्था पूरा गरिएको जानकारी दिए। 

 उम्मेदवारहरु र्याली सहित भोट माग्न व्यस्त 

स्थानीय तहको निर्वाचनका लागि प्रचारप्रसार एवम् घरदैलो अभियान गर्दै मत माग्न पाउने आज अन्तिम दिन भक्तपुरका चारवटै नगरपालिकाको टोलटोलमा र्याली आयोजना गरिएको छ । 

बिहान ७ बजेदेखि नै मध्यपुर थिमि नगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका चाँगुनारायण नगरपालिकाका विभिन्न दलका उम्मेदवारको टोलीले र्यालीसहित टोलटोलमा पुगेर घरदैलो अभियान गर्दै भोट मागेका हुन्। 
नेपाली काँग्रेस,नेकपा एमाले, नेपाल मजदुर किसान पार्टी माओवादी केन्द्र र नयाँ शक्ति पार्टीलगायतका उम्मेदवार छुटृाछुटृैघरदैलो अभियानमा सम्लग्न थिए । रासस

प्रकाशित: २८ वैशाख २०७४ ०७:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App