राजनीति

उम्मेदवार जत्तिकै धपेडीमा केन्द्रीय नेता

सिन्धुपाल्चोक- स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा केन्द्रीय नेता जिल्लामा फर्केर आफ्ना उम्मेदवारलाई भोट माग्न व्यस्त छन्। उम्मेदवारसँगै उनीहरु घरदैलो गरिरहेका छन्। प्रचार समय कम रहेकाले उम्मेदवार जस्तै केन्द्रीय नेता पनि दौडधुपमा छन्।

आफ्नो क्षेत्र र गृहनगरको चुनावलाई प्राण र प्रतिष्ठाको विषय बनाउँदै विभिन्न दलका केन्द्रीय नेता उम्मेदवारसँगै घरदैलो गरेर भोट माग्न व्यस्त छन्।

आफ्नो निर्वाचन तथा गृह क्षेत्रको चुनावलाई प्राण र प्रतिष्ठाको विषय बनाउँदै सांसदसमेत रहेका नेताहरु राजधानीमा विकास भइरहने राजनीतिक घटनाक्रमलाई वेवास्ता गर्दै गाउँ–गाउँ डुलिरहेका छन्। जेठ तीन गतेसम्म संसद बैठक स्थगित रहेको र पार्टी केन्द्रीय कार्यालयले समेत जिल्लामा फर्केर चुनावी गतिविधिमा लाग्न निर्देशन दिएपछि उनीहरु ढुक्कले रातदिन खटिइरहेका छन्।

पहिलो चरणमा उम्मेदवारसँगै घरदैलो गरेर राजधानी फर्केका राप्रपा वरिष्ठ नेता पशुपतिशम्सेर जवरा बुधबार फेरि जिल्लामा आएका छन्। दुवाचौर पुगेर घरदैलो गरेका उनले पार्टीमा नवप्रवेशी कार्यकर्तालाई स्वागत गर्न समेत भ्याए। 'राणाज्यू चुनाव अवधिभर यतै बस्नेगरी आउनु भएको हो,' राप्रपाबाट मेलम्ची नगरपालिका मेयर उम्मेदवार फडिन्द्र दाहालले नागरिकसँग भने, 'गाउँ डुलेर उहाँले हामीसँगै भोट माग्नु हुनेछ।'

यसअघि नेता राणा केन्द्रीय सदस्य कोमल ओली लिएर भोट माग्न आएका थिए। दुबैले फटकशीला लगायत गाउँ डुलेर घरदैलो गर्दै भोट मागे। ३ नम्बर क्षेत्रको मुकाम रहेका मेलम्ची भेग नेता राणाको चुनावी क्षेत्र हो। लगातार तीनवटा संसदीय निर्वाचन यही क्षेत्रबाट जितेका राणा दुई वटै संविधानसभा निर्वाचनमा पराजित भएका थिए। आफ्नो राजनीतिक भविश्य कायम राख्न उनी मेलम्ची नगरसहित यस क्षेत्रका धेरै तह जित्न चाहन्छन्। चौतारा नगरका उम्मेदवार पुष्कर ढुंगेललाई मत माग्न उनले भ्याइसकेका छन्। 

सांसद रहेका कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेत पनि पाँच दिनदेखि बाह्रबिसे र आसपास क्षेत्रमा घरदैलो गरिरहेका छन्। 'केन्द्रीय नेताहरु मोहन दाइ रातदिन खटिइरहनु भएको छ,' यस क्षेत्रका नेता युधिर पौडेलले भने। बाह्रबिसे नगरबाट मेयरमा बालकष्ृण बस्नेत र उपमेयरमा लिला नेपाल प्रतिस्पर्धामा उत्रेका छन्। उम्मेदवार बालकृष्ण बस्नेतका एकै खलकका भाइ हुन्।

उम्मेदवार नपाउँदा अर्का भाइ बुद्धराज बस्नेत माओवादी केन्द्र प्रवेश गरेपछि आफ्नै अग्रसरतामा टिकट दिइएका बालकृष्ण सहित टोलीलाई जिताउन उनलाई चुनौती छ। बुद्धराज माओवादी–राप्रपा गठबन्धनबाट बाह्रबिसे नगरमै मेयर उम्मेदवार बनेका छन्। उनले कांग्रेसको भोट काट्न सक्ने आँकलन गर्दै त्यसलाई रक्षा गर्ने रणनीतिमा लागेको एक नेताले बताए।

बस्नेतले यसै क्षेत्रबाट दुई पटक संसदीय र संविधानसभा निर्वाचन जितिसकेका छन्। त्यसैले बाह्रबिसे नगरलाई कांग्रेसको पकड क्षेत्र मानिँदै आएको छ। यहाँ एमालेले कांग्रेसलाई कडा टक्कर दिइरहेको छ। बस्नेतका राजनीतिक प्रतिद्वन्द्वी एमाले पोलिटव्यूरो सदस्य अरुण नेपाल सातादेखि यसै क्षेत्रमा खटिएका छन्। बाह्रबिसे नगरका अलवा आसपासका अन्य तहमा पुगेका उनले आफ्ना उम्मेदवारको पक्षमा भोट मागिरहेका छन्।

माओवादी केन्द्रका स्थायी समिति सदस्य अग्नि सापकोटा पनि भोट माग्नै व्यस्त छन्। आफ्नो गृहनगर चौतारा–साँगाचोकगढीमा उनी सक्रिय छन्। केन्द्रीय नेताको हैसियतमा उनी अन्य क्षेत्रका गाउँ तथा नगरमा पुगेर चुनावी अभियानमा खटिरहेका छन्।

उता मेलम्चीमा एमाले केन्द्रीय सदस्य तथा सांसद शेरबहादुर तामाङले आफ्नो क्षेत्र छाडेका छैनन्। उनी सबैभन्दा पहिला उम्मेदवारसँग घरदैलोमा निस्किएका थिए। मेलम्ची नगर प्रमुखमा जिविस पूर्व उपसभापति डम्बर अर्यालय र हेलम्बु गाउँपालिकामा जिल्ला पार्टीका पूर्वअध्यक्ष हस्त पण्डित अध्यक्षको उम्मेदवार बनेकाले एमाले तीन नम्बर प्रदेश इन्चार्ज रहेका तामाङलाई जिताउन चुनौती बनेको छ।

कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाका जिल्ला स्तरीय नेता पनि घरदैलोमा गाउँ निस्किएका छन्। त्यसैले सदरमुकाम र बजार क्षेत्र सुनसान छन्। कांग्रेस जिल्ला सभापति विकास लामाकी पत्नी मिरा अधिकारी लामा इन्द्रावती गाउँपालिका उपाध्यक्ष उम्मेदवार रहेकाले उनी यहाँ र अन्यत्र तहमा समेत भोट माग्ने बाध्यतामा छन्। यो गाउँपालिका अध्यक्षमा एमाले जिल्ला अध्यक्ष झम्क नेपाल उम्मेदवार रहेकाले उनी अन्यत्र निस्कन सकेका छैनन्। पार्टी प्रमुखको हैसियतले चौतारा नगरका कार्यकर्तामा उत्साह थप्न उनी बुधबार यहाँ आइपुगेका थिए।

प्रकाशित: २८ वैशाख २०७४ ०६:३९ बिहीबार

उम्मेदवार जत्तिकै धपेडीमा केन्द्रीय नेता