राजनीति

हेटौंडाका मेयर आकांक्षीद्वारा पहिचान पुनःस्थापित गर्ने घोषणा

मणि दाहाल/अशोकसुजन श्रेष्ठ

हेटौंडा- स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा हेटौंडा उपमहानगरपालिकामा मत आफ्नो पक्षमा पार्न राजनीतिक दल अन्तिम चरणको प्रचारमा जुटेका छन्। ७२ घन्टे मौन अवधि सुरु हुनुअघि नै दलहरु मतदातानजिक पुग्न तीव्रताका साथ लागेका छन्।

घरदैलो, कोणसभा, माइकिङ मात्रै नभएर उम्मेदवार तथा राजनीतिक दलका कार्यकर्ता व्यक्ति सम्पर्कलाई समेत प्रयोग गरेर भोट आफ्नो पक्षमा पार्न व्यस्त छन्। 'उपमहानगरपालिका बनेपछि यसको आकार ठूलो भयो र चुनाव प्रचार गर्ने दिन पनि थोरै भएकाले घरदैलो र व्यक्तिगत रुपमा भोट माग्नेभन्दा कोणसभालाई बढी जोड दिएका छौं', एमालेका मेयर प्रत्याशी हरिबहादुर  महतले भने।

हेटौंडा उपमहानगरपालिकाको मतदाता संख्या ८३ हजार ५ सय ५७ छ। उपमहानगरपालिका मात्रै नभएर पूरै मकवानपुरमा पहिलो संविधानसभाबाहेक अन्य निर्वाचनमा एमालेको वर्चस्व रहँदै आएको छ। तर यसपटक एमालेको वर्चस्व तोडिने कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले दाबी गरेका छन्। कांग्रेस माओवादी केन्द्रसँग गठबन्धन गरी प्रतिस्पर्धामा होमिएको छ। दुवै दलबीच थाहा नगरपालिका र भीमफेदी  गाउँपालिकामा पनि गठबन्धन भएको छ। मकवानपुरमा ८ गाउँपालिका, एक नगर र एक उपमहानगरपालिका छन्। 

पहिलो संविधानसभा चुनावमा नराम्रोसँग पराजित भएको एमालेले दोस्रो संविधानसभामा आइपुग्दा कमब्याक गरेको थियो भने यसै निर्वाचनबाट कांग्रेस पनि जिल्लामा पहिलो पटक खाता खोल्न सफल भएको थियो। यसले कांग्रेसलाई चुनावमा उत्साहित पारेको छ। 'हामी निरन्तर रुपमा बढ्दै गएका शक्ति हौं। प्रत्येक चुनावमा हाम्रो उपस्थिति सुदृढ बन्दै गएको छ', कांग्रेसका उपमहानगरपालिका मेयर उम्मेदवार आनन्दराम पराजुलीले भने, 'नगरवासीले परिवर्तन चाहेका छन् र विकास चाहेका छन्। उनीहरुले विकास गर्ने कांग्रेस हो भन्ने बुझेका छन्।' कांग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाले एमालेसँग प्रतिस्पर्धा रहेको बताए। उनले दोस्रो र तेस्रो स्थानमा एमाले र राप्रपा रहने तर्क गरे।

एमालेका उम्मेदवार महतले विगतमा नगरपालिकामा हुँदा आफूहरुले दृष्टान्त राख्ने गरी काम गरेको कारण जित्ने दाबी गरे। 'डोरमणि पौडेलको नेतृत्वमा हामीले गरेको कामको देशभरका नगरपालिकालाई उदाहरण बन्ने काम भएको छ', दुई पटक उपमेयर बनेका महतले भने, 'संगठनको रुपमा पनि हामी निकै बलिया छौं। कांग्रेस दोस्रो भए पनि हामीभन्दा धेरै पछि छ र राप्रपा तेस्रो नम्बरमा छ।'

बहुमत वडासहित पहिलो बनेर चुनाव जित्ने दाबी गर्दै राप्रपाका मेयर उम्मेदवार मधु अधिकारीले भने, 'हामी ठूलो मतान्तरले अघि छौं। माओवादी गठबन्धन बनेपछि कांग्रेस र एमालेमध्ये को दोस्रो हुन्छ, भन्न सकिँदैन।'

हेटौंडा उपमहानगरपालिकामा गाभिएका हर्नामाडी, हटिया क्षेत्र नम्बर १ अन्तर्गतका गाविस हुन्। त्यसमा तुलनात्मक रुपमा कांग्रेस सशक्त मानिन्छ। दोस्रो संविधानसभामा मकवानपुर–१ मा कांग्रेसका इन्› बानियाँले एमालेका उम्मेदवारलाई राम्रो मतान्तरले हराए, समानुपातिकतर्फ पनि सोही दलले बढी मत ल्यायो। यी दुवै गाविसमा तुलनात्मक रुपमा कांग्रेस एमाले र राप्रपाभन्दा मजबुत मानिन्छ।

क्षेत्र नम्बर ४ अन्तर्गतको बसामाडी अन्य दलको तुलनामा एमालेको पकड मजुबत छ भने क्षेत्र नम्बर ३ मा पर्ने पदमपोखरीमा एमाले र राप्रपा बराबरीको अवस्थामा मानिन्छ। क्षेत्र नम्बर ३ भित्र पर्ने चुरियामाईमा एमाले मजबुत मानिन्छ। साविकको हेटौंडा नगरपालिका, पदमपोखरी र चुरियामाई गाविस रहेको क्षेत्र नम्बर ३ मा गत संविधानसभा चुनावमा प्रत्यक्षतर्फ एमालेका अनन्त पौडेलले चुनाव जिते पनि तत्कालीन राप्रपा नेपालले समानुपातिकतर्फ बढी मत ल्याएको थियो। राप्रपाले त्यो मत फेरि दोहोरिने अपेक्षा गरेको छ। क्षेत्र नम्बर ३ मा समानुपातिकतर्फ कांग्रेस र माओवादी २ सय मत अन्तरमा क्रमशः तेस्रो र चौथो स्थानमा थिए।

राप्रपाले अपेक्षा गरिएका दीपक सिंहको साटो मधु अधिकारीलाई मेयरको प्रत्याशी बनाएको छ। राप्रपाका केन्›ीय सदस्य रहेका सिंह अघि भएका तीन निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी भएर पराजित भएका थिए। 

राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले पहिलो जस्तो आक्रामक प्रचार शैली नभई भित्रभित्रै कार्यक्रम आयोजना गरेर चुनाव सञ्चालन भइरहेको बताए। 'यसअघिको संविधानसभा चुनावमा अन्तिम दिन विशाल र्‍याली गर्‍यौं। अब राप्रपाले जित्छ भनेर अपवित्र गठजोड भएर हराउने काम गरे', बर्तौलाले भने, 'हामी चुनावी प्रचारको तडकभडक देखाउनेभन्दा पनि मत परिणाम परिवर्तन गर्ने पक्षामा छौं।'

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको गृह जिल्ला भएकाले उनीहरुले हेटौंडाको चुनावलाई प्रतिष्ठाको विषय बनाएका छन्। सोमबारदेखि नै थापा गृह जिल्लामा बसेर चुनाव प्रचार गरिरहेका छन्। 'प्रचारको अवधिसम्म अध्यक्ष यतै हुनुहुनेछ', सहमहामन्त्री बर्तौलाले भने, 'बजार क्षेत्रमा अध्यक्षले भोट माग्नुभयो भने त्यसले धेरै मतलाई तलमाथि पार्नेछ।'

२०४८ को आमनिर्वाचन, २०५१ को मध्यावधि, २०५६ को आमनिर्वाचन मात्रै नभएर २०४९ र २०५४ सालको स्थानीय चुनावमा समेत हेटौंडासहित मकवानपुर जिल्लामा एमालेको वर्चस्व रह्यो। २०५१ सालको मध्यावधि चुनावमा राप्रपाका थापाले मकवानपुर–१ बाट चुनाव जितेका थिए। पहिलो संविधानसभा चुनावको समयमा चारवटै क्षेत्रमा नेकपा माओवादीले जिते पनि त्यसलाई निरन्तरता दिन सकेन।

दुई दशकपछि स्थानीय चुनाव गर्दा धेरै पक्ष परिवर्तन भएको छ। पहिलो मधेस आन्दोलनपछि तराईबाट बसाइँ सर्नेमध्ये धेरैको गन्तव्य हेटौंडा बन्यो। उनीहरु हेटौंडाको तीन, चार, पाँच, छ र सात नम्बर वडामा छरिएर बसेका छन्। यस्ता मतदाता १० प्रतिशतको हाराहारीमा रहेको अनुमान मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले गरे। 'पहिलेको तुलनामा अहिले बसाइँ सरेर आउनेको संख्या घटेको छ। बसाइँ सरेर आउनेले प्रमुख दलहरुलाई नै मत हालेको देखिन्छ', न्यौपानेले भने, 'अहिलेको चुनावी परिणामलाई यसले पनि प्रभावित पार्न सक्छ।'

नागरिक समाजका धेरैले व्यक्तिगत आधारमा मतदान हुन सक्नेतर्फ पनि औंल्याएका छन्। चलचित्र निर्माता नरेन्› महर्जनले पार्टी र व्यक्तिबीचको सम्बन्ध खुकुलो हुँदै गएकाले व्यक्ति हेरेर मत दिने सम्भवना धेरै रहेको औंल्याए। 'पहिले जस्तो पार्टीगत कट्टरता अहिले कम छ। त्यसैले व्यक्ति हेरेर पनि मतदान हुन्छ। यही पार्टी भनेर मानिस बाँधिएर बस्ने अवस्था अहिले छैन', उनले भने।

प्रकाशित: २८ वैशाख २०७४ ०६:१२ बिहीबार

हेटौंडाका मेयर आकांक्षीद्वारा पहिचान पुनःस्थापित गर्ने घोषणा