राजनीति

मेयर उम्मेदवारका अजेन्डा : पूर्वाधार विकास र आर्थिक समृद्धि

काठमाडौं- स्थानीय चुनावमा प्रायः उम्मेदवारले विकास, समृद्धि, सुशासन, रोजगारी जस्ता विषयलाई प्रमुख अजेन्डा बनाएका छन्। उनीहरू आफ्नो अजेन्डा लिएर मत माग्न घरदैलो अभियानमा व्यस्त छन्। घरदैलो अभियानमै व्यस्त तारकेश्वर, चन्द्रागिरी र कागेश्वरी मनहरा नगरपालिकाका उम्मेदवारलाई के अजेन्डा लिएर जनतामाझ जानुभएको भनेर नागरिकले प्रश्न गरेको थियो। उनीहरूको जबाफ जस्ताको तस्तै ः

 

तारकेश्वर नगरपालिका

श्रीराम थापा, कांग्रेस

नगरको समुन्नत विकास र समृद्धिसहित स्मार्ट नगरका रूपमा विकास गर्ने मेरो प्रमुख अजेन्डा हो। खानेपानी, ढल निकास एवं अन्य भौतिक पूर्वाधार विकास, सामाजिक तथा आर्थिक रूपान्तरण, प्रविधिमैत्री र सुशासनयुक्त नगर बनाउनेछु। महिला, दलित, आदिवासी जनजाति एवं सम्पूर्ण जातजातिबीच एकताको भावना बचाउँदै धार्मिक एवं सांकृतिक धरोहरको संरक्षण गर्ने र तारकेश्वरलाई पर्यटकीय नगरको विकासका लागि विशेष योजनाका साथ काम गर्नेछु।

म ०३६ सालदेखि निरन्तर राजनीतिमा सक्रिय छु। सामाजिक संस्थाहरुमा समेत संलग्न रही यस क्षेत्रको विकास निर्माण तथा सामाजिक अभियानमा जनतासँग निकट रहेर काम गरेकाले मलाई जनताले विश्वास गर्नुहुनेछ। 

रामेश्वर बोहरा, एमाले

नगरमा सडक, खानेपानी, ढललगायतको विकास गरी आगामी पाँच वर्षमा समृद्ध नगर बनाउने मेरो प्रमुख योजना रहेको छ। सामुदायिक वन विकास, मापदण्डविपरीतका घरको व्यवस्थापन, दलित बस्तीको उत्थान, पर्यटनको विकास र तिब्बतसँग जोड्ने सडक निर्माणका लागि पहल गर्ने योजनालाई पनि मैले प्राथमिकतामा राखेको छु। महिला उत्थानका लागि स्वरोजगारका कार्यक्रम ल्याउने, रोजगारी, शिक्षा, स्वास्थ्यलगायतको विकासका काम गर्नेछु। नगरमा सुशासन कायम गर्नेछु।

म ०४९ सालदेखि राजनीतिमा सक्रिय छु। दुईपटक मनमैजु गाविसको अध्यक्ष जितेर काम गरेको अनुभव छ। त्यसैले जनताले मलाई नै नगरको नेतृत्वमा पुर्‍याउनेमा म विश्वस्त छु।

धनलाल महर्जन, माओवादी केन्द्र

म तारकेश्वरलाई नमुना नगरका रूपमा विकास गर्ने योजनाका साथ चुनावी मैदानमा आएको हुँ। जनसहभागितामूलक समावेशी लोकतन्त्र, सुशासन, भौतिक पूर्वाधार विकास, भूकम्प पुनर्निमाण, पर्ती जग्गा संरक्षण, सहरी विकासलगायत योजना छन्। त्यसैगरी स्थानीय स्रोतको उपयोग गरी आर्थिक विकासको नीति, कृषिमा जोड, उपभोक्तामुखी बजार व्यवस्थापन, सांस्कृतिक सम्पदाको संरक्षण,  श्रम र रोजगार, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय, शान्तिसुरक्षा, खेलकुद, पर्यटन विकासलगायत योजनालाई पनि प्राथमिकतामा राखेको छु।

मैले ४० वर्षभन्दा बढी शिक्षण पेसामा बिताएको छु। यस नगरपालिकामा गाभिएका सातैवटा गाविसमा शिक्षक भनेर सबैले मलाई चिनेका छन्। मेरा विद्यार्थी र अभिभावकको हौसलाले पनि मैले आफूलाई अन्य उम्मेदवारको तुलनामा बलियो ठानेको छु। अर्को सिंहदरबारमा केन्द्रित अधिकार स्थानीय तहमा ल्याउने पार्टी अजेन्डा कार्यान्वयनमा आउँदैछ। यसले पनि मेरो पक्षमा मत आउनेमा विश्वस्त छु।

राजकुमार खड्ग, राप्रपा

म तारकेश्वरलाई १० वर्षभित्र आधुनिक सुविधायुक्त नगर बनाउने योजनाका साथ आएको छु। प्रत्येक वडाको आफ्नै भवन निर्माण गर्ने, प्रशासनिक कार्य कम्प्युटर प्रविधियुक्त बनाउने र सूचना केन्द्र स्थापना गरी सूचनाको हक प्रत्याभूत गर्ने योजना छ। सार्वजनिक जग्गाहरुको संरक्षण गरी  खेलकुद मैदान, सामुदायिक भवन र पार्क  निर्माण गर्नेछु। सामुदायिक विद्यालयको स्तर वृद्धि गरि अंगेजी भाषामा पठनपाठन, पाँच वर्षभित्र सबै नगरवासीलाई साक्षर बनाउने, असहाय महिलालाई सुत्केरी हुँदा पाँच हजार रुपैयाँ उपलब्ध गराउने, एकल महिला, अपांगता, वृद्धवृद्धाका लागि विशेष व्यवस्था, प्रत्येक घरमा स्वच्छ पानी, सर्वसुलभ स्वास्थ्यसेवालगायतको व्यवस्था गर्ने कार्यलाई प्राथमिकताम राखेको छु। चक्रपथ अवधारणालाई अगाडि बढाउने, नगरलाई धार्मिक पर्यटकीय स्थल बनाउन साइकल मार्ग र हाइकिङ मार्ग निर्माण गर्ने पनि योजना छ।

म युवाको प्रतिनिधित्व गर्दै उम्मेदवार बनेको छु। सामाजिक कार्यहरुमा सक्रिय र कुनै केही खोट नलागेका कारण मैले काम गर्न सक्छु भन्ने विश्वास यहाँको जनतामा छ। त्यसैले घरदैलोमा पुग्दा जनताबाट पाएको हौसला र साथले म उत्साहित छु।

कागेश्वरी मनोहरा नगरपालिका

उपेन्द्र कार्की, कांग्रेस

म पाँचवटा अजेन्डा लिएर चुनावी प्रतिस्पर्धामा आएको छु। घरघरमा खानेपानी, टोलटोलमा ढल र सडक, आर्थिक सामाजिक समृद्धि, व्यवस्थित बस्ती विकास तथा वातावरण संरक्षण र सुशासन मेरा मुख्य अजेन्डा हुन्। म विजयी भएमा यसलाई कार्यान्वयनमा ल्याउन प्रतिबद्ध छु। आगामी पाँच वर्षभित्र कागेश्वरी मनोहरालाई सुन्दर र समृद्ध नगर बनाउने अभियानको नेतृत्व गर्नेछु। पार्टीको महासमिति सदस्य र क्षेत्रीय सभापतिका रूपमा राजनीतिमा नेतृत्वदायी भूमिकामा क्रियाशील रहँदै आएको छु। विकास निर्माण र सामाजिक कार्यमा यहाँका जनतालाई सहयोग गर्दै आएको हुँदा पनि मैले मत पाउनेमा विश्वस्त छु।

कृष्णहरि थापा, एमाले

हामीले 'स्वच्छ, सफा र हरभरा, कागेश्वरी मनोहरा' भन्ने प्रमुख नारा अघि सारेका छौं। पार्टीका तर्फबाट १० वटा बुँदासहितको प्रतिबद्धता लिएर घरदैलो अभियानमा छौं। राष्ट्रियता जोगाउने अभियानमा हाम्रो पार्टीको ठूलो भूमिका रहेको छ। स्थानीय निकायमा बजेट आउन सुरु भएको एमाले सरकारकै पालादेखि मात्रै हो। 'आफ्नो गाउँ आफंै बनाऊँ' भन्ने अभियान एमाले सरकारले चलाएको हो। अहिले हामीले

'आफ्नो वडा आफंै बनाउँ्क' भन्ने अभियान ल्याएका छौं। सरकारी स्कुललाई मर्ज गरी निजी विद्यालयकै स्तरमा ल्याउने र निजीलाई पनि संरक्षण गर्दै शिक्षामा नमुना नगर बनाउने योजना छ। प्रत्येक वडामा अस्पताल स्थापना, सडक सञ्जाल विस्तार, सहरीकरणलाई आधुनिक र व्यवस्थित गर्ने योजना छ।  आलापोट, भद्रबास, गागललगायतमा पर्यटन र कृषिको विकास गर्ने, जेटिएसहितको कृषि सेन्टर बनाउने तथा स्वरोजगारका कार्यक्रम ल्याउने योजनालाई पनि प्राथमिकतामा राखेको छु।

मैले ०५४ सालमा गोठाटार गाविसको अध्यक्ष निर्वाचित भएर काम गरिसकेको छु। पार्टीको केन्द्रीय सहरी विकास विभागको सदस्य, जिल्ला कमिटी सदस्य तथा सामाजिक क्षेत्रहरुमा पनि क्रियाशील रहेकोले यहाँका मतदातामाझ परिचित छु।

महेश्वर फुयाल, माओवादी केन्द्र

कागेश्वरी मनोहरालाई दुई वर्षमा उपत्यकाको उत्कृष्ट, अर्को चार वर्षमा तीन नम्बर प्रदेशको उत्कृष्ट र पाँचौं वर्षमा नेपालकै नमुना नगरपालिका बनाउने पाँचवर्षे योजना ल्याएको छु। पूर्वाधार निर्माण, पर्यटन विकास, शिक्षा स्वास्थ्य, रोजगारी, स्वच्छ खानेपानी, स्वच्छ सहर बनाउने योजना पनि प्राथमिकतामा राखेको छ। पार्टीको घोषणापत्रमा समेटेको नयाँ 'स्मार्ट सिटी' बनाउने निर्णय सरकारले गरिसकेको छ। यसलाई कार्यान्वयन गर्न विशेष योजनाका साथ लाग्नेछु। नगरलाई सुशासनयुक्त र प्रविधिमैत्री बनाउनेछु।

म पार्टीको पूर्णकालीन सदस्य भएर राजनीतिमा सक्रिय रहँदै आएको छु। विकास निर्माणका कार्यमा सहयोग गर्दै आएको छु। विभिन्न सामाजिक गतिविधिमा पनि जनतासँगै रहेर सक्रिय रहँदै आएकाले मप्रति जनताले विश्वास गर्नेछन्।

चन्द्रागिरी नगरपालिका

घनश्याम गिरी, कांग्रेस

त्रिभुवन राजपथबाट काठमाडौं प्रवेश गर्ने मुख्य नाका चन्द्रागिरी नगरपालिकामा पर्ने भएकाले यस नगरलाई सफा र हरभरा बनाउने योजना छ। त्रिभुवन राजपथमा हुने जामका कारण यात्रुले भोग्दै आएको समस्या हटाउन नगरले यसको व्यवस्थापन गर्नेछ। नगरलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गरी स्वरोजगार सिर्जना गर्ने, अन्य आय स्रोतको पहिचान र व्यवस्थापन गर्ने, करिडोर मार्ग, चक्रपथ निर्माण, कम्तीमा १५ शऒ्ढयाको अस्पताल बनाउने, सार्वजनिक यातायात नियमित र व्यवस्थित गर्ने, खानेपानी व्यवस्थापनलगायतका योजना छन्। पाँच वर्षमा गर्नुपर्ने र तुरुन्तै गर्नुपर्ने कामको प्राथमिकताका आधारमा गर्नेछु। प्रशासनलाई चुस्त र जनमुखी बनाउनेछु।

म विगत ४० वर्षदेखि सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील छु। यस क्षेत्रमा सामुदायिक विद्यालयको स्थापना गर्नेदेखि लामो समय सरकारी विद्यालयको नेतृत्व गरेर शैक्षिक सुधारका कार्य गर्दै आएको छु। स्थानीय संघसंस्था तथा क्लबहरुसँग पनि निकट रहेर काम गरेको तथा मेरो जन्म र कर्मथलो पनि यहीं भएकाले मलाई यस नगरका लागि सक्षम उम्मेदवारका रूपमा जनताले हेरेका छन्।

प्रह्लादबहादुर कार्की, एमाले

मैले स्वास्थ्य, शिक्षा, विकास निर्माणका पूर्वाधारको विकास लक्षित योजना ल्याएको छु। नगरमा असल शासनको प्रत्याभूत गर्नेछु। नगरलाई हैन, नगर सञ्चालन गर्ने सिस्टमलाई स्मार्ट बनाउनेछु।

प्रत्येक वडामा २५ शऒ्ढयाको अस्पताल बनाउने, मनमोहन मेमोरियल इन्स्टिच्युटलाई नगरले समन्वय गरेर सरकारी अस्पतालका रूपमा विकास गर्ने, स्वास्थ्य बिमालाई कार्यान्वयन गर्ने, सरकारी विद्यालयको स्तर निजीको जस्तै बनाउने र प्राविधिक शिक्षामा जोड दिने योजना छन्। साथै खानेपानीको व्यवस्थापन, सिँचाइ, कृषि/अर्गानिक खेती र पर्यटन प्रवर्द्धनमा जोड दिनेछु। नगरभित्रका सार्वजनिक जग्गाको अतिक्रमण रोकेर सदुपयोग गर्ने, त्रिभुवन पार्कलगायत अन्य पार्कलाई व्यवस्थित गर्ने र नयाँ पार्क निर्माण गर्ने योजना छ।

मैले यसअघि दुई कार्यकाल महादेवस्थान गाविसको अध्यक्ष भएर काम गरेर प्राप्त गरेको लोकप्रियता काफी छ। राजनीतिक, सामाजिक तथा विकास निर्माणका क्षेत्रमा मैले जनतासँगै रहेर काम गरेकाले पनि मेयरमा विजयी हुनेमा म विश्वस्त छु। 

श्रीकृष्ण श्रेष्ठ, माओवादी केन्द्र

विकास निर्माण कार्यलाई तीव्रता दिई तीन वर्षभित्र चन्द्रागिरीलाई समृद्ध नगर बनाउने र त्यसका लागि आन्तरिक आर्थिक स्रोत पहिचान गरी परिचालन गर्ने योजना छ। त्यस्तै सार्वजनिक जग्गाको संरक्षण र सदुपयोग गर्ने, अन्तर्राष्ट्रिय सभा हल निर्माण गर्ने, ऐतिहासिक स्थलको पहिचान गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना छ।

'एक घर, एक रोजगार', 'एक घर एक धारा' लाई प्रमुखता साथ कार्यान्वयन गरिनेछ। भूकम्पपीडितको राहतमा सहयोग गर्ने तथा सडकपीडितलाई नगरबाटै मुआब्जाको व्यवस्था गर्नेछु।

प्रकाशित: २८ वैशाख २०७४ ०४:४९ बिहीबार

मेयर उम्मेदवारका अजेन्डा पूर्वाधार विकास आर्थिक समृद्धि