आज प्रतिनिधि सभामा पेस हुने आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट पारितमा समर्थन गर्ने वा नगर्ने भन्नेबारेमा छलफल गर्न चार दलले छुट्टाछुट्टै बैठक बोलाएका छन्। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दै छ। त्यसअघि जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी (नेकपा एस), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले आ-आफ्नो संसदीय दलको बैठक बोलाएका छन्।
जसपा संसदीय दलको बैठक आज बिहान साढे १० बजे संसद भवनमा बस्नेछ। बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट पारितमा समर्थन गर्ने वा नगर्ने भन्नेबारेमा छलफल हुने बताइएको छ। जसपाले बजेटमा समावेशी नभएको भन्दै संशोधन बिना पास गर्न नदिने बताउँदै आएको छ।
त्यस्तै नेकपा (एकीकृत समाजवादी) को पनि संसदीय दलको बैठक बस्दै छ। बैठक आज बिहान साढे १० बजे संसद भवनमा बस्नेछ। बैठकले सरकारले प्रश्तुत गरेको
आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट पारितमा समर्थन गर्ने वा नगर्ने भन्नेबारे निर्णय लिनेछ। बजेट संशोधन बिना पास गर्न नदिने धारणा राख्दै आएका छन् ।
उता नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले आ-आफ्नो संसदीय दलको बैठक बोलाएका छन्। सत्ताारुढ दलमै बजेटबारे व्यापक असन्तुष्टि छ। कांग्रेस, माओवादीले बजेटको समर्थनमा मत दिन ह्वीप जारी गरेका छन् भने अन्य सत्ता साझेदार दलहरूले बजेट पास गर्न सघाउने अथवा नसघाउने भन्ने निर्णय अहिलेसम्म गरेका छैनन्।
प्रकाशित: १३ असार २०८० ०४:३७ बुधबार