राजनीति

तेस्रो लिंगी मतदाता १४३, उम्मेदवार एक

काठमाडौं- स्थानीय तहको निर्वाचनमा तेस्रो लिंगी, यौनिक तथा अल्पसंख्यकबाट एक जनाले मात्रै वडा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि तीन प्रदेशका ३४ जिल्लाका दुई सय ८३ स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नं ११ को वडा सदस्यमा संघइय समाजवादी फोरम तथा नयाँशक्तिका तर्फबाट  दीपेश भण्डारीले  मात्रै उम्मेदवारी दर्ता गरेको नीलहीरा समाजले जनाएको छ।

समाजका अनुसार तेस्रो लिंगीका तर्फबाट नागरिकता लिएकामध्ये एक सय ४३ जनाको मात्रै मतदाता नामावलीमा नाम छ। तेस्रो लिंगी, यौनिक तथा अल्पसंख्यकबाट उम्मेदवारी दिएका भण्डारीले राजनीतिक दलले यौनिक अल्पसंख्यकलाई बेवास्ता गर्दा उम्मेदवारको संख्या न्यून भएको बताए।

 'तेस्रोलिंगीलाई अल्पसंख्यकको सूचीमा राखिएको छैन,' उनले भने, 'अन्य राजनीतिकले बेवास्ता गरेकाले नै उम्मेदवारको संख्या कम भएको हो।' उनका अनुसार तेस्रो लिंगी तथा अल्पसंख्यकका पक्षमा राजनीतिक दलले वातावरण नबनाएकाले उम्मेदवारको संख्या न्यून भएको हो।  नीलहीरा समाजकी अध्यक्ष  पिंकी गुरुङले राजनीतिक दलले तेस्रो लिंगी  तथा यौनिक अल्पसंख्यकलाई बेवास्ता गरेको आरोप लगाइन्। 'तेस्रो लिंगी तथा समलिंगीको चुनावमा जित्ने सुनिश्चितता नहुँदा जागिर छाडेर आउने वातावरण भएन,' अध्यक्ष गुरुङले भनिन्, 'राजनीतिक दलले तेस्रो लिंगीलाई बेवास्ता गरेका छन्। मुख्य दलले तेस्रो लिंगीलाई उम्मेदवार बनाएनन् ।'

समाजका अनुसार नेपालमा तेस्रो लिंगी तथा समलिंगी गरी दुई सय जनाले अन्यबाट नागरिकता लिएका छन्। नेपालमा झन्डै ९ लाख तेस्रोलिंगी तथा समलिंगी रहेको अनुमान छ।

समाजका अनुसार अधिकांश तेस्रो लिंगी तथा समलिंगीले पुरुष तथा महिलाकै नामबाट नागरिकता दिएका कारण मतदाता नामावलीमा संख्या कम भएको हो। निर्वाचन आयोगका अनुसार पहिलो चरणमा हुने निर्वाचनमा उम्मेदवारको संख्या ४९ हजार तीन ३७ छ।  पुरुष उम्मेदवारको ३० हजार ५ र महिलाको संख्या १९ हजार ३३२ कायम भएको छ। प्रतिशतका हिसाबले पुरुष ६०.८२ प्रतिशत र महिला ३९.१८४ प्रतिशत उम्मेदवार छन्।

प्रकाशित: २८ वैशाख २०७४ ०३:२० बिहीबार

तेस्रो लिंगी मतदाता १४३ उम्मेदवार