प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजे सङ्घीय संसद् भवनमा बस्ने भएको हो। आजको बैठकमा बजेट पारितका लागि विनियोजन विधेयक, २०८० पेस गर्ने कार्यसूची छ।
यस्तै अर्को कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन्।
यस्तै सभामुख देवराज घिमिरेले विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयहरूको खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
अन्तिममा अर्थ मन्त्री डा. प्रकाश शरण महतले “विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै उनले “आर्थिक विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव, “आर्थिक विधेयक, २०८०” माथि दफावार छलफलको लागि दिन तोकिने र “राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसदीय सचिवालयले जनाएको छ।
प्रकाशित: १३ असार २०८० ०२:२८ बुधबार