राजनीति

दबाबका कारण स–साना बजेट पनि संघबाट विनियोजन गर्‍यौ: अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाश शरण महतले दबाब थेग्न नसकेर स–साना आयोजनाहरुमा पनि बजेट विनियोजन गरेको बताएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै अर्थमन्त्री महतले आफू संघीय सरकारबाट स–साना आयोजनाका लागि थोरै रकम विनियोजन गर्ने पक्षमा नभए पनि दबाब थेग्न नसकेर विनियोजन गरेको बताएका हुन्।

उनले सम्बन्धित मन्त्रालय र वडाअध्यक्षको तहबाट पनि थोरै भए पनि बजेट पार्न दबाब आएको बताए। आगामी दिनमा भने प्राथमिकताका क्षेत्र तोकेर बजेट विनियोजन गर्ने प्रतिबद्धता उनको थियो।

उनले भने ‘सानो सानो बजेट संघबाट भयो भन्नुभएको छ, हो। यसलाई मैले साना–साना नगरौँ नै भनेको। तर छोटो समय। सम्बन्धित मन्त्रालयबाट आएको दबाब। वडाअध्यक्ष समेत हाम्रो वडामा त अलिकति बजेट छ, राख्नुपर्‍यो भनेर आए। मैले पनि त्यसलाई थेग्नसक्ने अवस्था थिएन। कहाँ कहाँ प्राथमिकताको क्षेत्र छन् हेरेर गर्ने कुरा आगामी दिनमा मिलाउँदै जान्छौँ।’

मन्त्री महतले परिणाममुखी बजेट ल्याएको बताए। उनले बजेटले राजश्वको दायरा बढाउने उल्लेख गरे। बाह्य निर्भरतालाई कम गर्ने गरी बजेट आएको उनको भनाए थियो।

मन्त्री महतले चालु खर्च घटाउन सक्ने अवस्था नभए पनि धेरै बढ्न नदिने कुरामा आफूहरू सरकार सचेत रहेको जिकिर गरे।

प्रकाशित: १२ असार २०८० १३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App