राजनीति

यस्तो छ ५० एकाइको दलीय तालमेल

काठमाडौं – प्रमुख राजनीतिक दलले काठमाडौं, ललितपुर, कास्की र चितवनका महानगरका साथै मकवानपुरको हेटौंडा उपमहानगरपालिकादेखि नगरपालिका र गाउँपालिका गरी स्थानीय तहका झन्डै ५० एकाइमा चुनावी तालमेल गरेका छन् ।  आइतबार मतदान हुने प्रदेश नम्बर ३, ४ र ६ का प्रमुख नगरपालिकालाई लक्षित गर्दै दलहरूले तालेमल गरेका हुन् ।

नेपाली कांग्रेसले एमालेसँग चार ठाउ“मा र माओवादीसँग १५ ठाउँमा तालमेल गरेको छ भने एमाले र माओवादीबीच १० ठाउँमा तालमेल छ । यसैगरी एमालेले राप्रपासँग दुई ठाउ“मा, नेमकिपासँग दुई ठाउ“मा र जनमोर्चासँग दुई ठाउ“मा तालमेल गरेको छ ।  माओवादी केन्द्रले भने कांग्रेससँग १५ ठाउ“मा, एमालेसँग १० ठाउ“मा, वैद्य माओवादीसँग एक ठाउ“मा, फोरम नेपालसँग एक ठाउ“मा र स्वतन्त्र उम्मेदवारसँग दुई ठाउ“मा तालमेल गरेको छ ।  

काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकामा एमाले र राप्रपाले तालमेल गरेका छन् भने भरतपुर महानगरपालिका, पोखरा महानगरपालिका, हेटौंडा उपमहानगरपालिका लगायतका स्थानमा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको छ । केही जिल्लाका स्थानीय एकाइमा भने कांग्रेस र एमालेबीच पनि तालमेल भएको छ । खासगरी माओवादी युद्धकालमा बढी प्रभावित सल्यान, हुम्लालगायतका जिल्लामा कांग्रेस र एमालेबीच तालमेल भएको छ । लमजुङका आधाजसो एकाइमा एमाले र माओवादी केन्द्रबीच तालमेल भएको छ । 

नेताहरुले तालमेल स्वाभाविक भएको दाबी गरेका छन् । कांग्रेसले अन्य दलसँगको तालमेल समस्यारहित भएको जनाएको छ । ‘तालमेल भएका स्थानमा अहिले कुनै समस्या छैन’, केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिका संयोजक रमेश लेखकले सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘संयुक्त प्रचार अभियान नै चलेको छ । पत्रकार सम्मेलन पनि संयुक्त भएका छन् ।’ तालमेल भएको ठाउँमा कांग्रेसको स्थिति राम्रो भएको पनि उनले दाबी गरे । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले तालमेल गर्ने अधिकार स्थानीय समितिलाई दिएको र त्यहाँबाट भएको निर्णय केन्द्रले अनुमोदन गरेको बताए ।

एमाले पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले तालमेल भएको ठाउँमा इमानदारीपूर्वक कार्यान्वयन गर्ने बताए । ‘हामीले गरेको तालमेल इमानदारीपूर्वक कार्यान्वयन हुनेछ । यसका लागि कार्यकर्तालाई प्रशिक्षित पनि गरिसकेका छौं,’ उनले भने । माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले स्थानीय आवश्यकता हेरेर तालमेल गरेको बताए । ‘स्थानीय आवश्यकता हेरेर गरिएको तालमेल इमानदारीपूर्वक कार्यान्वयन हुन्छ,’ उनले भने । 

तालमेललाई बढी प्राथमिकता माओवादी केन्द्रले दिएको देखिन्छ । माओवादी केन्द्रले कांग्रेस, एमाले, राप्रपा, राष्ट्रिय जनमोर्चा, वैद्य माओवादी र फोरम नेपालसँग समेत तालमेल गरेको छ । माओवादी केन्द्रले दुई ठाउँमा स्वतन्त्र उम्मेदवारसँग पनि तालमेल गरेको छ । कांग्रेसले एमाले र माओवादी केन्द्रसँग तालमेल गरेको छ । यसैगरी एमालेले कांग्रेस, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा र नेपाल मजदुर किसान पार्टीसँग पनि तालमेल गरेको छ । भक्तपुर नगरपालिकाको मेयर, उपमेयर दुवैमा एमालेले नेमकिपालााई समर्थन गरेको छ । नवलपरासीको गैंडाकोट नगरपालिका र बाग्लुङको  बाग्लुङ नगरपालिकामा एमाले, राप्रपा र जनमोर्चाबीच तालेमल भएको छ । 

विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले भने कसैसँग तालमेल नगरी उम्मेदवार उठाएको पार्टीका कोषाध्यक्ष शिवकुमार गुर्माछानेले बताए । ‘अहिलेसम्म कसैसँग पनि तालमेल भएकोे छैन,’ उनले भने । उता बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले देशभर तालमेल गरेका छन् । वैशाख ३१ गते पहिलो चरणमा चार महानगरपालिका, एक उपपमहानगरपालिका, ९२ नगरपालिका र १ सय ८६ गाउँपालिकामा चुनाव हुँदैछ ।

कांग्रेस—एमाले तालमेल
सल्यान
बडगाउँ कुपिण्डे नगरपालिका : मेयर एमाले, उपमेयर कांग्रेस
सल्यान, दार्मागाउ गाउँपालिका : अध्यक्ष एमाले, उपाध्यक्ष कांग्रेस 
जुम्ला, तिला गाउँपालिका : अध्यक्ष कांग्रेस, उपाध्यक्ष एमाले
जुम्ला, तातोपानी गाउँपालिका : अध्यक्ष कांग्रेस, उपाध्यक्ष एमाले 

कांग्रेस—माओवादी केन्द्र तालमेल
चितवन
भरतपुर महानगरपालिका : मेयर माओवादी, उपमेयर कांग्रेस
कास्की
पोखरा लेखनाथ महागरपालिका : मेयर कांग्रेस
मकवानपुर
 हेटौंडा उपमहानगरपालिका : मेयर कांग्रेस, उपमेयर माओवादी
थाहा नगरपालिका : मेयर माओवादी, उपमेयर कांग्रेस
भीमफेदी गाउँपालिका : अध्यक्ष माओवादी, उपाध्यक्ष कांग्रेस
म्याग्दी
बेनी नगरपालिका : मेयर कांग्रेस, उपमेयर माओवादी
बाग्लुङ
बरेड गाउँपालिका : मेयर कांग्रेस, उपमेयर माओवादी 
तनहुँ
शुक्लागण्डकी नगरपालिका : मेयर कांग्रेस, उपमेयर माओवादी
दोलखा
भीमेश्वर नगरपालिका : मेयर कांग्रेस, उपमेयर माओवादी
गौरीशंकर गाउँपालिका : अध्यक्ष माओवादी, उपाध्यक्ष कांग्रेस
कालीञ्चोक गाउँपालिका : अध्यक्ष माओवादी, उपाध्यक्ष कांग्रेस
बेत्यश्वरी गाउँपालिका : अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी केन्द्र 
धादिङ
नीलकण्ठ नगरपालिका : मेयर कांग्रेस, उपमेयर माओवादी
थाँक्रे गाउँपालिका : अध्यक्ष माओवादी, उपाध्यक्ष कांग्रेस

एमाले—माओवादी तालमेल
बाग्लुङ
 बडी गाउँपाालिका : अध्यक्ष एमाले, उपाध्यक्ष माओवादी 
म्याग्दी
रघुगंगा गाउँपालिका : अध्यक्ष एमाले, उपाध्यक्ष माओवादी
लमजुङ
 बेसीसहर नगरपालिका : मेयर माओवादी, उपमेयर एमाले
लमजुङ मध्यपुर नगरपालिका : मेयर माओवादी, उपमेयर एमाले
राइनास नगरपालिका : मेयर एमाले, उपमेयर माओवादी
सुन्दरबजार नगरपालिका : मेयर एमाले, उपमेयर माओवादी
कोहलासोथार गाउँपालिका : अध्यक्ष एमाले, उपाध्यक्ष माओवादी
दूधपोखरी गाउँपालिका : अध्यक्ष माओवादी, उपाध्यक्ष एमाले
दोर्दी गाउँपालिका : अध्यक्ष माओवादी, उपाध्यक्ष एमाले
मस्र्याङ्दी गाउँपालिका : अध्यक्ष एमाले, उपाध्यक्ष माओवादी केन्द्र 
मनाङ
नसाङ गाउँपालिका : अध्यक्ष एमाले, उपाध्यक्ष माओवादी

एमाले—राप्रपा तालमेल
काठमाडौं महानगरपालिका :  मेयर एमाले, उपमेयर राप्रपा
ललितपुर महानगरपालिका : मेयर एमाले, उपमेयर राप्रपा

एमाले—नेमकिपा तालमेल
भक्तपुर 
भक्तपुर नगरपालिका : मेयर र उपमेयर दुवैमा नेमकिपा
मध्यपुर ठिमी नगरपालिका : मेयर एमाले, उपमेयर नेमकिपा 

माओवादी—फोरम नेपाल तालमेल
काभ्रे
रोशी गाउँपालिका, अध्यक्ष माओवादी, उपाध्यक्ष फोरम 

माओवादी—स्वतन्त्र तालमेल 
मुस्ताङ
 दोलामे गाउँपालिका : अध्यक्ष स्वतन्त्र, उपाध्यक्ष माओवादी
बाग्लुङ
 बरेड गाउँपालिका : उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारलाई माओवादीको समर्थन

प्रकाशित: २७ वैशाख २०७४ ०१:५३ बुधबार

यस्तो ५० एकाइको दलीय तालमेल