राजनीति

पार्टी फेर्दै, उम्मेदवार बन्दै

सिन्धुपाल्चोक- बलेफी गाउँपालिकाकी दुर्गा नेपालले लामो समय एमाले राजनीति गरिन्। सोही हैसियतमा उनले गाउँपालिकाको उपाध्यक्ष उम्मेदवार दाबी पार्टीसँग गरिन्। त्यो नदिने देखिएपछि उनले वडाध्यक्षमा अडान् राखिन्। पार्टीले त्यो पनि पत्याएन। उनी सुटुक्क माओवादी केन्द्र छिरिन्। धेरै गाविस समेटर बनेको गाउँपालिकामा जात र भेग मिलाउन केन्द्र उपयुक्त उम्मेदवारको खोजीमा थियो।

चुनावको मुखमा पदका लागि राजनीतिक परिचय बदलेका उम्मेदवारहरु निकटस्थहरूसँग भन्ने गर्छन्, 'राजनीतिमा सबै कुरा जायज हुन्छन्।'

केन्द्रबाट उपाध्यक्षमा उम्मेदवारी मनोनयन दिएर उनले सबैलाई छक्क पारिन्। केन्द्रले 'भने जस्तो' उम्मेदवार भेट्टायो, नेपालले चाहेको पद पाइन्। कुनै समय माओवादीको नाम सुन्नसम्म नचाहने उनी सातादेखि पूर्वपार्टी एमालेलाई टक्कर दिन आफूलाई मत मागिरहेकी छन्।

लिसंखुपाखर गाउँपालिकाकी उर्मिला लामा चल्दोपुर्दो कांग्रेसी कार्यकर्ता हुन्। लामो समय कांग्रेसमा दुःख गरेर उनले यस क्षेत्रमा नेताकै हैसियत बनाएकी थिइन्। तर चुनावको अन्तिम घडीमा उनले राजनीतिक परिचय बदलिन्। राजा फाल्ने पार्टी छोडेर राजतन्त्र 'पाल्ने' पूर्वपञ्चको पार्टी राप्रपा छिरिन्। राप्रपाबाट उक्त पालिकाको उपाध्यक्ष उम्मेदवार बनेकी उनी अहिले गाई चिह्न अंकित झन्डा बोकेर घरदैलोमा व्यस्त छिन्। उम्मेदवारको प्रस्ताव आएपछि उनी राप्रपा छिरेकी थिइन्।

 राजनीतिक परिचय बदल्ने क्रममा कांग्रेस नेता बुद्धराज बस्नेत अझ रोमाञ्चक देखिए। कांग्रेस जिल्ला समिति सदस्य उनी बाह्रबिसे गाउँपालिकामा माओवादी केन्द्र–राप्रपा गठबन्धनबाट मेयरको उम्मेदवार बनेका छन्। मनोनयनको दुई दिनअघिसम्म उनी कांग्रेसबाट टिकट दाबी गरिरहेका थिए। पार्टीले क्षेत्रीय सभापति बालकृष्ण बस्नेतलाई टिकट दिएपछि बस्नेतले चित्त दुखाए।

सरासर काठमाडौं पुगेका उनले केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहालबाट साधरण सदस्य लिए। र, उनकै हातबाट टीकाअबिर गरेर माओवादी छिरे। पार्टी बदलेको २४ घन्टामै उनले मेयरको टिकट हात पारे। मनोनयनपत्र दर्ता गर्नुअघिसम्म यसबारे कसैले सुइँकै पाएनन्। 'कामको मूल्यांकन त के जति दुःख गरे पनि पार्टीले दबाएरै सिध्याउन खोजेपछि त्यहीं (कांग्रेसमा) बस्न सकिएन,' गोलाकारभित्रको हँसियाहथौडा चिह्न अंकित रातो कफन बाँधेर भोट मागिरहेका उनले नागरिकसँग भने।

बस्नेत कांग्रेस केन्द्रीय सदस्य तथा सभासद् मोहनबहादुर बस्नेतको परिवारका सदस्य छन्। कांग्रेसबाट टिकट पाएका बालकृष्ण उनका एकैखलकका भाइ हुन्। जति सहयोग र दुःख गरे पनि दाजु (मोहन) ले सहयोगको साटो लाद्दै आएको गुनासो गर्थे उनी। कांग्रेसको पछिल्लो अधिवेशनमा उनी क्षेत्रीय सभापति बन्न चाहन्थे। तर तत्कालीन पार्टी सभापति मोहनबहादुरले बुद्धराज छोडेर बालकृष्णकै काखी च्यापे।

 बालकृष्ण जिते तर उनी हारे। अघिल्लो पटक सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्षको चुनाव लडेका उनलाई त्यति बेला पनि पार्टी सहयोग नगरेको दुःखेसो बस्नेतको रहँदै आएको थियो। बाह्रबिसे नगरमा मुख्य प्रतिस्पर्धी मानिएका कांग्रेस, एमालेका उम्मेदवारलाई उनी कडा टक्कर दिइरहेका छन्।

 सीमा नाका फुल्पिङकट्टीका राजकुमार पौडेल कन्टेनर व्यवसायी हुन्, साथै चिनियाँ सामग्री आयतकर्ता। पारिवारिक पृष्ठभूमि एमाले भए पनि उनी कतै खुलेका थिएनन्। तर उनलाई नजिकबाट चिन्ने साथीभाइ र आफन्त राजकुमारलाई एमाले ठान्थे। माओवादीमा खुलेको दुई सातामै उनले सीमा नाका तातोपानी रहेको भोटेकोसी गाउँपालिका अध्यक्षको टिकट हत्याए। परिवारको समर्थन रहेको एमाले र मुख्य प्रतिस्पर्धी मानिएको कांग्रेस उम्मेदवारलाई उनी धक्का दिइरहेका छन्।

 त्यसो त आफूलाई कांग्रेसको बलियो कार्यकर्ताका रूपमा स्थापित गर्दै विभिन्न संस्थामार्फत सामाजिक काम गरेर तातोपानी क्षेत्रमा राम्रो छवि बनाएका कुमार श्रेष्ठ चुनावको मुखैमा एमाले प्रवेश गरे। मनोनयन दर्ताको अघिल्लो दिनसम्म एमालेले उनलाई भोटेकोसी ग्ााउँपालिका अध्यक्षको उम्मेदवारका रूपमा प्रचार गर्‍यो। तर टिकट पाए छिरिङ शेर्पाले। अध्यक्षको उम्मेदवार बन्न कांग्रेस छोडेका उनी हेरेको हेर्‍यै भए।

 चार वर्षअघि कांग्रेस छोडेर हिँडेका हेलम्बुका निमाग्याल्जेन शेर्पा चुनावको मुखमा पुरानो घर फर्किए। पुरानो पार्टीसँगको नयाँ साइनोमा मात्र उनी सीमित रहेनन्, गाउँपालिका अध्यक्षको टिकटै हात पारे सबैलाई छक्याए। हेलम्बु गाउँपालिकाका उम्मेदवार उनी त्यस क्षेत्रका मुख्य प्रतिस्पर्धी मानिएका एमाले जिल्ला पूर्वअध्यक्ष हस्त पण्डितसँग आमनेसामनेमा छन्।

 २०६४ को संविधानसभा निर्वाचनमा उनी क्षेत्र नं. ३ मा कांग्रेसबाट उम्मेदवार बनेर चौथो स्थानमा खुम्चिएका थिए। तर २०७० को दोस्रो संविधानसभा चुनावअघि उनी 'कांग्रेसमा जनजातिलाई ठाउँ नभएको' भन्दै सामाजिक लोकतान्त्रिक नामक पार्टी गठन गर्न पुगे।

 जिल्लाको स्थानीय तह निर्वाचनमा विभिन्न पदमा दुई हजार एक सयभन्दा बढी चुनावी प्रतिस्पर्धामा उत्रँदा दर्जनौं उम्मेदवारले चुनावको मुखमा राजनीतिक परिचय बदलेका छन्। मुख्य प्रतिस्पर्धी कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपामा आउने/जाने उम्मेदवारको बाहुल्य छ। चुनावको मुखमा पदका लागि राजनीतिक परिचय बदलेका उम्मेदवार निकटस्थहरूसँग भन्ने गर्छन्, 'राजनीतिमा सबै कुरा जायज हुन्छन्।'

प्रकाशित: २६ वैशाख २०७४ ०२:२० मंगलबार

पार्टी फेर्दै उम्मेदवार बन्दै