राजनीति

कोशीमा विपक्षी गठबन्धनको निर्णय: विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने

कोशी प्रदेशका विपक्षी गठबन्धनदलहरूको बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।

सोमबार काठमाण्डौंमा बसेको विपक्षी गठबन्धनदलहरूको बैठकले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असार १४ गतेको प्रदेशसभाको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव राखे  प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।

कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको अधिवेशन असार १४ गतेका लागि आह्वान गरेपछि प्रदेशसभाको विपक्षी दलहरुको बैठक काठमाण्डौंमा बसेको थियो। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरु बैठकमा सहभागि भएका थिए। नेकपा एकिकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई टेलिफोनबाटै कुरा गरेर निर्णय गरिएको नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले बताए। उनले भने, ‘मुख्य मन्त्रीले विश्वासको मत सम्बन्धी प्रस्ताव प्रदेशसभामा ल्याए प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेका छौं।’

गठबन्धनको बैठकमा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा, प्रमुख सचेतक भुपेन्द्र राई, सांसद केदार कार्की, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, सांसद जीवन आचार्य र जसपा संसदीय दलका नेता निर्मला लिम्बूलगायत सहभागी थिए। माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकार छाडेपछि कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की अल्पमतमा छन्। उनले  असार १४ गते  विश्वासको मत लिने तयारी गरेका छन्। माओवादी र जसपाले सरकार छाडेपछि मुख्यमन्त्री कार्कीले जेठ ३१ गते  प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन अन्त्य गरेर  जेठ ३२ गते  अध्यादेशमार्फत बजेट ल्याएका थिए।

सरकारको  नेतृत्वबारे  निर्णयको जिम्मा  शिर्ष नेतालाई  

मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने अवस्था नभएर राजीनामा दिए वा प्रदेशसभामा विश्वासको मत पाउन नसकेको अवस्थामा प्रतिपक्षी गठबन्धनबाट सरकारको नेतृत्व कसरी चयन गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल भएको थापाले जानकारी दिए।

विपक्षी गठबन्धनबाट आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा दलहरूवीच सहमति भएको थापाले बताए। यद्यपी विपक्षी गठबन्धनले सरकार बनाउने अवस्थामा कुनदलको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा निर्णय गर्ने अधिकार केन्द्रका शिर्ष नेताहरूलाई नै जिम्मा दिइएको थापाको भनाइ छ।

‘कुन दलले सरकारको नेतृत्व गर्ने भन्ने विषय केन्द्रका शिर्ष नेताहरूले निर्णय गर्नुहुनेछ ’ थापाले भने,‘शिर्ष नेताहरूले गरेको निर्णय हामी इमान्दारपूर्वका पालना गछौं।’ कोशी प्रदेशसभाका ९३ जना सांसद मध्ये सत्ता पक्षमा हाल एमालेका ४० र राप्रपाका ६ जना  गरी ४६ जना सांसद मात्रै छन्। बहुमतका लागि प्रदेशसभामा ४७ जना सांसद आबश्यक पर्दछ। विपक्षी गठबन्धनमा भने सभामुख सहित ४७ जना सांसद छन्। जसमा नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका सभामुखसहित १३ , नेकपा एकिकृत समाजवादीका ४ र जसपाका १ जना छन्। कोशी प्रदेशमा सरकारको नेतृत्वका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दाबी गर्दै आएका छन्।  

प्रकाशित: ११ असार २०८० १३:११ सोमबार

कोशी प्रदेश