राजनीति

जहाँ दलित मात्र छन् उम्मेद्वार

भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिका ४ मा नेकपा मालेले वडा अध्यक्षसहित सबै उम्मेद्वार दलित मात्र उठाएको छ । वडाको पुरै टिम नै दलितले उम्मेद्वारी पाएसँगै यत्तिखेर चाँगुनारायण  नगरपालिका ४ चर्चाको शिखरमा पुगेको छ । नेकपा मालेका जिल्ला सचिव अदिप खड्काले ‘दलितमैत्री नमुना वडा’ निर्माणका लागि दलितहरूलाई सर्वसम्मत उम्मेद्वार बनाइएको बताए । 

पार्टीले वडाका सबै पदमा दलितलाई नै उम्मेद्वारी दिएकोमा आफुलाई गौरव लागेको बताउँछन् वडा अध्यक्ष रामराज मगराती । उनले दलित भनेर कसैले पनि कुनै पनि पार्टीमा वडा अध्यक्षसम्म पनि नउठाउनु लाजमर्दो भएको बताए । 

चाँगुनारायण नगरपालिका–४ मा वडा अध्यक्षमा रामराज मगराती, सदस्यहरू हरिशरण सार्की , बिदुर मिजार  र महिला सदस्यमा सिता मिजारले उम्मेद्वारी दिएका छन् । यस्तै चाँगुनारायण नगरपालिकाको उपमेयर पनि दलित महिला लक्ष्मी मगराती रहेकी छन् । मेयर उपमेयरसहित नगरपालिकाका २ वडामा आफ्नो उम्मेद्वारी दिएको मालेले वडा नं ५ मा सुरज बयलकोटीलाई वडा अध्यक्षमा उठाएको छ । 

चाँगुनारायणमा मालेकातर्फबाट मेयरका उम्मेद्वार साधुराम दाहाल नगरमा सम्पूर्ण सदस्य एवं वडा अध्यक्षहरू दलित लिएर उठ्न पाउँदा आफूलाई गर्व महसुस भएको बताउँछन् ।  ‘दलितको बारेमा कुरा त धेरैले गर्छन् तर यसरी नमुना ढँगले चाँगुनारायणमा पायौँ,’ उम्मेद्वारहरू भन्छन् । 

प्रकाशित: २४ वैशाख २०७४ ०९:०८ आइतबार

जहाँ दलित मात्र छन् उम्मेद्वार