राजनीति

संसदको विजनेस आन्तरिक मामिला: सभामुख

पत्रकार सम्मेलनमा बोल्दै सभामुख। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं- सभामुख ओनसरी घर्तिले संसदमा प्रवेश गरेको विजनेस कसरी अगाडी बढाउने भन्ने संसदको आन्तरिक मामिला र विशेष अधिकार भएको बताएकी छन्।

प्रधान न्यायाधीश सुशीला कार्की विरुद्ध २४९ सांसदले महाअभियोग प्रस्ताव संसदमा दर्ता गराई अगाडि बढिसकेको अवस्थामा शुक्रबार सर्वोच्च अदालतले उक्त अभियोगका लागि पर्याप्त आधार नभएको भन्दै कार्कीलाई आफ्नो नियमित काममा फर्किन आदेश दिएको सन्दर्भमा सभामुखले यस्तो धारणा व्यक्त गरेकी हुन्।

आइतबार पत्रकार सम्मेलन गर्दै उनले  नेपालको संविधानमा शक्ति पृथकिकरणको व्यवस्था अनुसार कार्यपालिका, व्यवस्थापिका र न्यायापालिकाको काम कर्तव्यको बारेमा स्पष्ट व्यवस्था गरेको उल्लेख गरिन्। सभामुख घर्तिले राज्यका तीनै निकाय आफ्नो सीमा भित्र रहनु पर्नेमा जोड दिइन्।

राज्यका प्रमुख नीकायहरुबीच टकराव हुँदा लोकतन्त्रलाई संस्थागत गर्न र आसन्न निर्वाचनलाई समेत प्रतिकुल असर पर्ने उनको धारणा छ। उनले यो अवस्थामा सवैले आत्म समिक्षा गर्दै धैर्य एवं सम्यमतापूर्वक समाधान निकाल्न आवश्यक रहेको बताइन्। उनले आपसि वार्ता र संवादबाट समस्याको समाधान निकाल्न सहज होस् भन्दै संसद जेठ ४ सम्म बैठक स्थगित गरेको बताइन्।

प्रकाशित: २४ वैशाख २०७४ ०७:४५ आइतबार

संसदको विजनेस आन्तरिक मामिला सभामुख