राजनीति

इटहरी उपमहानगरपालिकाले ल्यायो दुई अर्ब ३५ करोड ३१ लाख रुपैयाँको बजेट

फाइल तस्बिर

इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ३५ करोड ३१ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ।

आइतबार १३ औं नगरसभामा उपप्रमुख सङ्गीताकुमारी चौधरीले उपमहानगरको बजेट प्रस्तुत गरेकी हुन्।

उपमहानगरले दस वटा वडालाई एक करोड ५५ लाख रुपैयाँ तोकि दिएको छ। जसमा वडा नं. १, ३, ७, १०, ११, १३, १४, १५, १८ र १९ का लागि सो रकम बराबरको सीमा तोकेको उपप्रमु्ख चौधरीले उल्लेख गरेकी छन्। अरु बाँकी दसवटा वडालाई एक करोड ७५ लाखका दरले बजेट सीमा तोकिएको छ।

इटहरी उपमहानगरपालिकाले चालु वर्षका लागि २ अर्व १८ करोड ६ लाख १० अनुमानित बजेट पेश गरेको थियो। उपमहानगरले आगामी आर्थिक वर्षका लागि इटहरीको चौबाटोमा दुईवटा आकाशे पुल निर्माण गर्न बजेट छुट्याएको छ। इटहरी वडा नं ६ हुँदै मुख्य बजार क्षेत्र भएर बग्ने खेतीखोला र टेङ्ग्रा खोलाको अवरोध हटाई रिभर करिडोर र ग्रीन बेल्ट (हरित पार्क) निर्माण गर्न पनि बजेट छुट्याएको छ।

यातायात, शिक्षा, व्यापार र खेलकुदको हब मानिने इटहरी कोशी प्रदेशको महानगरउन्मुख सहर हो। यहाँ इटहरी अस्पतालमा आधुनिक स्वास्थ्य उपकरण एमआरआई, सिटि स्क्यान, भिडियो एक्सरे तथा आईसियु भेण्टिलेटरसहितको शल्यक्रिया कक्ष निर्माण गरि सेवा सञ्चालान गर्न बजेट छुट्याएको उपप्रमुख चौधरीले उल्लेख गरिन्।

वैशाख १५ गतेदेखि मात्र इटहरी अस्पतालमा आकस्मिक कक्ष, ल्याब र फार्मेसी स्तरोन्नति सेवा सुरु भएको थियो। अहिले १५ सै¥याबाट आकस्मिक सेवा दिन थालिएको छ।

सघन बसोबासका लागि देशैभरि रुचाइएको इटहरीमा जनघनत्व दिदिनै बढ्दै छ। नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ। धारा ३५ (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनिएको छ।

शिक्षाको  भौतिक पुर्वाधार विकास साथै गुणस्तर अभिवृद्धि लाई ध्यानमा राखी इटहरी क्षेत्रका केही सामुदायिक विद्यालयहरुलाई  नमुना विद्यालयका रुपमा रुपान्तरण गर्न बजेट  बिनियोजन गरिएको छ। विद्यार्थीहरुलाई अनिवार्य रुपमा अतिरिक्त क्रियाकलापमा सहभागी गराउन पनि बजेट छुट्याइएको छ। इटहरीमा रात्रिकालिन बजार सञ्चालन गरिने भएको छ।

आगामी आर्थिक वर्षका लागि उज्यालो इटहरी कार्यक्रम सञ्चालन गरि स्ट्रीट लाईट जडान गर्न पनि बजेट छुट्याइएको छ। प्रत्येक वडामा एक वडा स्तरीय खेल मैदान निमार्ण गर्ने र  प्रत्येक वडामा खुल्ला व्यामशाला निर्माण गर्न बजेट बिनियोजन गरिएको छ।

उपमहानगरपालिका भित्रका सार्वजनिक तथा ऐलानी जमिन संरक्षण गरि ज्येष्ठ नागरिक तथा बालबालिकाका निम्ति हरित पार्क निर्माण गर्न बजेट छुट्याएको छ। सात वर्ष अघि अर्थात २०७३ साउन ११ गते इटहरी उपमहानगरपालिका भित्र झन्डै ९ सय ९५ विगाहा ६ कठ्ठा साढे एक धुर सार्वजनिक, ऐलानी, पर्ती रहेको प्रतिवेदन उपमहानगरलाई बुझाइयो।

उपमहानगरका तत्कालिन इन्जिनियर विकास भट्टराईको संयोजकत्वमा अमिन कर्णबहादुर घिमिरे र खरिदार गायत्री लम्साल सदस्य रहेको समितिले प्रतिवेदन बुझाएको थियो। उपमहानगरले सार्वजनिक क्षेत्रहरुमा फ्री वाईफाई जडान गरि सञ्चालन बजेट छुट्याएको छ।  नवप्रवर्तन,अनुसन्धान तथा आइडिया इभेन्ट कार्यक्रम गर्न बजेटमा समेटिएको छ। यस्तै, ६ वटा नगर विद्युतीय बस सञ्चालन गर्न पनि बजेट छुट्याइएको छ। यसका लागि ६ वटा उपयुक्त स्थानमा चार्जिङ् स्टेशन निर्माण गरि सञ्चालन गरिने उल्लेख छ।

आगामी वर्ष प्रत्येक सामुदायिक  विद्यालयमा सिसिटिभी जडान गरि विद्यालयका शैक्षिक गतिविधिहरुलाई अवलोकन तथा निगरानी गर्नका निम्ति उपमहानगरपालिकामा विशेष एक अवलोकन कक्ष निर्माण गर्न बजेट छुट्याएको छ। स्वस्थ्य इटहरी कार्यक्रम अन्तर्गत इटहरीबासीहरुलाई सेवा पु¥याउने उद्देश्यले २ वटा एम्बुलेन्स खरिद गरि निःशुल्क सेवा सञ्चालन गरिने पनि बजेटमा समेटिएको छ।

इटहरीका मुख्य चोक तथा बजार क्षेत्रमा फ्री वाईफाई जडान गरि सञ्चालान गरिनेछ। गरिब, विपन्न, ज्येष्ठ नागरिकहरुको इटहरी अस्पतालमा गरिने उपचारमा ५० प्रतिशत छुट दिने बजेटमा समेटिएको छ।  

प्रकाशित: १० असार २०८० १०:४६ आइतबार

इटहरी उपमहानगरपालिका