राजनीति

भक्तपुर नगरपालिका : विश्वविद्यालय मुख्य अजेन्डा

भक्तपुर- भक्तपुर नगरपालिका नगर कार्यपालिकाका मेयरका उम्मेदवारले भक्तपुरमा विश्वविद्यालय स्थापनाको अजेन्डा ल्याएका छन्। भक्तपुर नगरपालिकामा उम्मेदवार बनेका मजदुर किसान पार्टी, माओवादी केन्द्र, नेपाली कांग्रेसलगायतका नेताले ख्वप विश्वविद्यालय स्थापनाको अजेन्डा अघि सारेका हुन्।

मजदुर किसान पार्टीबाट मेयरका उम्मेदवार बनेका सुनिल प्रजापतीले ख्वप विश्वविद्यालय स्थापना आफ्नोे एउटा मुख्य अजेन्डा रहेको बताए। 'लामो समयसम्म ठप्प भएको विकास निर्माणलाई गति प्रदान गर्ने र भूकम्पले क्षति पुर्‍याएका सम्पदा पुर्ननिर्माण र सुरक्षित घर निर्माणमा जनतालाई सहयोग गर्ने मेरो पार्टीको अजेन्डा हो' प्रजापतीले भने।

माओवादी केन्द्रका उम्मेदवार सत्यलाल मूलले  ख्वप विश्वविद्यालयलाई नियमसंगत एवं पारदर्शी ढंगमा संचालन गर्ने आफ्नो अडेन्डा रहेको बताए। उनले सो शिक्षण संस्थालाई सानो परिधीबाट उठाई चौतर्फी क्षेत्र ओगटने संस्था बनाउने र गुणस्तरीय शिक्षाको अन्तरराष्ट्रि्रय पहिचान समेत दिलाउन पहल गर्ने उनको दाबी छ।

कांग्रेसका  उम्मेदवार रामप्रसाद कासुलाले भक्तपुर नगरलाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्ने योजना रहेको बताए। उनले नगरलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने र युवालाई स्वदेशमै रोजगारीको व्यवस्था गर्ने अजेन्डा अघि सारेका छन्।

व्यवस्थित ढल, हनुमन्ते खोलाको व्यवस्थापन, खानेपानी व्यवस्थापनलगायतका योजना पनि उनले अघि सारेका छन्।

भक्तपुर नगरपालिकाले नेपालमै पहिलो पटक स्थानीय निकायबाट ६ वटा कलेज सञ्चालन गरिराखेका छन्। भिन्ना–भिन्न स्थानमा सञ्चालित यी कलेजलाई मिलाएर संयुक्त रुपमा ख्वप विश्वविद्यालय स्थापनाका लागि लामो समयदेखि निरन्तर प्रयास जारी छ।

भक्तपुर नगरपालिकाका दुई जना मेयरका उम्मेदवार पूर्व सभासद हुन्। नेपाल मजदुर किसान पार्टीका तर्फबाट मेयरका उम्मेदवार प्रजापति भक्तपुर क्षेत्र नं–२ का प्रत्यक्ष निर्वाचित पूर्व सभासद हुन् भने माओवादी केन्द्रका उम्मेदवार मूल समानुपातिकका मनोनित सभासद हुन्। कांग्रेसका उम्मेदवार कासुला भने कांगेस भक्तपुर कोषाध्यक्ष हुन्। नेमकिपा, माओवादी केन्द्र, कांग्रेस बाहेक भक्तपुर नगरपालिकामा मेयरका लागि एमालेबाट विष्णु सुवाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रविकृष्ण श्रेष्ठ र राष्ट्रिय जनमोर्चाका रामभक्त किजूको उम्मेदवारी दिएका छन्।

प्रकाशित: २३ वैशाख २०७४ ०३:२८ शनिबार

भक्तपुर नगरपालिका  विश्वविद्यालय मुख्य अजेन्डा