राजनीति

कांग्रेसभित्र कलह

चितवन- कांग्रेसका लागि चुनाव जित्न सहज देखिने भरतपुर महानगरपालिकामा मेयर पद नै छाड्ने पार्टीको केन्द्रीय तहको निर्णयले जिल्लामा असन्तोष देखिएको छ। कांग्रेस जिल्ला समितिले प्रेस विज्ञप्तिमार्फत् तालमेल नगर्ने जनाएको केही घन्टापछि केन्द्रीय समितिले बिहीबार माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने सूचना जिल्लामा पठाएको हो।

तालमेल गर्ने केन्द्रको निर्णयसँगै जिल्ला समितिको कार्यालयमा जम्मा भएका कार्यकर्ताले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्दै पुत्ला दहन गरे।

कांग्रेस कार्यकर्ता आक्रोश पोख्दै गरेका बेला माओवादी केन्द्रबाट भरतपुरको मेयरमा उम्मेदवारी दिएकी रेणु दाहाल प्रचार अभियानमा सक्रिय भइरहेकी थिइन्।

भरतपुरमा माओवादी केन्द्रबाट उपमेयरमा उम्मेदवारी दिएका सुरेन्द्र गुरुङ निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी फिर्ताको निवेदन दिएका थिए। कांग्रेसबाट मेयरका उम्मेदवार दिनेश कोइराला भने कार्यालय गएनन्। ४ बजेर ५८ मिनेटमा कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाले निर्वाचन अधिकृतको कार्यालयमा पठाएको पत्रका आधारमा उनको उम्मेदवारी फिर्ता भएको हो। 

सभापति देउवाले भरतपुरमा प्रमुख र उपप्रमुखका विषयमा कांग्रेस र माओवादी केन्द्रबीच समझदारी भएको जानकारी पत्रमा उल्लेख गर्दै कांग्रेसका मेयरका प्रत्याशी दिनेश कोइरालाको उम्मेदवारी फिर्ता लिन अनुरोध गरेका थिए। सोहीबमोजिम निर्वाचन अधिकृतले कोइरालाको उम्मेदवारी कायम नरहने निर्णय गरेका थिए। निर्वाचन अधिकृतको निर्णयलगत्तै उम्मेदवारी फिर्ताको सूचना टाँस भएको थियो।

उम्मेद्वारी फिर्तापछि कांग्रेस जिल्ला समितिले आधिकारिक धारणा बाहिर ल्याएको छैन। तर, कार्यकर्ताले पार्टी केन्द्रले गलत निर्णय गरेको प्रतिक्रिया दिएका छन्। पार्टी कार्यालय अगाडि नाराबाजी र सामाजिक सञ्जालमा असन्तोष व्यक्त भएको छ।

भरतपुर महानगरमा १ लाख ५२ हजार मतदाता छन्। कांग्रेसका धेरै मतदाता भएको चितवनको क्षेत्र नम्बर ४ महानगरभित्रै पर्छ। त्यसैले कांग्रेस भरतपुरलाई 'सुरक्षित क्षेत्र' ठान्छन्।

महानगरको मेयर हुन पार्टीका ३४ जनाले नाम लेखाएका थिए। उम्मेदवारको टुंगो पनि कांग्रेस केन्द्रीय समितिले उम्मेदवारी दर्ता हुने दिन मध्यान्हमा मात्रै लगाएको थियो। उम्मेदवारी दर्ता गर्न कोइराला हेलिकप्टर चढेर भरतपुर आउनुपरेको थियो।

देउवा र पौडेल समूहभित्र टक्कर बढेपछि सिटौला नजिक मानिएका कोइरालाले उम्मेदवारी दर्ता गराउने अवसर पाएका थिए।

कांग्रेसले उपमेयरमा पार्वती शाहलाई उम्मेदवार बनाएको छ। केही दिनअघि चितवन आएकी रेणु स्थायी बासिन्दा होइनन्।

कोइराला र शाहले बिहीबार बिहान पत्रकार सम्मेलन आयोजना गरेर कांग्रेसको अन्य दलसँग तालमेल नहुने बताएका थिए। कार्यक्रममा उनीहरूले प्रतिवद्धता सार्वजनिक गरेका थिए। भरतपुर कांग्रेसको गढ भएका कारण अन्य दलसँग तालमेल गर्न आवश्यकता नै नरहेको नेताको भनाइ थियो।

'निर्वाचनका सन्दर्भमा अन्य राजनीतिक दलसँग कांग्रेसले गठबन्धन नगरेको स्पष्ट पार्छु। यस बारेमा कही कतै समाचार आएका रहेछन् भने ति भ्रामक हुन्। त्यसको खण्डन गर्छु,' कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले बिहीबार बिहान जारी गरेको विज्ञप्तिमा उल्लेख थियो।

'हामी आफ्नै शक्तिका भरमा चितवनमा चुनाव जित्दै छौं। यो हाम्रो गढ हो। यहाँ अरुसँग मिलेर चुनाव लड्ने भन्ने प्रश्न नै छैन,' कांग्रेस चितवनका पूर्वसभापति तथा चितवन क्षेत्र नम्बर ४ का सांसद रामकृष्ण घिमिरेले भनेका थिए। तर, नेताको भनाइविपरित पार्टी केन्द्रले माओवादीसँग तालमेल गर्दा कार्यकर्तामा पनि आक्रोश देखा परेको थियो।

प्रकाशित: २२ वैशाख २०७४ ०३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App