राजनीति

पुतलीबजारमा बाबुछोराको उम्मेदवार

सन्तोष सुवेदी

पोखरा- पुतलीबजार नगरपालिकामा बाबुछोरा उम्मेदवार भएका छन्। वडा नं पाँचका अध्यक्षमा बाबु मदन कार्की र पुतलीबजार नगरपालिका उपमेयरमा छोरा हिक्मत कार्कीले उम्मेदवारी दर्ता गराएका हुन्। दुवैजना राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हुन्।

विगत तीन दशकदेखि मदन कार्की राप्रपाको राजनीतिमा सक्रिय छन् भने छोरा हिक्मत गत वर्षदेखि क्रियशिल भएका हुन्। पार्टीमा युवाको भूमिका रहनुपर्छ भन्ने उद्देश्यले उम्मेदवार दर्ता गरेको हिक्मतले सुनाए।

'जताततै युवाको चर्चा चलिरहेको छ,' २५ वर्षीय कार्कीले भने, 'युवाले देश चलाउन पाए भने साँच्चीकै मुहार फेरिनेछ।' पुतलीबजार नगरपालिकाको विकास गर्ने उत्साह भएका कारण उम्मेदवारी दर्ता गराएको उनले बताए।

हिक्मतका बुबा मदन कार्कीले वडा अध्यक्ष जितको खण्डमा वडाको विकासमा लागिपर्ने बताए। 'सबैभन्दा पहिला एम्बुलेन्सको व्यवस्था गर्छु,' मदनले भने, 'वृद्धा भत्ता वडाबाटै वितरण गर्ने वातावरण मिलाउनेछु।'

प्रकाशित: २१ वैशाख २०७४ ०२:२८ बिहीबार

पुतलीबजारमा बाबुछोराको उम्मेदवार