राजनीति

पाँच पूर्वसभासद्को उम्मेदवारी

काठमाडौं- नेपालको राजनीतिक इतिहासमै सबैभन्दा अधिकार सम्पन्न बनेको स्थानीय तहका विभिन्न एकाइमा पूर्वसभासद्को आकर्षण देखिएको छ। पहिलो चरणअन्तर्गत हुने निर्वाचनमा पहिलो संविधानसभाका पाँच सदस्यले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै, संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका दर्जनौं व्यक्ति पनि स्थानीय तहमा उम्मेदवार बनेका छन्।

पहिलो चरणअन्तर्गत हुने निर्वाचनमा पहिलो संविधानसभाका पाँच सदस्यले उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारी दर्ता गराउनेमा पाँच पूर्वसभासद् छन्। उनीहरुले नगरपालिका प्रमुखमा उम्मेदवारी दिएका छन्। भक्तपुर नगरपालिकामा नेमकिपाका पूर्वसभासद् सुनील प्रजापति मेयरका उम्मेदवार छन्। पहिलो संविधानसभामा उनी भक्तपुर–२ बाट विजयी थिए। त्यस्तै, चितवन–१ बाट विजयी एमालेका पूर्वसभासद् लालमणि चौधरी खैरहनी नगरपालिकाबाट मेयर उम्मेदवार छन्। तत्कालीन एकीकृत नेकपा माओवादीका समानुपातिकतर्फका सभासद् ज्ञानेन्द्र कुमाल गोरखा नगरपालिकामा नयाँ शक्ति पार्टीबाट मेयरका उम्मेदवार छन्।

'सभासद् हुँदा विधायिका अधिकारका लागि काम गरियो तर त्यो जनताले देख्न र अनुभूत गर्न सक्दा रहनेछन्', कुमालले नागरिकसँग भने, 'जनताले देख्नेगरी काम गर्न कि मन्त्री हुनुपर्ने रहेछ कि अहिलेको अधिकार सम्पन्न स्थानीय तहको प्रतिनिधित्व, तत्कालका लागि मैले स्थानीय तह रोजेको हुँ।' गोरखा नगरपालिकाको भौतिक निर्माण, पर्यटन र आयआर्जनका क्षेत्रमा काम गर्ने उनका चुनावी प्रतिबद्धता हुन्।

मकवानपुर–४ बाट पूर्वसभासद् कुमारी मोक्तानले हेटौंडा उपमहानगरपालिकामा मेयरमा उम्मेदवारी दिएकी छन् भने मन्थली नगरपालिकामा माओवादीबाट मेयरका उम्मेदवार तारानारायण श्रेष्ठ रामेछाप–१ वाट विजयी पूर्वसभासद् हुन्।

यसैगरी पहिलो चरणमा हुन लागेको महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र नगरपालिकामा दर्जनौं संख्यामा तत्कालीन संविधानसभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको पनि आकर्षण देखिएको छ।

माओवादी केन्द्रले काठमाडौंमा उठाएका मेयरका उम्मेदवार सर्वोत्तम डंगोल काडमाडौं–८ मा संविधानसभामा पराजित उम्मेदवार हुन्। 'संविधानसभामा उठ्नुभएको थियो तर झिनो मतले हार्नुभयोे,' काठमाडौं इन्चार्ज लेखनाथ न्यौपानेले नागरिकसँग भने, 'पार्टीको पुरानो र सम्मानित नेतामा पनि हुनुभएकाले काठमाडौंको मेयरका लागि पार्टीले उहाँलाई उम्मेदवार बनाएको हो।'

राप्रपाबाट काठमाडौंमा उपमेयरका उम्मेदवार राजाराम श्रेष्ठ शाहीकालमा भएको निर्वाचनमा मेयरमा विजयी हुन्। एमालेसँग तालमेल गर्दै श्रेष्ठले काठमाडौंमा उपमेयरमा उम्मेदवारी दिएका छन्।

भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरकी उम्मेदवार रेणु दाहाल गत संविधानसभामा काठमाडौं–१ बाट उठेकी थिइन्। मेयरको उम्मेदवार भएपछि भरतपुरमा घरदैलामा व्यस्त दाहालले भनिन्, 'संविधानसभाको चुनाव लडेको मान्छे किन मेयरमा लडिस् भनेर सोध्ने पनि छन् तर जनताको काम जहाँबाट पनि गर्न सकिन्छ भनेर म भरतपुरमा आएकी हुँ, यो मेरा गृहजिल्ला पनि हो।'

पोखरा–लेखनाथ महानगरपालिकाका लागि एमालेका मेयरका उम्मेदवार मानबहादुर जिसी दोस्रो संविधानसभामा उम्मेदवार थिए। कास्की–१ बाट २ सय ५० मतले मात्र पराजित जिसीलाई एमालेले पुनः क्षेत्रफल र वडा संख्याको हिसाबले मुलककै सबैभन्दा ठूलो महानगरपालिकामा मेयरमा मौका दिइएको छ। 'विगतमा पनि दुईदुईपटक गाविस अध्यक्ष भएर काम गरेको थिएँ, त्यो अनुभव महानगरपालिकाका लागि सदुपयोग गर्दैछु,' जिसीले भने, 'त्यसमाथि सरकारसरह काम गर्न पाइने भएकाले शक्तिशाली स्थानीय तह रोजेको हुँ।' उनका अनुसार पोखरालाई विश्वको नजर पर्नेगरी आधुनिक र पर्यटकीय सहर बनाउनेलगायत अजेन्डा लिएर मैदानमा छन्। रुकुम–१ बाट संविधानसभामा प्रत्यक्षतर्फ चुनाव लडेका शेरबहादुर केसीलाई एमालेले चौरहजारी नगरपालिकामा मेयर उठाएको छ।

कांग्रेसले पनि संविधानसभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिकतर्फ लडेका केही उम्मेदवारलाई स्थानीय तहमा उठाएको छ। सो पार्टीबाट नुवाकोटको विदुर नगरपालिकामा मेयरका उम्मेदवार ध्रुव अधिकारी संविधानसभा चुनावमा नुवाकोट–१ बाट प्रत्यक्षतर्फ उठेका थिए भने बागलुङको गल्कोट नगरपालिकाकी उपमेयर उम्मेदवार रेणुका काउँचा समानुपातिक उम्मेदवार थिइन्।

गत संविधानसभामा राप्रपाबाट प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार भएका धेरैजसोले स्थानीय तहमा मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। उनीहरूमा भरतपुर महानगरपालिकाका मेयर उम्मेदवार बद्री तिमल्सिना, चाँगुनारायणकी मेयर उम्मेदवार यवती कार्की, ललितपुरका मेयर उम्मेदवार बाबुकाजी प्रधान, महालक्ष्मी नगरपालिकाका मेयर उम्मेदवार आनन्द अधिकारी, शारदा नगरपालिकाका मेयर उम्मेदवार मनोज प्रधानलगायत छन्।

त्यस्तै चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालबाट काठमाडौंको मेयरमा उम्मेदवारी दिएका विदुरप्रसाद घिमिरे यसअघिको संविधानसभा चुनावमा काठमाडौं क्षेत्र  १० बाट उम्मेदवार थिए।

माओवादी सांसद पार्टीबाट निष्कासित

माओवादी केन्द्रले सांसद योगेन्द्र घिसिङलाई साधारण सदस्यतासमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ। पार्टीको नीति, सिद्धान्त र सांगठनिक नियम उल्लंघन गर्दै बागी उम्मेदवार उठाएको भन्दै उनलाई ललितपुर जिल्ला कार्यसमितिले निष्कासन गरेको हो। बुधबार बसेको जिल्ला कार्यसमिति बैठकले उनलाई निष्कासन गरेको हो।

प्रकाशित: २१ वैशाख २०७४ ०२:१३ बिहीबार

पूर्वसभासद्को उम्मेदवारी