राजनीति

आन्दोलनका उपलब्धी रक्षा गर्न निर्वाचनमा: उपेन्द्र यादव

काठमाडौं-संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको निर्वाचन पछि संविधान संशोधन नभए आन्दोलनमा जाने चेतावनी दिएका छन्। दोस्रो चरणको निर्वाचन प्रक्रिया अगाडि बढाउनुभन्दा पहिला नै संविधान संसोधन गर्नुपर्ने उनको धारणा छ।

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनलाई समेत सङ्घर्षको अर्को रूपमा प्रयोग गर्न स्थानीय तहमा आफ्नो दलको तर्फबाट उम्मेदवारी दर्ता गरेको बताए।  संविधान संशोधन नभएको खण्डमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन गराउनु राष्ट्रिय एकता र राष्ट्र हितको विरुद्ध हुने उनको भनाई छ। सरकारले गरेको प्रतिवद्धता अनुसार संविधान संशोधन नै नगरी दास्रो चरणको निर्वाचन गराउनु अर्थहीन हुने उनको भनाई छ।

प्रतिगमनलाई परास्त गर्न निर्वाचमा सहभागि भएको उनले बताए। ‘गणतन्त्र, संघीयता र समावेशीता जस्ता आन्दोलनका उपलब्धी समाप्त पार्ने षडयन्त्रलाई परास्त पार्न निर्वाचनमा गएको उनको भनाई छ। उनका अनुसार दोस्रो चरणको निर्वाचन अघि नै सरकारले संविधान संशोधन प्रस्ताव पारित गर्ने प्रतिवद्धता अनुसार फोरम निर्वाचनमा सहभागि भएको हो। उनले संघीय गठवन्धनको औचित्य समाप्त नभएको बताए।

                                                                                                                                                                   

प्रकाशित: २० वैशाख २०७४ १०:३१ बुधबार

आन्दोलनका उपलब्धी रक्षा गर्न निर्वाचनमा उपेन्द्र यादव