राजनीति

मनोनयन दर्ता आज

काठमाडौं- पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि मंगलबार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ। प्रदेश नम्बर ३, ४ र ६ अन्तर्गतका दुई सय ८३ स्थानीय तहमा आगामी वैशाख ३१ गते पहिलो चरणको निर्वाचन हुँदैछ।

निर्वाचन आयोगको निर्वाचन कार्यतालिकाअनुसार दुई सय ८३ स्थानीय तहमा भाग लिने उम्मेदवारले मंगलबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालय, गाउँपालिका वा नगरपालिका केन्द्रमा मनोनयनपत्र दर्ता गर्नेछन्।

'मनोनयनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। आयोगले निर्वाचनका लागि खटाएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू उम्मेदवारको मनोनयन दर्ताका लागि पर्खिरहनुभएको छ।'

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले उम्मेदवारी मनोनयनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। 'मनोनयनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। मंगलबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ,' यादवले भने 'आयोगले निर्वाचनका लागि खटाएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू उम्मेदवारको मनोनयन दर्ताका लागि पर्खिरहनुभएको छ।'

स्थानीय तह महानगर/उपमहानगर/नगरपालिका/गाउँपालिकाका प्रमुख/उपप्रमुख, सदस्य, वडा अध्यक्ष र वडा सदस्यका उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नुपर्नेछ। मनोनयन दर्ता गर्न उम्मेदवार आफैं वा वारेस दिएर प्रस्तावक र समर्थकसहित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित हुनुपर्छ।

मनोनयन दर्ताका लागि उम्मेदवारले नेपाली नागरिकताको प्रतिलिपि, सम्बन्धित वडा वा स्थानीय तहको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, सरकारी कर्मचारी भए राजीनामा स्वीकृत भएको पत्र, धरौटी तिरेको रसिद, दलीय उम्मेदवार भए आधिकारिक व्यक्तिको हस्ताक्षरसहितको दलको पत्र पेस गर्नुपर्नेछ। यस्तै मनोनयनपत्रमा प्रस्तावक र समर्थकको सहीछाप गर्नुपर्नेछ।

पहिलो चरणको निर्वाचन कार्यतालिकाअनुसार मनोनयन दर्ता भएपछि मंगलबार अपराह्न साढे ५ बजे मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिनेछ। मनोनयनपत्र दर्ता गराएको उम्मेदवारउपर कुनै गुनासो भएमा बुधबार (वैशाख २० गते) बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा गएर उजुरी दिन सकिनेछ। सोही दिन निर्वाचन अधिकृतको कार्यालयले मनोनयनपत्र जाँच गर्नेछ।

वैशाख २१ गते अर्थात् बिहीबार निर्वाचन अधिकृतको कार्यालयले मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । सोही दिन दिउँसो १ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। वैशाख २२ गते बिहान १० बजे सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ भने उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ। त्यसपछि उम्मेदवारले प्रचारप्रसारलगायतका कार्यक्रम अघि बढाउनेछन्। मतदान वैशाख ३१ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ।

मर्यादित भएर प्रचारप्रसारमा लाग्न आग्रह

निर्वाचन आयोगले अत्यन्तै मर्यादित भएर निर्वाचन प्रचारप्रसारमा लाग्न उम्मेदवारहरूलाई आग्रह गरेको छ। आयोगले सोमबार गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त यादवले उम्मेदवारी दर्ता गराएपछि उम्मेदवारलाई स्वतः आचारसंहिता लाग्ने भएकाले निर्वाचन आचारसंहिता र सामाजिक मर्यादामा ध्यान दिन आग्रह गरे। उनले प्रचारप्रसारका क्रममा महिला, दलित र अल्पसंख्यकको मानमर्यादाप्रति आँच पुग्ने काम भएमा आयोगलाई सह्य नहुने बताए। आयोगले निर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ। आयोगले निर्वाचनमा खटिएका कर्मचारीलाई प्रश्न नउठ्ने गरी मर्यादित भएर काम गर्नसमेत निर्देशन दिएको छ। प्रमुख आयुक्त यादवले निर्वाचनका लागि आवश्यक पर्ने सबै सामग्री सम्बन्धित जिल्लामा पुगेको जानकारी दिए। 'निर्वाचनका लागि आवश्यक पर्ने सबै सामग्री सम्बन्धित जिल्लामा पुर्‍याइसकिएको छ, मंगलबार मनोनयन भएपछि निर्वाचनबारे उठेका शंकाउपशंका र हल्ला आफंै हटेर जानेछन्।' आयोगले २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनले जनप्रतिनिधिको रिक्तताको अन्त्य गर्दै स्थानीय सरकार निर्माण गर्ने भएकाले निर्वाचनलाई पर्वका रूपमा लिएर बडो उत्साहसाथ उम्मेदवारी दर्ता गर्न–गराउन राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई आग्रह गरेको छ।

प्रकाशित: १९ वैशाख २०७४ ०४:१६ मंगलबार

मनोनयन दर्ता