राजनीति

महाअभियोगको विरोध गर्न डोजर र्याली (फोटो/भिडियो)

काठमाडौं– ‘कान खोली सुन– देउवा र प्रचण्ड, माफिया मोहले देश हुन्न सम्पन्न’ सोमबार माइतीघर मण्डलामा भेला भएकाहरु एकै स्वरमा चिच्याइरहेका थिए।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आइतबार संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि कार्कीको समर्थनमा सोमबार विभिन्न राजनीतिक दल तथा संघसंगठनका व्यक्तिहरुको सहभागिता थियो।

प्रदर्शनकारीहरुले महाअभियोग प्रस्तावको विरोधमा ‘डोजर र्याली’ समेतको आयोजना गरेका थिए। उक्त र्यालीमा भेला भएका हजारौं मानिसले सरकारको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल र नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाको विरोध गर्दै नारा लगाएका थिए।

‘महाअभियोगका मतियार, जनता आउँदैछन् होसियार’ भन्दै माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेको र्यालीमा डा. गोविन्द केसी, रविन्द्र मिश्र र किशोर थापालगायत सहभागी थिए। आइतबार प्रधानन्यायाधीश सुशीला कार्कीमाथि संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरिएपछि सुशासनका लागि नागरिक अभियान, महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल र फ्रिलायन्स युथ मुभमेन्टले संयुक्त रुपमा डोजर र्यालीको आयोजना गरेका थिए ।

प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव तत्काल फिर्ता गरेर न्याय सम्पादनको जिम्मेवारी बहन गर्ने वातावरण निर्माण गर्न र्याली आयोजकहरुको आग्रह थियो। हजारौं सहभागीहरुको बीचमा माइतीघरदेखि नयाँ बानेश्वरसम्म डोजरसमेत हिँडाएर ¥याली गरिएको थियो ।
सहभागीहरुले ‘प्रतिशोधपूर्ण महाअभियोग खारेज गर’, ‘न्यायपालिका हुन्छ स्वतन्त्र अनि स्थापित हुन्छ लोकतन्त्र’ र ‘चुनाव रोक्ने षड्यन्त्र बन्द गर’ लगायत नाराहरु लगाएका थिए।

‘सांकेतिक रुपमा डोजरको प्रयोग गरेका हौं,’ आयोजक विवेकशील नेपालीका शशिविक्रम कार्कीले भने, ‘राजनैतिक षड्यन्त्र गरेर भ्रष्टाचारी नेताहरुलाई डोजरले हटाएर स्थापित हुन नसकेको लोकतन्त्रलाई स्थापना गराउनुपर्छ भनेर डोजर र्यालीको आयोजना गरेका हौं।’

निषेधित क्षेत्रको अवज्ञा हुन नदिन नयाँ वानेश्वरमा सयौंको संख्यामा सुरक्षाकर्मीहरु तैनाथ गरिएको थियो । र्यालीपछि आयोजित कोणसभामा बोल्दै विवेकशील नेपालीकी रञ्जु दर्शनाले भ्रष्टचारीहरुको लुटतन्त्रलाई डोजर लगाएर सिध्याएर लोकतन्त्रको अभ्यासलाई कायस गर्न सबैलाई आग्रह गरेकी थिइन्।

‘हामीले एक सय ८० दिनअघि लोकमान विरुद्ध मुद्दा दर्ता गर्न खोज्दा कोही संसद भेटिएनन्,’ उनले भनिन्, ‘उनीहरुले स्थापित गरेको भ्रष्ट्रचारतन्त्र सिध्याएर छाड्नेछौं। लुटतन्त्रलाई डोजर लगाएर सिध्याउनेछौं। डोजर आन्दोलनसंगै लुटतन्त्रलाई ठाडे हात,’उनले भनिन्।’

र्यालीलाई सम्बोधन गर्दै डा. गोविन्द केसीले नागरिक समाजलाई डोजरको संज्ञा दिएका थिए।
‘हामी नागरिकहरु डोजर हौं,’ उनले भने, ‘हामीले डोजर चलाएर भ्रष्ट राजनैतिक पाटी र नेताहरुलाई फाल्ने बेला आएको छ । कारण नेपालको आस्थाको केन्द्र सुशीला कार्कीविरुद्ध महाअभियोग लगउने मतियार दलाललाई देश चलाउने हक हुन। स्वतन्त्र नागरिक भएर भ्रष्टचारी विरुद्ध अनसन बस्ने म तयार छु।’

प्रबिन काेइरालाका फाेटाे र भिडियाे(माथि) हेर्नुहाेस्–

 

 

महाअभियोगको विरोध गर्न डोजर र्याली फोटो/भिडियो