राजनीति

काठमाडौं महानगरको १२५ बुँदे कार्यक्रम डेढ दर्जन नारा

रोजगारी सृजनादेखि शिक्षा, स्वास्थ्य र पर्यटनमा जोड

काठमाडौँ महानगरपालिकाले ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ भन्ने दीर्घकालीन सोचअघि सार्दै आर्थिक वर्ष २०८०/०८१को नीति तथा कार्यक्रम ल्याएको छ।

महानगरपालिका प्रमुख बालेन शाहले बुधबार नगरसभामा पेश गरेको नीति तथा कार्यक्रमले सफा, सुन्दर, धुलोरहित एवं व्यवस्थित सडक र पेटी, सफा नदिनाला, डुवान रहित, प्रविधिमैत्री, हराभरा, पर्यावरण तथा पर्यटनमैत्री काठमाडौँ निर्माणलाई मुख्य उद्देश्य राखिएको हो।

कम्तिमा ५ हजार नयाँ रोजगारीको सिर्जना गर्ने, महानगरलाई अर्गानिक खाद्य तथा तरकारीमा आत्मनिर्भर वनाउन कम्तिमा एक पालिकामा एग्रोपुलिङ सुरूवात गर्ने उल्लेख गरिएको छ। स्थानीय स्तरमा उत्पादित स्थानीय पेय पदार्थ तथा परम्परागत बस्तुहरूको ब्राण्डिङ गरी निर्यात गर्ने उल्लेख छ।

काठमाडौँलाई सांस्कृतिक तथा पर्यटनमैत्री सहर बनाइ पर्यटकको संख्यामा उल्लेख्य वृद्धिगर्ने लक्ष्य नीति तथा कार्यक्रमले राखेको छ। सुबिधा सम्पन्न बाल शिक्षा र विकासमा जोड दिंदै महानगरपालिकाले ल्याएको नीति तथा कार्यक्रममा भनिएको छ, ‘सुविधा सम्पन्न कक्षा, आवश्यक भौतिक पुर्वाधार विकास, बुक फ्रि फ्राइडे, सिपमूलक शिक्षा, मेरो विद्यालय म बनाउछुँ, विद्यालयको सुन्दरता तथा हराभरामा विद्यार्थीहरूको सहभागिताका साथै सामुदायिक विद्यालयमा विद्यार्थी भर्नादर कम्तिमा २५ प्रतिशतले वृद्धिगर्ने शैक्षिक लक्ष्य लिइएको छ।’

काठमाडौं महानगरले सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्ने क्षमताको विकास गर्न आधारभूत प्राविधिक ज्ञान र सिपका साथै तन्दुरुस्त जीवनका लागि खेलकुद र त्यसलाई आवश्यकपर्ने पूर्वाधार सहितको गरिखाने शिक्षा, महानगरको ईच्छा भन्ने नाराकासाथ शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने जनाएको छ।

सामुदायिक विद्यालयहरूको सुन्दरता बढाउन विद्यार्थीहरूको सहभागितामा सम्पूर्ण विद्यालयहरूलाई सुन्दर, कलात्मक र हरियालीयुक्त बनाउने पनि जनाएको छ।त्यसका लागि विद्यार्थीहरुको संलग्नतामा क्लव गठन गरी बुक फ्रि फ्राइडे कार्यक्रमसँग यस परियोजनालाई आवद्ध गरी सञ्चालन गर्ने उल्लेख छ।

‘सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुका लागि नियमित स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्न एक विद्यालय एक नर्स र विद्यालयमा मनोसामाजिक परामर्शको लागि एक विद्यालय एक सामाजिक सहजकर्ता परिचालन गर्ने कार्यक्रम सञ्चालन गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।  ‘सामुदायिक विद्यालयका छात्राहरुका लागि निशुल्क सेनेटरी प्याड र प्याड डिस्पोजेवल मेशिन एवं विद्यार्थीहरुका लागि लकरको व्यवस्था गरिनेछ,’ कार्यक्रममा उल्लेख छ। 

३२ वटै वडामा स्वास्थ्य प्रवर्धन केन्द्र, १ वटा शुलभ फार्मेसी, १ वटा केन्द्रिय ल्याव सञ्चालनमा ल्याई महानगरवासीको स्वास्थ्य सेवा पहुँच अभिबृद्धिमा रुपान्तरण गर्ने लक्ष्य पनि नीति तथा कार्यक्रमले लिगेको छ। महानगरपालिका भित्रका स्वास्थ्य संस्थाहरुप्रतिको जनविश्वास र सेवाग्राहीको संख्या शतप्रतिशतले वृद्धि गर्ने लक्ष्य राखिएको छ। 

महानगरपालिका क्षेत्रभित्र एक निर्दिष्ट नगर अस्पताल स्थापना गरी सञ्चालनमा ल्याउने जनाउँदै भनिएको छ,‘निजी तथा सामुदायिक अस्पतालसँगको सहकार्यमा सुलभ फार्मेसी सञ्चालनमा ल्याई महानगरवासीलाई औषधि खरिदमा सहुलियत दिइनेछ।’ वन स्टोप सर्भिस सेन्टर, सार्वजनिक यातायात तथा सवारी पार्किङ र महानगरको सेवाप्रवाह पूर्ण डिजिटल रुपमा सञ्चालनमा ल्याउने जनाउँदै भनिएको छ,‘महानगरको सेवामा होम डेलिभरी, इरेन्टल, मेट्रोमार्ट सञ्चालनमा आउनेछ।’

महानगरपालिकाका सम्पूर्ण सडकहरुलाई आगामी तीन वर्षभित्र गुणस्तरीय पक्की सडकमा रुपान्तरण गर्न र सडकपेटीको स्तरोन्नतिका लागि धुलो रहित काठमाडौँ बनाउने उल्लेख छ। ‘उज्यालो सहर, मेरो महानगर योजनाको रुपमा सञ्चालन गरिनेछ,’ भनिएको छ, ‘यसका लागि महानगरको आफ्नै संयन्त्र वा जिदुजी र सामाजिक उत्तरदायित्व मार्फत उज्यालो सहरको कार्यक्रम सञ्चालन गरिनेछ।’

महानगरका विभिन्न एक सय स्थानमा हाइ मास लाइट जडान गरिने उल्लेख छ। महानगरपालिका क्षेत्रभित्रका नदीनालाहरूको नियमित सरसफाई गर्न नदी सरसफाई सञ्चालन गर्ने उल्लेख छ। ‘यसका लागि आवश्यक उपकरणहरू खरिद गरी संस्थागत क्षमता विकास गरिनेछ साथै वागमती तथा बिष्णुमती नदिमा फोहर पानी प्रशोधन केन्द्रको स्थापना गर्ने प्रकृया शुरु गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ।

मानव अधिकार र सामाजिक न्यायको सिद्दान्तलाईअवलम्वन गर्दै न्याय सम्पादनलाई थप सरल, सहज, अनुमानयोग्य र पहुँचयोग्य बनाउन सूचना प्रविधिको प्रयोग गरिने पनि जनाएको छ। महानगरवासीहरूका लागि न्याय तथा कानुनी परामर्शका लागि स्वर्णिम योजनाका रूपमा न्याय चौतारी सञ्चालनमा ल्याइने उल्लेख छ।

डिजिटल महानगर फ्रेमवर्क तयार गरी सुशासनका लागि अनलाइन सेवा गौरवका योजना मार्फत महानगरवाट प्रदान गरिने सेवालाई अनलाइन माध्यमबाट प्रवाह गर्ने जनाइएको छ।

राजस्व परिचालन अभियान सञ्चालनमा ल्याई आन्तरिक राजस्व उल्लेख्य वृद्धि गर्ने जनाइएको छ। महानगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण सडकहरू पक्कि सडकमा रुपान्तरण गर्ने जनाइएको छ। ‘पूर्वाधार एम्बुलेन्सलाई प्रभावकारी रुपमा सञ्चालन गरी सम्पूर्ण सडकहरुलाई खाल्डाखुल्डी रहित बनाउने लक्ष्य लिईएको छ,’ नीति तथा कार्यक्रममा लेखिएको छ,‘सम्भव भएसम्म एक वडा एक खेल मैदान, एक वडा एक पार्क निर्माण, वार्षिक रुपमा कम्तिमा एक लाख बृक्षारोपण गर्ने लक्ष्य लिइएको छ।’ एक सय २५ बुँदे नीति तथा कार्यक्रमा डेढ दर्जन सुन्दर नाराहरू समेटिएको छ।

प्रकाशित: ६ असार २०८० १४:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App