राजनीति

दोलखामा काँग्रेस र माओवादी केन्द्रबीच तालमेल

सहमति पत्रमा हस्ताक्षर गर्दै कांग्रेस जिल्ला सभापति रुद्रबहादुर खड्का एवं माओवादी केन्द्रकी जिल्ला इन्चार्ज देवी खड्का । तस्बिर : रमेश खतिवडा

दोलखा – स्थानीय तह निर्वाचनमा दोलखामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् । 

२ नगर र ७ गाउँपालिका रहेको दोलखाका सबै स्थानमा संयुक्त प्यानल बनाएर दुई दलले निर्वाचनमा उत्रने घोषणा गरेको हो । एक महिना अघि देखी दुई दलका नेताबीच चलेको बैठक र छलफललाई अन्तिम रुप दिन शनिबार सदरमुकाम चरिकोटमा भएको निर्णयक वार्तापछि दुवै दलले स्थानीय तह निर्वाचनमा संयुक्त प्यानल बनाएर लड्ने सहमति गर्दै चुनावी गठबन्धनको घोषणा गरेका छन् । 

कांग्रेसका जिल्ला सभापति रुद्रबहादुर खड्का र नेकपा माओवादी केन्द्र दोलखाकी इन्चार्ज देवी खड्काले सहमति पत्रमा हस्ताक्षर गरी स्थानीय चुनावमा संयुक्त प्यानल बन्ने घोष्णा गरे । शनिबार सदरमुकाम चरिकोटमा आयोजित पत्रकार सम्मेलनमा दुवै दलका जिल्ला नेताले चुनावी तालमेल जिल्लाको समृद्धी र स्थानिय तहको विकासका लागि भएको बताए । घोषणा समारोहमा दुवैले एक गाउँपालिका प्रमुखको उम्मेदवार मात्र सार्वजनिक गरे । विगु गाउँपालिका प्रमुखमा गठबन्धनले कांग्रेसका तर्फबाट युधिष्ठिर खड्कालाई प्रमुख उम्मेदवार घोषणा गरेको छ । अन्य प्रमुख पदमा भने उम्मेदवारी सोमबारसम्म घोषणा गरिसक्ने बताएका छन् । 

स्रोतका अनुसार ९ पालिका मध्ये ५ कांग्रेस र ४ नेकपा माओवादी केन्द्रले लिने सैद्धान्तिक सहमति शुरुमा भएको थियो । विगु गाउँपालिकामा नेकपा एमालेबाट कांग्रेसमा प्रवेश गरेका खड्कालाई दुवैको सहमतिमा कांग्रेसको तर्फबाट प्रमुख उम्मेदवारका रुपमा अघि सारिएको छ । सहमति पछि माओवादी केन्द्रलको तर्फबाट २ र कांग्रेसको तर्फबाट ६ पालिकामा प्रमुखको उम्मेदवार बन्ने नेताहरुले जनाएका छन् । एउटा पालिकामा भने सहमतिको प्रयास भइरहेको बताइएको छ । 

दुई दलबीचको सहमतिमा माओवादी केन्द्रले गौरीशंकर र कालिञ्चोक लिने र कांग्रेसले भीमेश्वर, मेलुङ, विगु, तामाकोशी, वैत्येश्वर, जिरी लिने समझदारी बनेको नेताहरुले बताएका छन् । शैलुङ गाउँपालिका कसले लिने र गठबन्धनको तर्फबाट को उम्मेदवार बनाउने भन्ने विषयमा छलफल चलिरहेको नेताहरूले बताएका छन् । सैद्धान्तिक र लिखित समझदारी भएपनि गठबन्धनको तर्फबाट बन्ने प्रमुख उम्मेदवारको टुङगो लगाउन बाँकी रहेकाले केही पालिकामा फेरबदल हुन सक्ने आंकलन समेत गरिएको छ । नेताहरूले सोमबार बिहानसम्म सबै स्थानमा घोषणा गर्ने बताएका छन् । वडास्तरमा भने जिल्लातहबाट सहमति नभएका स्थानहरूमा स्थानीय पार्टी कार्यकर्ताहरूलाई जिम्मेवारी दिने तयारी भइरहेको नेताहरुले बताएका छन् । सहमति नभएका वडामा कांग्रेस र माओवादी केन्द्र दुवैले छुट्टा छुट्टै उम्मेदवारी दिनेछन् । 

माओवादी केन्द्रका जिल्ला अध्यक्ष विशाल खड्काले जिल्लाको विकास र समृद्धीका मुद्धाहरुमा मत मिलेकाले दुई शक्तिबीच तालमेल गरिएको प्रतिक्रिया दिए । कांग्रेस जिल्ला सभापति रुद्रबहादुर खड्काले आफुहरूको मोर्चाबन्दी जिल्लाको विकास साथै एमालेविरुद्ध भएको समेत बताए । स्रोतका अनुसार उम्मेदवार साथै दुवैले संयुक्त निर्वाचन परिचालन समिति, सम्पर्क कार्यालय, भातृ संस्थाको परिचालन समेत गर्ने बताएका छन् । 

प्रकाशित: १७ वैशाख २०७४ ०७:२८ आइतबार

दोलखामा काँग्रेस माओवादी केन्द्रबीच तालमेल