राजनीति

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पेश मेकर राखिएको छ। मंगलबार मनमोहन कार्डियोथोरासिक, भास्कुलर एण्ड ट्रान्सपलान्ट सेन्टरमा पौडेलको मुटुमा पेशमेकर राखिएको हो । अस्पतालका निर्देशक तथा मुटुरोग बिशेषज्ञ डा. रत्नमणी गजुरेलको संयोजकत्वमा डा. भगवान कोइराला, चन्द्रमणी पौडेल, रोशन रन्जित, डा. यादव भट्ट, डा. सुजित राजभण्डारी र एनेशथेसियातर्फ डा. बिभुष श्रेष्ठ र विश्वास प्रधानको समुहले पेसमेकर राखेका हुन्। डेढ घण्टा समय लगाएर राष्ट्रपति पौडेलको मुटुमा पेसमेक राखिएको हो।

चार दिनदेखि यो अस्पतालमा भर्ना भएका पौडेलको मुटुको चालमा समस्या देखिएपछि पेसमेकर राखिएको डा. गजुरेलले बताए। उनको अनुसार पौडेललाई ७२ घण्टासम्म मुटुको चल निगरानीमा राख्दा मुटुको चालमा गडवडी देखिएपछि पेसमेकर राखिएको छ।

हाल राष्ट्रपति पौडेलको स्वास्थ्य सामान्य रहेको र स्वास्थ्य अवस्थामा थप सुधार भएपछि डिस्चार्ज गर्ने गजुरेलले जानकारी दिए। मुटुको चालको कारण आउन हुन सक्ने जोखिमबाट बच्नको लागि पेशमेकर राखिएको डा. गजुरेलले बताए। पेसमेकर राखेपछि औसत १० वर्षसम्म त्यसको व्याट्रीले काम गरी मुटुको चाल गडवडी हुन दिंदैन। ‘मुटुको चालमा गडवडी कुनै पनि बेला कुनै बेला ज्यानै जान सक्ने खत्रा हुन्छ, त्यो जोखिमबाट बचाउन हामीले पुर्ण उपचार गरेका हौ,’डा. गजुरेलले भने।

पौडेलको स्वास्थ्यमा तीन÷चार महिनादेखि समस्या आएपछि पटक– पटक अस्पताल पुग्नु परेको थियो। पछिल्लो पटक गंगालालमा भर्ना भएपछि मनमोहन कार्डियोथोरासिक सेन्टरमा पुगेका थिए। राष्ट्रपतिका पे्रस सल्लाहाकार किरण पोखरेलका अनुसार पौडेलको केही समयदेखि यता समस्या देखिन थालेको थियो। त्यही क्रममा मनमोहन कार्डियो,भास्कुलर तथा ट्रान्सपलान्ट सेन्टरमा भर्ना गरिएको हो।

मुटुको चाल बन्द भएमा रिंगटा लाग्ने, बेहोस हुने,थकाइ लाग्ने जस्ता लक्षण देखिन्छन्। कतिपय अवस्थामा मुटुको काम बन्द भई ज्यानै जान सक्छ। चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको मुटुमा के कारणले मुटुको चालमा गडवडी आयो भन्ने कुरा यकिन थाहा छैन। तर बुढ्यौली उमेर, मुटुको धमनीमा समस्या देखिएमा पनि मुटुको चालमा गडवडी आउन सक्छ। तर राष्ट्रपतिको हकमा बुढ्यौली उमेरको कारणले गडबडी भएको हुन सक्ने गजुरेलको बुझाइ छ।

प्रकाशित: ५ असार २०८० १४:०६ मंगलबार

रामचन्द्र पौडेल