राजनीति

प्रधानमन्त्रीद्वारा शुक्रबार सर्वदलीय बैठक अाह्वान

काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायत विषयमा छलफल गर्न शुक्रबार सर्वदलीय बैठक डाकेका छन्।

प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारेमा छलफल गर्न व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका नेतालाई बैठकमा आमन्त्रण गरिएको जानकारी दिए।

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएको अवस्थामा सबै राजनीतिक दलको विश्वास लिन र भयरहित वातावरणमा निर्वाचन गराउने दायित्व सबै दलको हो भन्ने आत्मबोध गराउन नै प्रधानमन्त्रीले छलफल आयोजना गर्नुभएको आचार्यले बताए।

संविधान संशोधन प्रस्ताव द्रुतमार्गबाट अगाडि बढाएर मुलुकभर नै स्थानीय तहको निर्वाचन गर्ने लक्ष्यलाई प्रधानमन्त्रीले प्रमुख प्राथमिकतामा राखेअनुसार छलफल आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा सत्तारुढ दल नेपाली काँग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय समाजवादी फोरम नेपाललगायत संसद्मा प्रतिनिधित्व गर्ने सबै दलललाई आमन्त्रण गरिएको छ।

प्रकाशित: १४ वैशाख २०७४ १३:४९ बिहीबार

प्रधानमन्त्रीद्वारा शुक्रबार सर्वदलीय बैठक अाह्वान