राजनीति

देश बनाउने योजना काँग्रेसले बनाइरहेको छ: विश्वप्रकाश शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्ला अग्ला टावरहरु छन्, ठूला ठूला एयरपोर्टहरुले देश समुन्नत नबन्ने बताएका छन्।

सोमबार काठमाडौंमा भएको ट्रेड युनियन काँग्रेसको ७ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले देश समुन्नत छ की छैन भनेर मापन गर्ने कुरा भनेको देशमा बाँचिरहेको श्रमीकले सास फर्ने अवस्था छ की भन्ने कुरालाई हेर्न आवश्यक रहेको उल्लेख गरे।

उनले श्रमीकले जीवन यापन सहज रुपमा गर्न नसकेसम्म देश समुन्नत हुन नसक्ने पनि उल्लेख गरे।

काँग्रेस संस्थापक नेता बिपी कोइरालाले श्रमिकको हक हितका लागि १५ वर्षे खाका बनाए पनि काम गर्ने समय नपाएको र अहिलेका नेताहरुले समय पाए पनि काम गर्ने योजना बनाउन नसकेको उनको भनाइ थियो। उनले यो देशलाई बनाउन सक्ने योजना र कार्यक्रम काँग्रेसले बनाइरहेको जिकिर गरे।

उनले भने, ‘कुनै पनि देश समुन्नत छ की छैन भन्ने कुराको पनि निश्चित मापदण्ड छ। त्यो भनेको सामान्यतया समुन्नत छ भन्दै गर्दा अग्ला अग्ला टावरहरु छन्, ठूला ठूला एयरपोर्टहरु छन्, भव्य भव्य महलहरु छन्, हाइवेहरू छन् एक हिसाबले त्यो देशको समुन्नति भन्दा चित्र यो आउला। यो जरुरत त छ तर वास्तविक समुन्नतिको मापदण्ड त्यो होइन। त्यो देशमा बाँचिरहेको श्रमीकले सास फर्ने अवस्था छ की छैन, उसले जीवन निर्वाह गर्ने सहज वातावरण छ की छैन ? भन्ने कुराबाट मात्रै त्यो देशको समुन्नति मापन गर्न सकिन्छ। त्यसैले नै होला जननेता बिपी कोइरालाले आफू प्रधानमन्त्री भएको बेला जनतालाई केन्द्रमा राख्नुभयो र १५ वर्षको समुन्नतिको खाका बनाउनु भयो। बिपी कोइरालासँग सपना थियो, समय थिएन। हामीसँग समय छ त्यस किसिमको सपना छैन। हामीसँग व्यवस्थित सपना भएन। यो देशमा धरै कुरा भएको छ, गर्न धेरै बाँकी छ, यो देश बनाउन सकिन्छ र सतीको सराप भएको होइन, भगवान् गौतम बुद्धको आशीर्वाद प्राप्त देश हो।’

महामन्त्री शर्माले देशमा केही पनि भएको छैन भनेर निराश हुन नपर्ने बताए।

प्रकाशित: ४ असार २०८० १२:३६ सोमबार

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा ट्रेड युनियन काँग्रेस