राजनीति

दोलखामा एमालेले उम्मेदवार छान्यो

दोलखा- दोलखामा नेकपा एमालेले स्थानीय तहका उम्मेदवारको टुंगो लगाएको छ। प्रमुख पदहरुमा जिल्ला स्तरका नेता आफैले टिकट लिएका छन्। जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेल तामाकोशी गाउँपालिकाको प्रमुख पदको उम्मेदवार बनेका छन्। त्यहाँ, उर्मिला केसीलाई उपप्रमुख उम्मेदवार बनाईएको छ। पार्टी उपाध्यक्ष नर बहादुर श्रेष्ठले मेलुङ गाउँपालिका प्रमुखको टिकट लिएका छन भने त्यहाँ केन्द्रिय अनुशासन आयोगकी सदस्य एवं दोलखा एमालेका पूर्व पार्टी प्रमुख शिव भण्डारीकी श्रीमतीलाई उपप्रमुखको उम्मेदवार बनाईएको छ।

जिल्ला सचिव भरत दुलालले शैलुङ गाउँपालिकाको प्रमुख पदमा टिकट लिएका छन भने त्यहाँ लालमायाँ योञ्जनलाई उपप्रमुखको उम्मेदवार बनाईएको छ। भीमेश्वर नगरपालिकामा भरत केसीले मेयर र कमला बस्नेतले उपमेयरको टिकट पाएका छन् भने जिरी नगरपालिकामा टंक जिरेलले मेयर र निर्मला बुढाथोकीले उपमेयरको टिकट पाएका छन्। यस अघि कांग्रेसमा रहेका जिरेल तीन साता अघि मात्र एमाले प्रवेश गरेका थिए।

कालिञ्चोक गाउँपालिकामा विनकुमार थामीलाई प्रमुख पदमा अघि सारिएको छ। उपप्रमुखमा प्रस्तावित कालिका पाठकले निर्वाचन नलड्ने घोषणा गरेका कारण उनको स्थानमा अर्को उम्मेदवार सार्न सक्ने सम्भावना छ।

विगु गाउँपालिकामा सुन्दर विश्वकर्मा प्रमुख र गोमा केसी उपप्रमुख, गौरीशंकर गाउँपालिकामा स्वयंबहादुर खड्का प्रमुख र उर्मिला थामी उपप्रमुख, वैत्येश्वरमा ऋषि उप्रेती प्रमुख र शान्तीकुमारी तमाङ उपप्रमुखको उम्मेदवार बनाईएको छ । वडा अध्यक्षहरुको टुङगो दुई दिन भित्र लगाईसक्ने एमालेले जनाएको छ।

उम्मेदवारबारे जिल्ला कमिटिमा विवाद बढेपछि उम्मेदवार तय गर्न जिल्लाका सांसदहरु पशुपति चौलागाई, पार्वत गुरुङ, आनन्द पोखरेल, पार्टी केन्द्रिय अनुशासन आयोगका सदस्य शिव भण्डारी,  जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेल र पूर्व जिविस सभापति लालकुमार केसी रहेको टोली बनाईएको थियो। जिल्ला कमिटिले तल्लो तहका कमिटिहरुका सदस्यबाट निर्वाचन गरी उम्मेदवाचर तय गर्ने तयारी गरेपनि कार्यकर्ताको दबाब पछि उक्त प्रक्रिया स्थगन गरी सोमबार जिल्ला पदाधिकारी बैठकले उम्मेदवार टुङगो लगाएको हो। उम्मेदवार निर्णय गर्ने जिल्लाका पदाधिकारीहरु आफलै टिकट लिएपछि विवाद चुलिएको छ। उम्मेदवारी घोषणा कार्यक्रममै जिल्ला कमिटिका पाँच जना प्रभावशाली नेताले राजिनामा दिएका छन्। राजीनामा दिनेमा एमालेका पूर्व जिल्ला उपाध्यक्ष भुवन सिंह थापा, एमाले जिल्ला कमिटी सचिवालय सदस्य गुण बहादुर बुढाथोकी, धनबहादुर तामाङ, थिर बहादुर मोक्तान, सैलुङ गाउँपालिकाका भरत ढुंगेलले राजनीनामा दिएका हुन्।

सोमबार घोषणा गरिएका दुई नगर र ७ गाउँपालिकाका प्रमुख पदमा सिफारिस भएका महिला परेनन्। तामाकोशी गाउँपालिकाबाट उर्मिला खड्का केसी, सिर्जना कार्की, विगु गाउँपालिकाबाट गोमा केसी, कालिञ्चोक गाउँपालिकाबाट कालिका पाठक प्रमुखमा सिफारिस भएका थिए। उनिहरु मध्ये तामाकोशीकी उर्मिला, विगुकी गोमा र कालिञ्चोककी कालिकालाई उपप्रमुखको टिकट दिएर चित्त बुझाईएको छ। तीन मध्ये कालिञ्चोककी कालिका प्रमुख पदकी सशक्त दाबेदार थिईन्। उनले आफु प्रमुख पदका लागी योग्य हुँदा हुदै नेतृत्वले अपमानजनक ब्यबहार गरेका कारण उपप्रमुखमा निर्वाचन नलड्ने घोषणा गरेकी छिन्।

प्रकाशित: १२ वैशाख २०७४ ०८:५२ मंगलबार

दोलखामा एमालेले उम्मेदवार छान्यो