राजनीति

चितवन एमालेले नाम सिफारिस गर्‍यो

चितवन- एमाले जिल्ला कमिटी चितवनले जिल्लाका पाँचै नगरपालिकामा मेयर र उपमेयर तथा एक गाउँपालिकामा प्रमुख र उपप्रमुखका लागि उम्मेदवारको नाम पार्टीका माथिल्ला कमिटीमा सिफारिस गरेको छ।

एमालेले महानगरपालिका र उपमहानगरपालिकामा मेयर/उपमेरका उम्मेदवारको अन्तिम निर्णय स्थायी कमिटी तथा नगर/गाउँपालिकाको मेयर/उममेयर/प्रमुख/उपप्रमुखका उम्मेदवारको टुंगो प्रादेशिक कमिटीले लगाउने कार्यविधि बनाएको छ। वडा तहका उम्मेदवार छान्ने जिम्मा लिल्ला कमिटीलाई दिइएको छ।

जिल्ला समितिले नाम चयन गरेर अन्तिम निर्णयका लागि केन्द्र र प्रदेश कमिटीमा उम्मेदवारको नाम सिफारिस गरेको हो।

सिफारिस नाममा माथिल्ला कमिटीले निर्णय नगर्दासम्म अन्तिम  नहुने  एमाले नेताले बताएका छन्। त्यसमा फेरबदल पनि हुन सक्ने बताइन्छ। एमाले चितवनका उपाध्यक्ष तेजेन्द्र खड्काका अनुसार भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवारका लागि चार जनाको नाम केन्द्रमा सिफारिस भएको छ। केशवलाल श्रेष्ठ, देवी ज्ञवाली, विजय सुवेदी र उमा कार्कीको नाम भरतपुर महानगरपालिकाको मेयरका लागि सिफारिस भएको छ।

 भरतपुर महानगरपालिकाको उपमेयरमा चक्र रुचाल, विद्या शर्मा र कल्पना सापकोटाको नाम केन्द्रीय समितिमा सिफारिस भएको उपाध्यक्ष खड्काले बताए।

एमाले जिल्ला सचिव पार्वती रावलका अनुसार पूर्वसभासद् लालमणि चौधरीको नाम खैरहनी नगरपालिकाको मेयरका लागि सिफारिस भएको छ। चौधरी पहिलो संविधानसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर एकबाट निर्वाचित भएका थिए। उनी तत्कालीन खैरहनी गाविसका पूर्वअध्यक्ष पनि हुन्।

 खैरहनीमा एमाले चितवनका पूर्वअध्यक्ष जगन्नाथ थपलियाकी श्रीमती सुनिता थपलियाको नाम उममेयरका लागि सिफारिस भएको छ। जिल्लाको दोस्रो ठूलो नगरपालिका रत्ननगरमा एमालेले नारायण वनलाई मेयर पदमा उठाउने भएको छ। वन ०५४ सालमा रत्ननगरमा मेयरमा विजयी व्यक्ति हुन्। रत्ननगरमा बिमला दुवाडीको नाम उपमेयरका लागि सिफारिस भएको छ।

 राप्ती नगरपालिका मेयरमा प्रभा बराल र उपमेयरमा इमानसिंह लामाको नाम सिफारिस भएको छ। कालिका नगरपालिकामा खोमनारायण श्रेष्ठ (गोपी) मेयर र कमला भट्टराई उपमेयरमा सिफरिस भएका छन्। श्रेष्ठ २०५४ सालको निर्वाचनमा हाल कालिका नगरपालिकामा गाभिएको साबिकको शक्तिखोर गाविस अध्यक्षमा निर्वाचित भएका थिए।

 त्यस्तै माडी नगरपालिकाको मेयरमा नारदमणि पौडेल र उपमेयरमा तारा महतो थारुको नाम सिफारिस भएको छ। पौडेल ०५४ सालको निर्वाचनमा अहिले माडी नगरपालिकामा मिसिएको साबिकको अयोध्यापुरी गाविस अध्यक्ष निर्वाचित भएका थिए। एमालेले जिल्लाका पाँच नगरपालिकामध्ये चारमा विगतमा स्थानीय निकायमा प्रमुखकै रुपमा विजयी व्यक्तिलाई दोहर्‍याएको छ।

 एमालेले जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनाको प्रमुखमा नारायण अधिकारी र उपप्रमुखमा जुना राजभण्डारीको नाम सिफरिस गरेको छ। जिल्लाका स्थानीय तहमा ९८ वडा छन्। पाँच/सातवटाबाहेक अरु सवै वडामा वडाध्यक्ष र सदस्य पनि टुंगो लागेको एमाले जिल्ला उपाध्यक्ष खड्काले जानकारी दिए।

महिला मेयर उठाउँदै वैद्य माओवादी

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले भरतपुर महानगरपालिकामा महिलालाई मेयरमा उठाउने भएको छ। सो पार्टीले देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका नामबाट स्थानीय चुनावमा भाग लिँदैछ। मोर्चाका तर्फबाट भरतपुर महानगरपालिकामा अम्बिका मुडभरी मेयरमा उठ्ने भएकी छन्। उपमेयरमा बाबुराम प्यासी परियारको नाम सिफारिस भएको छ।

'महानगरपालिकाका मेयर तथा उपमेयर उम्मेदवार केन्द्रीय समितिले निर्णय गर्ने भएका कारण आइतबार हामीले जिल्लाबाट एक–एक जनाको नाम सिफारिस गरेका छौं', क्रान्तिकारी माओवादी चितवनका नेता नारायण शर्माले भने। मोर्चाले जिल्लाका सबै स्थानीय तहमा उम्मेदवार उठाउने उनले बताए। अरु पदमा जिल्लाले नै निर्णय गर्ने भएका कारण एकदुई दिनभित्र टुंगो लगाउने उनले जानकारी दिए।

मुडभरी जिल्लामा राम्रो प्रभाव भएकी महिला नेतृ हुन्। उनी पहिलो संविधानसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं. ५ मा तत्कालीन नेकपा माओवादीकी उम्मेदवार थिइन्। पार्टीले चुनावी तालमेल गरेर सो ठाउँमा तत्कालीन संयुक्त जनमोर्चाका उम्मेदवार अमिक शेरचनलाई समर्थन गरेको थियो। त्यसो हुँदा पनि मुडभरीका पक्षमा निकै मत आएको थियो।

प्रकाशित: १२ वैशाख २०७४ ०२:२३ मंगलबार

चितवन एमालेले नाम सिफारिस गर्‍यो