राजनीति

रोल्पालीलाई लोकतन्त्रको मलम

रोल्पाको थवाङ गाउँ र सदरमुकाम होलेरी ।

दाङ – २०३८ मा सूर्यबहादुर थापा नेतृत्वको सरकारका भूमिसुधार मन्त्री रोल्पाका रेगबहादुर सुवेदी अहिले सक्रिय राजनीतिबाट पाखा लागिसकेका छन् । लामो समयसम्म नेपाली राजनीतिमा सक्रिय रहे पनि उनी अहिलेको ‘धुमिल’ राजनीतिदेखि दिक्क छन् । ‘ढुंगामुढा गर्ने मान्छे किन्न र नेताको चाकडी चाप्लुसी गर्न नजान्दा राजनीतिबाट पाखा लागेँ,’ उनले हाँस्दै भने । 

आफ्नो राजनीतिकालको व्यवस्थालाई उच्च सम्मान गर्छन्, उनी । पञ्चायतीकालका उपप्रधानपञ्च उनी त्यो बेलाको ‘एकता’ सम्झँदा हर्षित बन्छन् । विकासको गतिमा अधुरो थियो, रोल्पा । सरकारी बजेट देख्नै पाउँदैनथ्यो । सरकारी बजेट नपाउने रोल्पाका जनता स्वयम् श्रमदानमा जुटेर विकास निर्माणमा लाग्थे । ‘श्रमदानबाट विकास सानै हुन्थ्यो,’ उनी भन्छन्, ‘तर, जनता आफै जुटेर विकास गर्थे ।’ 

त्यतिबेला राजनीतिक चेतना कम भएको पूर्वमन्त्री बालाराम घर्तीले बताए । ‘सीमित राजनीतिकर्मीले रोल्पालाई सकेजति गुन लगाएकै थिए । त्यसैले उनीहरू जनताका प्रिय पात्र कहलिएका थिए,’ उनी सम्झन्छन् । सञ्चार सुविधा खासै थिएन । सञ्चारको एक मात्रै माध्यम भनेकै रेडियो थियो । २०३० सालमा सहायक मन्त्री बनेको अविस्मरणीय क्षणलाई उनले रमाइलो पारामा सुनाए । उनी गाउँबाट लिवाङ जाँदै थिए । बिहान रेडियो सुन्न भुलेछन् । बाटोमा भेटिएका एक व्यक्तिले उनलाई खबर सुनाइदिए– ‘तपाईं त गृह सहायकमन्त्री बन्नुभएछ ।’ 

उनलाई मन्त्री बनेको थाहै थिएन । न त त्यो बेला मन्त्री बन्दाको हर्षको उन्माद नै थियो । उनी सपथ लिन चार÷पाँच दिनपछि बल्ल काठमाडौँ पुगेका थिए । ‘मन्त्री बन्दा खुसी नै नलाग्ने भन्ने त भएन,’ उनी भन्छन्, ‘तर, अहिलेको जस्तो उन्माद त्यो बेला हुँदैनथ्यो ।’ शिक्षामा पनि रोल्पा उस्तै कमजोर थियो । पूर्वमन्त्री घर्ती सम्झन्छन्, ‘२०१७ सम्म रोल्पाबाट एसएलसी गरेका जम्मा दुई जना मात्रै थिए ।’ 
बहुदलीय व्यवस्थासँगै जिल्लाको रूपरङग केहि फेरियो । पञ्चायतकालमा अति कमजोर शिक्षा क्षेत्रले फड्को मा¥यो । 

पञ्चायतकालमा १० मावि मात्रै रहेको रोल्पामा २०४६ पछि ७० मावि खुले । दर्जनौ उच्च मावि अहिले सञ्चालन छन् । तीन क्याम्पसमध्ये दुई सञ्चालन भइरहेका छन् । ‘बहुदलपछि रोल्पाको विकास सन्तोषजनक ढङ्गले अघि बढ्यो,’ उनले भने, ‘शिक्षामा निकै फेरबदल आयो ।’ विकासले गति लियो । धमाधम सडक निर्माण हुन थाले । रोल्पालीले त्यो बेला सरकारको अनुभूत गर्न थाले । 

२०५२ मा रोल्पाबाटै उदय भएको तत्कालीन माओवादी युद्धले रोल्पा बेस्सरी थलियो । विकासका पूर्वाधार द्वन्द्वले ध्वस्त बनाइदियो । बुर्जुवा शिक्षा पढ्न नदिने तत्कालीन माओवादी युद्धको धम्कीले रोल्पाली शिक्षाबाट वञ्चित भए । ‘पञ्चायतकालमा जनताले श्रमदान गरेर बनाएको विकासलाई द्वन्द्वले ध्वस्त पारिदियो,’ पूर्वमन्त्री सुवेदी भन्छन्, ‘विस्तारै माथि उठ्न थालेको रोल्पा बेस्सरी थलियो ।’ द्वन्द्वकै कारण रोल्पामा सैयौँले ज्यान गुमाए भने कैयन परिवार विस्थापित बने । पूर्वमन्त्री सुवेदी भन्छन्, ‘मारिने डरले त्यो बेला जिल्ला छाडेर विस्थापित भएका अहिलेसम्म पनि रोल्पा फर्कने मन गरेका छैनन् ।’ सर्वहारा जनताको हितका निम्ति भन्दै द्वन्द्वको बिगुल फुकियो । अर्काेतर्फ विनाशले चर्को रूप लियो । १० वर्षसम्म रोल्पा विनाशै विनाशबाट गुज्रियो ।
 
द्वन्द्वकालमा थलिएको विकास शान्ति स्थापनापछि तंग्रिन सुरु गरेको छ । त्यसयता स्थापना भएको लोकतन्त्र रोल्पालीका लागि द्वन्द्वको चर्किएको घाउ सञ्चो बनाउने मल्हम भएको छ । 

 रोल्पामा पछिल्लो एक दशकमा साविकका दुई गाविसबाहेक सबैमा सडक पुगेको छ । द्वन्द्व समाप्तीपछि रोल्पाको मुख्य विकास भनेकै सडक हो । यहीँ बिचमा दाङ, भालुवाङ, प्युठान हुँदै रोल्पासम्म १ सय ७ किलोमिटर सडक पक्की भएको छ । घोराही–होलेरी–गैरीगाउँसम्मको सडक स्तरवृद्धि हुनुका साथै रोल्पा, थवाङ हुँदै रुकुमसम्मको सडक कालोपत्रे हुने प्रक्रियामा छ । शान्ति प्रक्रिया सुरु हुँदा दाङ घोराहीदेखि होलेरी हुँदै गैरीगाउँ तिलासम्म करिब ३८ किलोमिटर कच्ची सडक मात्रै थियो । 

जिल्ला समन्वय समिति रोल्पाका सूचना अधिकारी रामकुमार न्यौपानेका अनुसार अहिले ५ सय ९० किलोमिटर सडक सञ्जाल रोल्पामा तयार भएको छ । ‘२०६३ ताका करिब १ सय ५३ किलोमिटर सडक पुगेको रोल्पामा अहिले ५ सय ९० किलोमिटर सडक सञ्जाल विस्तार भएको छ,’ जिल्ला समन्वय समिति रोल्पाका सूचना अधिकारी न्यौपानेले भने, ‘पछिल्ला वर्षमा रोल्पामा सडकमा ठूलो विकास भएको छ ।’ 

त्यसो त भौतिक पूर्वाधारका हिसाबले थोरै मोटरेवल पुल, केही भवन पुनर्निमार्ण भए पनि जनअपेक्षा अनुसार हुन सकेको छैन । ‘बाटो विस्तार तथा जनचेतना बढेको, खुला दिसामुक्त र पूर्ण साक्षर जिल्ला घोषणा भएको छ,’ रोल्पा उद्योग वाणिज्य संघ अध्यक्ष बालकृष्ण सुवेदीले भने, ‘तर उद्योग, व्यापार, व्यवसायका हिसाबले खासै फड्को मार्न सकेको छैन ।

जीवनस्तर फेरिए पनि सरकारी तथा गैरसरकारी क्षेत्रको लगानी अनुसार उपलब्धि नभएको उनी बताउँछन् । 

द्वन्द्वका बेला ठप्प रोल्पाले शिक्षामा पनि ठूलो फड्को मारेको छ । प्रत्येक गाविसमा मावि खुलेका छन् । अहिले दर्जन बढी उच्च मावि सञ्चालनमा छन् । उता प्राविधिक शिक्षा पनि सञ्चालन भइरहेको छ । सिटिइभिटी आउँदो आर्थिक वर्षमा सञ्चालन हुँदैछ । फोन गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता पछिल्ला वर्षमा अन्त्य भएसँगै रोल्पालीलाई सहज भएको छ । गाउँगाउँमा लघुजलविद्युत सञ्चालन भएका छन् । २३ लघु जलविद्युत निर्माणाधीन छन् । पाँच हजार ५२ घरधुरीले ग्रामीण लघु जलविद्युत उपभोग गरिरहेका छन् । लघु विद्युतको सम्भावना नभएका गाउँमा सौर्य विद्युत जडान गरिएका छन् । ७ हजार ३ सय ४४ घरधुरी यसबाट लाभान्वित भएको ऊर्जा अधिकृत हुकुम बुढामगर बताउँछन् ।

रोल्पाको उद्योग विस्तार अर्को मुख्य सफलता हो । युद्धका बेला तीन सय जति साना उद्योग बन्द हुने अवस्थामा थिए । दशकयता १ हजार १ सय साना उद्योग दर्ता भइसकेका छन् । उद्योग अधिकृत बालकृष्ण आचार्यका अनुसार ‘अल्लो’ र ‘भाँगो’को रेसाबाट कपडा उत्पादन हुने उद्योग सञ्चालनमा आएका छन् । यी उद्योगकै कारण साढे चार हजार भन्दा बढीले रोजगारी पाएका छन् ।

दक्षिणी बुढागाउँ–३, पुरानो गाउँमा रोल्पा सिमेन्ट कारखाना सञ्चालनमा आएको छ । चुनढुङ्गा प्रशस्त रहेकाले २०६९ मा सिमेन्ट उद्योग स्थापना भएको हो । ‘डिजेल जेनेरेटर प्लान्टबाट कारखाना चलाएर क्लिङ्कर उत्पादन गर्छौं,’ प्रबन्ध निर्देशक दिनेश डाँगी भन्छन् ।

एकबाट अर्काे डाँडामा खबर पु¥याउन दमाहा बाजा बजाउने रोल्पाको सञ्चार जुग पनि फेरिएको छ । ‘हातहातमा मोबाइल, घरघरमा टिभी, रेडियो, ठाउँठाउँमा इन्टरनेटको पहुँच विस्तार भएको छ,’ पत्रकार नवीन लोचनमगर भन्छन् । १० वर्षे द्वन्द्वका समयमा सदरमुकाम भन्दा बाहिर ननिस्किएको विकास बजेट तथा कार्यक्रम गाउँ छिर्दा अन्य क्षेत्रको तुलनामा रोल्पा धेरै पछाडि छुटेको छ । 

भौगालिक रूपमा विकट यो क्षेत्रमा कृषि उत्पादन अत्यन्त कमजोर देखिन्छ । मकै उत्पादनमा अलि सुधार आए पनि अन्य उत्पादन राम्रो हुन सकेको पाइँदैन । ‘कृषि र पशुमा राज्यले लगानी गरे अनुसारको प्रतिफल आउन सकेको छैन, पर्याप्त सम्भावना बोकेको कृषि क्षेत्र हो त्यो नै प्रतिकूल भइरहेको छ,’ उद्योग वाणिज्य संघ अध्यक्ष बालकृष्ण सुवेदीले थपे । 

दरबन्दी अनुसारको नवौँ तहको डाक्टर नदेखेको रोल्पामा स्वास्थ्य क्षेत्र पछिल्लो दशकमा परिर्वतन भएको पाइन्छ । साबिकका प्रत्येक गाबिसमा बर्थिङ सेन्टर सञ्चालनमा आएका छन् । ‘अपायक ठाउँमा सामुदायिक स्वास्थ्य इकाइ खुलेका छन्, हेल्थ असिस्टेन्टले चलाउने अस्पतालमा डाक्टरको उपस्थिति नियमित छ,’ जिल्ला अस्पताल रोल्पाका स्वास्थ्यकर्मी कुलबहादुर डाँगी भन्छन् । अहिले जिल्ला अस्पताल रोल्पामा जटिल अवस्थाका सुत्केरीको अप्रेसन सुविधा छ भने नियमित ४÷५ डाक्टरको उपस्थिति पनि देखिन्छ ।

सहकारी टोलटोलमा पुगेका छन् । सदरमुकाममा राष्ट्रिय स्तरका केही बैंकले शाखा सञ्चालन गरेका छन् । पूर्वि बजार सुलीचौरमा ग्लोबल आइएमइ बैंक छ भने पश्चिमको होलेरी बजारमा राष्ट्रिय वाणिज्य बैंकले सेवा दिइरहेको छ । द्वन्द्वसँगैका मनमुटाव हराएका छन् भने चाउरिएर मुजा परेका अनुहारमा शान्ति छाउन थालेको छ । स्थानीय तहको निर्वाचन घोषणा भएसँगै झन् उल्लास बढेको छ । स्थानीय तहको नयाँ संरचना अनुसार यहाँ १ नगर र ९ गाउँपालिका रहेका छन्। 

रोल्पाले द्वन्द्वपश्चात विकासमा गति लिन खोजेको भए पनि यहाँको राजनीतिक उपलब्धी अनुसारको परिवर्तन पाउन नसकेको अनुभूति गरेको छ । रोल्पाबाटै थालनी भएको द्वन्द्वकै जगबाट नेपाली राजनीतिको निर्णायक तहमा एकसेएक नेता जन्मिए पनि रोल्पा उपेक्षामा परेको गुनासो रोल्पालीको छ। 

द्वन्द्वका नायक हालका प्रधानमन्त्री पुष्पकमल दाहालको दोस्रो पटक प्रधानमन्त्री भएका छन् । डा. बाबुराम भट्टराई एक पटक प्रधानमन्त्री भए । रोल्पाकै ओनसरी घर्ती अहिले सभामुख छिन् भने पटकपटक मन्त्री बनेका कृष्णबहादुर महरा अहिले उपप्रधान तथा अर्थमन्त्री छन् । वर्षमान पुन पनि अर्थ मन्त्रालय सम्हालेका रोल्पाली नेता हुन् भने नेत्रविक्रम चन्दलाई अर्का साहसिक नेताका रूपमा रोल्पाले जन्मायो । लोकतान्त्रिक व्यवस्थापछि रोल्पामा आएको यति ठूलो राजनीतिक परिवर्तनलाई रोल्पाले विकासका सवालमा ‘क्यास’ गर्न नसकेको अनुभूति रोल्पालीले लामो समयदेखि गर्दै आएका छन् । तर, रोल्पाले ठूलो विकास पाएको माओवादीको नेताको दाबी छ । केहि दिनअघि मात्रै दाङ आएकी सभामुख घर्तीले रोल्पामा ठूलो विकास भएको दाबी गरेकी थिइन् । थवाङको उदाहरण दिँदै उनले नागरिकसँग भनेकी थिइन्, ‘त्यो थवाङ अहिले कति सुन्दर र समृद्ध बनिसकेको छ ।’
रोल्पाबाट दिनेश सुवेदीको सहयोगमा 

 

प्रकाशित: ११ वैशाख २०७४ ०७:५० सोमबार

रोल्पालीलाई लोकतन्त्रको मलम