राजनीति

सलाम धुर्मुस-सुन्तली

प्रशंसक भन्थे– रमाइलो जोडी। आलोचक भन्थे– उखरमाउलो जोडी।

रमाइलो यसअर्थमा कि, तिनले  गाउँघरका कथा र चरित्र टिपेर टेलिभिजनमा मनछुने पाराले प्रस्तुत गर्छन्, दर्शकलाई भरपूर मनोरञ्जन दिइरहेका छन्। उखरमाउलो यसअर्थमा कि , तिनले पारिवारिक र सामाजिक सम्बन्धको खिल्ली उडाएका छन् , समाजका गहकिला मान्यतालाई मजाकको विषय बनाएका छन्।

छोटो अवधिमै तीनवटा एकीकृत बस्ती निर्माणको चुनौती पार लगाएर धुर्मस–सुन्तली जोडीले वाहवाही कमाइरहेको छ। सिंगो देश उनीहरूको काँधमा स्याबासीको धाप मारिरहेको छ।

टेलिभिजनको पर्दामा ‘मेरी बास्सै' हाँस्य टेलिशृंखला अनि वास्तविक जीवनमा पनि जोडी बनेका सीताराम कट्टेल ‘धुर्मुस' र कुञ्जना घिमिरे ‘सुन्तली'को परिचय अब  ‘दर्शक हँसाउने कलाकार' को सीमारेखाभित्र कैद छैन।

पछिल्ला दुई वर्षमा उनीहरूले जे गरेर देखाए, कुनै चमत्कारभन्दा कम छैन। छोटो अवधिमै ठूलो लगानीमा तीनवटा एकीकृत बस्ती निर्माणको चुनौती पार लगाएर यो जोडीले वाहवाही कमाइरहेको छ।  सिंगो देश उनीहरूको काँधमा स्याबासीको धाप मारिरहेको छ।

 देशको ‘शक्तिशाली सरकार' पनि यो जोडीका अघि आफूलाई लज्जित महसुस गर्ने ठाउँमा पुगेको छ। यसको प्रमाण सरकारकै मन्त्रीले दिइरहेका छन्। भूकम्पपछि पुनर्निर्माणमा सरकारले पूरा गर्छु भनेका धेरै काम अलपत्र छन्। यो जोडीले धेरै नबोली तीनवटा बस्ती बसाइसकेको छ। सरकारले केही गरिदेला भन्ने आस पीडितमा कमजोर छ। यो जोडी आए पुनर्निर्माणको काम अगाडि बढ्ने विश्वासमा धेरैमा छ।

विश्वासको बलियो जग

२०७४, वैशाख १।

महोत्तरी बर्दिबासको मुसहर बस्तीमा धुर्मुस–सुन्तली फाउन्डेशनद्वारा निर्मित ५३ घरसहितको एकीकृत नमुना बस्ती हस्तान्तरण कार्यक्रम थियो। छोराबुहारीले गरेको त्यो काम हेर्न बुबा बोगराज र आमा कमला कट्टेल त्यहाँ पुगेका थिए। रहरलाग्दो रूपमा  बनेका उस्तै घरहरूको बस्ती देख्दा बुबाआमा दुवैले आफ्ना सन्तानप्रति गौरवबोध गरे। ‘सानोमा धेरै बोल्दैनथ्यो,' बुबा बोगराजलाई त्यसबेला लाग्यो,  ‘अरुको द्ुःख देख्न सक्दैनथ्यो। यही स्वभावले यस्तो पवित्र काम गर्न सक्यो होला।'

मुसहर बस्तीका धेरैले कमलासँग भने रे, ‘तपाईको छोराबुहारी हाम्रा लागि भगवान बनेर आए।' आमाको मन न हो, सुन्नेबित्तिकै केही बोल्नै सकिनन्। ‘हाम्रा छोराबुहारीले गरेको कामले धेरै दुःखीहरूको मन खुसी बनाएको आँखैले देखेर आएँ। उनीहरूको जोडी सधैं यस्तै खुसी रहोस्,' कमलाले थपिन् ‘छोरोप्रति हामीलाई ठूलो भरोसा थियो। केही गर्छ जस्तो लाग्थ्यो। भगवानले बुहारी पनि उस्तै जुराइदिएछन्।' 

२०७२ वैशाख १२ को भूकम्पका बेला धुर्मुस–सुन्तली अमेरिका थिए। सरकारले सरसफाइ दूत पनि बनाएकाले सरसफाइ अभियानलाई गति दिने सोचसाथ छ महिनाकी छोरी घरैमा छाडेर उनीहरू त्यहाँ पुगेका थिए। भुइँचालोले नेपालमा ल्याएको विपत्तिबारे जब उनीहरूले विभिन्न माध्यमबाट थाहा पाए, अमेरिका बसिरहन सकेनन्। ‘हाँस्न र हँसाउन भनेर अमेरिका पुगेका हामी रुँदै फर्कनुपर्‍यो,'  सबै  कार्यक्रम रद्द गरेर वैशाख २० गते नेपाल फर्किएका जोडीको एकै स्वर छ ‘भूकम्पका कारण हाम्रो  परिवार पनि पालमुनि थियो। ६ महिने छोरीलाई पालमुनि त्यो हालतमा देख्दा हामीले मन थाम्न सकेनौं।'

अमेरिका छँदै दुवैले सल्लाह गरिसकेका थिए, नेपाल फर्केर पीडितका लागि काम गर्ने। त्यहाँका विभिन्न कार्यक्रममा उठेको साढे १७ लाख रुपैयाँ साथैमा थियो। घर फर्केको भोलिपल्टै परिवारलाई पालमुनि छेडीराखेर उनीहरू लागे भूकम्पप्रभावित जिल्लातिर। उनीहरूको साथमा राहत सामग्री थियो। त्योभन्दा ठूलो पीडितको घाउमा मलमपट्टी गर्ने समर्पणभाव।

 उनीहरू राहत बाँड्न मात्रै सीमित भएनन्। नुवाकोट, सिन्धुपाल्चोकजस्ता अति प्रभावित जिल्लामा चर्पी निर्माणमा पनि जुटे। नुवाकोटको महाकाली निम्न माध्यमिक विद्यालयमा सातकोठे पक्की भवन बनाए। त्यहाँका २ सय ५२ जना विद्याथीलाई कापी, कलम, किताव वितरण गरे।

भनिन्छ, कामले काम सिकाउँछ। उनीहरूका हकमा पनि त्यस्तै भयो। पूर्णकालीन कलाकारितामा रमाइरहेका उनीहरू अभिनय कर्म रोकेर राहत वितरणमा खटिए। त्यहीबेला उनीहरू लाग्यो– यसैगरी बस्ती नै बसाउन पाए!

मनसुवा र आँट त भयो  तर, त्यसका लागि स्रोत अभाव थियो। कलाकारितामार्फत कमाएको आफ्नै लोकप्रियताबारे परिचित उनीहरूले निधो गरे सहयोगका लागि सबैलाई आह्वान गर्ने र, काम पनि सुरु गर्ने। त्यसका लागि रोजे, काभ्रेको डाँडागाउँको पहरी बस्ती। २०७३ जेठ १७ गतेबाट काम सुरु गरेर साउन २७ मा बस्ती हस्तान्तरण गरिसक्दा साढे ६७ लाख रुपैयाँ लगानी भएको थियो।

विस्तारै  साढे ४७ लाख रुपैयाँ सहयोगीले स्वदेश तथा विदेशबाट उपलब्ध गराइदिए। अपुग रकम उनीहरू आफैंले लगाए। बस्ती निर्माण चल्दै गर्दा आइपरेको आर्थिक सकसले यो जोडीलाई धेरैपटक रुन र विरक्तिन बाध्य पारेको थियो। ‘तर, नथाल्नु काम थालिसकेका थियौं,' धुर्मुसले भने ‘उस्तै परे आफ्नै घर बेचेर भए पनि बस्ती निर्माण पूरा गर्ने अठोट गरिसकेका थियौं।'

पहरी बस्ती निर्माणपछि उनीहरू सरसफाई अभियान लिएर  विभिन्न ठाउँ पुगिरहे। अभियान सञ्चालन गर्दै गर्दा धेरैले संस्थागत रूपमा काम गर्दै अघि बढ्न सुझाव दिए, अनि जन्मियो  धुर्मुस–सुन्तली फाउन्डेशन। फेरि भूकम्पपीडितलाई न्यानो कपडा वितरण गर्दै, अरु राहत सामग्री बाँड्दै उनीहरू हिँडिरहे।  त्यति गर्दागर्दै ७—८ महिना बितिसकेको थियो।

 सरकारले गठन गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काम सुरु गरेकै थिएन, अनेकथरि विवादको केन्द्र बनेको थियो प्राधिकरण । यस्तो बेलामा फेरि एउटा अर्थपूर्ण बस्ती बसाएर सरकारलाई घच्घच्याउने लक्ष्यसहित दोस्रो एकीकृत नमुना बस्तीको तयारी सुरु भयो। सिन्धुपाल्चोकको गिरानचौरमा भूकम्प गएको ठीक १ वर्षपछिकै दिन २०७३ वैशाख १२ मा  शिलान्यास भयो बस्ती निर्माणकार्य । बस्ती सुरु गर्ने बेलामा फाउन्डेसनमा जम्मा १ लाख ७४ हजार रुपैयाँ थियो। तर, दाताबाट संकलित रकम सदुपयोग गरेर धेरैको विश्वास कमाएका उनीहरूका लागि ५ करोड १४ लाख रुपैयाँ चार महिनाभित्रै उठ्यो। कात्तिक १२ गते बस्ती  हस्तान्तरण गर्न सफल भयो जोडी।

जब सीताराम अलिअलि ‘थाहा पाउने'  हुँदै गए,  बिस्तारै  थाहा हुँदै गयो,  आफ्नो टाउकोमा दुईथरि भारी झुन्डिएको रहेछ। बाआमाले हरेक क्षण सम्झाउँथे ‘तँ परिवारको जेठो छोरो होस्, तैंले भाइबहिनी हेर्नुपर्छ।' कलिलो मस्तिष्कका लागि ‘जेठो छोरा',  एउटा गहु्रँगो भारी थियो। अर्को, उनले नियमित घाँस–दाउरा गर्नुपर्थ्यो। खेतबारीमा जोतिनैपर्थ्यो। कहिले दाउराको अनि कहिले घाँसको भारी बोक्दा  टाउकोमा नाम्लोको कसिलो ‘डोब' हुन्थ्यो।

 छिप्पिनै नभ्याइसकेको काँधमा हलो–जुवाको छाप पनि बाक्लै गरी पर्थ्यो। ‘सायद म भारी बोक्नकै लागि जन्मेको रहेछु,' उनले केहीबेर सोचमग्न बनेर भने  ‘म किन जन्मे भन्ने प्रश्नको उत्तरमा यही जवाफ उपयुक्त होजस्तो लाग्छ।'

परिवारको सबैभन्दा अगुवा हुनुको भारी, लोकप्रिय कलाकारको अवतारमा दर्शकको अपेक्षाको भारी अनि अहिले सामाजिक सेवामार्फत कहलिएर सिँगै समाजले उनीतिर आशापूर्ण नजर लगाइरहेको बेलाको भारी। ‘मेरा लागि भारी बोक्नु ठूलो कुरा कहिल्यै भएन किनभने मैले थाहा पाउँदैदेखि डोको नाम्लो गरेकै हो,' उनले भने ‘एकीकृत बस्ती निर्माणका बेला नियमित रूपमै निर्माण सामग्रीको भारी बोकेँ।' बस्ती बनाउने बेला डोको बोकेका उनका तस्बिर ‘भाइरल' बने।

सायद यसो भनेर उनी त्यो ‘स्टन्ट' मात्रै थिएन भन्ने प्रमाण पेस गर्दै थिए। हेर्नेहरूले  उनको डोकोको भारी सजिलै देखे। तर,  मष्तिष्कमा उम्लिरहेको सेवामूलक  काम गर्नुपर्ने दायित्वको भारी त्यसको तुलनामा वजनदार थियो, जुन  हेर्नेहरूले हम्मेसी देख्दैनथे। त्यसको महसुसदेखि कार्यान्वयनसम्म यही जोडीले गर्नुपर्थ्यो, गर्‍यो पनि। त्यही दायित्वबोधको भारीले यो जोडीलाई  भूकम्पले क्षतविक्षत बनेका गाउँघरतिर डोर्‍याएको थियो। विपन्न र सिमान्त समुदायको घरआँगनसम्म पुर्‍याएको थियो।

सधैंको संघर्ष 

२०५८ जेठ १७ गते।

बुबाले हातमा  राखिदिएको १७ सय रुपैयाँ, एउटा तन्ना, एक बोरा चामल र एउटा झल्ला बोकेर सीताराम आफ्नो ‘सपनाको सहर' काठमाडौं हान्निएका थिए। 

जब उनी बसबाट ओर्लिए, बसपार्कमा अनौठो तनावको वातावरण थियो। एउटा समूह गाडी बन्द गर्न भन्दै हिँडिरहेको थियो, अर्को समूह छेउछाउका पसल नखोल्न उर्दी गर्दैथियो। केहीबेर अघिसम्म गुल्जार बसपार्क एकैछिनमा सुनसान भयो। दरबारमा राजा वीरेन्द्रको वंशनाश भएको खबरले सबैतिर तनाव छाउँदैथियो। त्यहाँको तनावलाई वास्ता नगरी उनी साथैमा गएका दाइसँग पैदलै लागे कोटेश्वरतिर।

झापा गौरादहबाट राजधानी जाँदै गर्दा उनका केही योजना थिए। पहिलो, पढाइलाई निरन्तरता दिने। ‘जसरी भए पनि पढाइ रोक्नु हुँदैन भन्ने थियो,' उनले भने, ‘गाउँमा हुँदा म खुब चित्र बनाउँथे , त्यसलाई पनि निरन्तरता दिन्छु भन्ने थियो।' सँगै स्कुलका स्टेजमा उनले क्यारिकेचरमार्फत धेरैपटक वाहवाही बटुलेका थिए। सके, त्यो क्षमताको पनि उपयोग गर्ने दाउ थियो।

 राजधानीका गल्ली चाहार्दै गर्दा उनले बुझ्दै गए, आफूसँग भएको सीप साथीभाइलाई सुनाउन र देखाउनबाहेक अन्यत्र काम लाग्ने छैन। ‘मैले जानेको कुरामा सिक्नुपर्ने धेरै रहेछ भन्ने लाग्दै गयो,' उाले भने ‘सबैभन्दा पहिले पेट पाल्ने उपाय खोज्न थालेँ।'

महँगो कोठाभाडा र  खर्चिलो दैनिकीले घरबाट लिएर गएको पैसा दिनैपिच्छे घट्दै थियो। उनको सपनाको आकार चाहिँ बढेको बढ्यै थियो। त्यहीबेला उनले एउटा काम पाए, मार्केटिङको। तरकारी पकाएर मा‰नै नपर्ने, पुछपाछ मात्रै गरे हुने खालको कराइलगायतका भाँडावर्तन, एकपटक जलेर बिलाउँदै गएपछि फेरि पनि बाल्न मिल्ने मैनबत्ती डुलाउँदै बेच्नुपर्ने थियो।

बजारमा पाइनेभन्दा महँगो उनका सामान हम्मेसी बिक्दैनथे। कसै–कसैले किन्थे, त्यसले उनको खाना र खाजा खर्चसम्म चल्थ्यो। त्यही सामान डुलाउँदै हिँड्दै जाँदा मैतीदेवीमा एक दिन एकजना जँड्याहाले हातपात पनि गरे। ‘डुब्लिकेट सामान बेच्छस्?' भन्दै उनीमाथि खनिएका थिए ती।

 केही महिना काम गरेपछि उनी पढाइ अघि बढाउने निधोसहित आरआर कलेज भर्ना भए। अंग्रेजी र पत्रकारिता मुख्य विषय बनाएर पढाइ थालेपछि उनले कलेजका साथीभाइमाझ कला देखाउन थाले।

जोक सुनाउने, क्यारिकेचर गर्ने उनको क्षमताबारे साथीभाइ परिचित बन्दै गए। सबैले उनलाई सन्तोष पन्तलाई भेट्न भन्न थाले। त्यसबेला उनको ‘हिजोआजका कुरा' ले बजार पिटेको थियो। धेरै नयाँ कलाकार जन्माउने ‘प्लेटफर्म' पनि थियो, पन्तको सिरियल। ‘चतुरे' का नामले चर्चित भइसकेका खेम शर्मासँग एक दिन गाडीमा भेटेर परिचय हुँदा उनले पनि हौस्याएका थिए। सिरियल खेल्न पाइने आशामै उनी शर्माकै नजिकै थापाथलीमा डेरासमेत सरेका थिए। तर, शर्मा आफैं निर्णायक ठाउँमा थिएनन्। त्यसैले उनको इच्छा तत्काल पूरा भएन।

अब उनी पन्तको घर धाउन थाले। त्यहाँ  ‘अडिसन' दिन आउनेको लर्को ठूलो हुन्थ्यो। फेरि हरेक सोमबार नयाँ कलाकार छान्थे पन्त  तर, उनी चाहिँ बिहीबार मात्रै पुगेछन्। कलेजमा १७ दिन बिताइसक्दा उनी लगभग खर्चविहीन भइसकेका थिए। पढाइ र कलाकार बन्ने धपेडीले मार्केटिङ सम्बन्धी कामको लय गुम्दैथियो। खर्च बढ्दै थियो। विरक्तिएर घर फर्कने निधोमा पुगे। उनकै भाषामा ‘केही नलागेपछि चल भाइ भैरे, हलो जोत' भन्ने निष्कर्षले उनलाई झापा फर्कायो। घर फर्केर १० दिन जति मात्रै बित्दैथियो, हिजोआजका कुरामा उनले आफ्ना केही साथीभाइलाई नियमित देख्न थाले।

आमिर खानको ‘थ्री इडियट' मा एउटा डायलग छ, ‘साथीभाइ फेल हुँदा दुःख लाग्छ तर , जब साथीभाइ फर्स्ट हुन्छन्, झनै दुःख लाग्छ! ' आफ्ना दौंतरी टेलिभिजनको पर्दामा छाउन थालेको देख्दा सीतारामको मन पनि प्रतिस्पर्धाको जलनले जल्न थाल्यो। ‘अनि त घर बस्नै सकिनँ,' उनले सम्झे ‘फेरि फर्किएँ काठमाडौं।'

काठमाडौंमा उनको दोस्रो ‘इनिङ'को सुरुआत पनि सुखद रहेन। कहिले होटलमा बिल तिर्न नसकेको झमेलाले पिरोल्थ्यो अनि कहिले काम खोज्दाको हैरानीले गलाउँथ्यो। त्यहीबेला उनी मोहन निरौलाको परिवर्तन नेपालसम्म पुगे। आउनेजाने हुन थालेपछि सडक नाटकमा मौका पाए। ६ महिना लगातार धाएपछि हिजोआजका कुरामा  एउटा ‘डायलग' बोल्ने अवसर मिल्यो। त्यही सानो मौका पनि उनलाई कलाकारितामा टिक्न हौसला प्रदान गरिरहने आधार बन्दै थियो। ठूलो मौका आउला कि भन्ने आस पलाउन थाल्यो।

त्यही बेला रतन सुवेदीले बनाएको ‘झमेला' नामक सिरियलमा अभिनयको अवसर जुर्‍यो उनलाई। चारजना लहरै उभिएर अघि बढ्नुपर्ने छोटो भूमिका पाएका थिए। सबैभन्दा पछाडि उभिने ‘रोल' थियो। त्यो पनि रातको अन्धकारमा सुटिङ भएको थियो। सिरियल टिभीमा आउँदा उनले आफ्नै अनुहार पनि ठक्याउन सकेनन्। तर, यो पनि उनको आशाको दियोमा थपिएको अर्को  थोपा तेलसरह थियो, जसले अभिनयको मौका पाउने आशाको बाती बालिरहन टेवा दिएको थियो।

आरआर कलेजमा त्यसबेला नयाँ विद्यार्थीको स्वागत कार्यक्रम भइरहन्थ्यो। एउटा कार्यक्रममा सीतारामले  क्यारिकेचरको मौका पाए। कार्यक्रममा अतिथिको रूपमा उपस्थित थिए, जीतु नेपाल। हाँस्य कलाकारका रूपमा स्थापित भइसकेका जीतु त्यसबेला गीताञ्जली कार्यक्रम चलाउँथे। सीतारामको क्षमता एकैपटकमा परख गरेका जीतुले त्यहीबेला भनेछन्, ‘भाइ तिम्लाई स्त्रि्कप्ट पनि लेख्न आउँछ भने म गीताञ्जलीमा मौका दिन सक्छु।'

उनका लागि जीतुको आश्वासन ढुंगा खोज्दा देउता पाएसरह थियो। केही दिनपछि स्त्रि्कप्ट बोकेर जीतुलाई भेट्न गए। त्यहाँ पुग्दा केदार घिमिरे (माग्ने बुढा) पनि स्त्रि्कप्ट बोकेर जीतुलाई नै भेट्न पुगेका रहेछन्। सीतारामको हाँस्य क्षमताबारे केदार पहिल्यै परिचित रहेछन्, जीतुलाई उनले त्यसबारे सुनाइदिए। जीतुले दुवैको स्त्रि्कप्ट हेरे  र भने ‘तिमीहरू दुवैजना राम्रो लेख्दा रहेछौ। मिलेर गर्ने हो भने राम्रै हुन्छ।' जीतुसँगको त्यो भेटले सीताराम र केदारको जोडी मात्रै बाँधेन। पर्दामा देखिने र काम गर्ने रहर पनि पूरा गर्‍यो। दुवैले गीताञ्जलीका लागि सँगै काम गर्न थाले।  ‘त्यो मेरो जीवनको ‘टर्निङ प्वाइन्ट' सावित भयो,' जीतु र केदार दुवैप्रति कृतज्ञ भावमा उनले सुनाए, ‘त्यसपछि मेरो कलाकारिताले आकार लिँदै थियो।' 

त्यसबेला जीतुकै जोडी रहेका दमन रुपाखेती एउटा डमी सिरियल बनाउँदैथिए।  नाम थियो– ‘लौ न सतायो।'  उनले त्यसका लागि सीतारामलाई पनि छानेका थिए। दमनको निम्तोमा  सीताराम सुटिङको सेटमा पुग्दा तयारी चल्दैथियो। सबै  आ–आफ्नै धुनामा थिए। आँखा दौडाउँदै जाँदा नजर टक्क अडियो, एउटा गाडीमा। 

गाडीभित्र एउटी केटी धमाधम मेकअप गर्दै  थिइन्।

कुञ्जनाको कथा

ललितपुर चापागाउँमा जन्मेहुर्केकी  कुञ्जना घिमिरे स्कुलकी ‘फरवार्ड' छात्राको गणनामा पर्थिन्। नाचगान होस् कि खेलकुद, हरेक साता स्कुलबाट घर फर्कदा उनको ब्यागमा ‘प्राइज' हुन्थ्यो। 

व्यापार गर्ने बुबाआमाले पनि सधैं हौस्याउँथे ‘स्याबास छोरी, अझै प्रगति गर्नू!' त्यस्तै हुँदै गयो, नृत्यमा सिपालु उनलाई हम्मेसी कसैले हराउँदैनथ्यो। केटाहरूको हुलमा मिसिएर तोडले फुटबल खेल्ने एक्ली छात्रा उनै हुन्थिन्। खेलकुदका अन्य विधामा पनि उनको रुचि र पकड बलियो थियो। ‘

 २०५९ मा एसएलसी परीक्षा दिनेबित्तिकै उनले छिमेकी दाइ भूपेन्द्र पराजुलीलाई सोधिन्, ‘दाइ रेडियोमा केही काम पाइन्छ?'

 रेडियो नेपालका जागिरे भूपेन्द्रले सोधे ‘के गर्छौ रेडियोमा?'

रेडियो नेपालमा आउने विभिन्न नाटककी नियमित स्रोता कुञ्जनाले आत्मविश्वासी जवाफ दिइन्, ‘नाटकमा बोल्छु, अभिनय गर्छु।'

भूपेन्द्रले रेडियोमा गएर कुरा गर्न सुझाव दिए। मदनदास श्रेष्ठ त्यसबेला रेडियोका हाकिम थिए। उनकै सामुन्ने गएर उनले आफ्नो इच्छा व्यक्त गरिन्। श्रेष्ठले स्वर परीक्षा दिन लगाए। उनले ‘पास' भएको प्रमाणपत्र हात पारिन्। लगत्तै उनले आवाजको दुनियाँमा होमिने मौका पाइन्।

 रेडियोका धेरै वटा नाटकमा उनले काम गरिन्। रेडियोको चर्चित कार्यक्रम ‘साथीसँग मनका कुरा' मा पनि संलग्न भइन्। अत्यधिक स्रोता बटुलेको अर्को कार्यक्रम ‘दिनप्रतिदिन' मा उनी मुख्य कलाकार बन्न थालेकी थिइन्।

रेडियो नेपालको प्रवेश र  नाटकमा अभिनयकै कारण उनले कलिलै उमेरमा परिपक्व कलाकारको संगत पाइन्। दमन रुपाखेती, पूर्ण थापालगायत कलाकारसँग चिनजान भयो। मदनदासले त उनलाई रेडियोमा ‘ब्रेक' नै दिएका थिए। रेडियोमा बोल्दाबोल्दै उनले टेलिभिजनको पर्दामा देखिने अवसर पनि पाइन्।

जनस्वास्थ्यसम्बन्धी एउटा सिरियलमार्फत सानो पर्दामा ‘डेब्यु'  गरेकी उनले लगातारजसो टिभीमा विभिन्न सिरियलमा अभिनय क्षमता देखाइन्।

एक दिन कलाकार पूर्ण थापाले कुञ्जनालाई सोधे ‘तितो सत्यमा खेल्छ्यौ?'

उनले सहर्ष स्वीकारिन्। तितो सत्यमा  सात ‘एपिसोड' काम गरिन्।  तितो सत्यको सेटबाट केही दिन फुर्सदमा रहेका बेला रेडियोमै चिनजान भइसकेका दमन रुपाखेतीले उनलाई भने ‘कुञ्जना, लौ न सतायो भन्ने एउटा डमी सिरियल गर्नुछ, तिमीले त्यसमा काम गर्नुपर्छ।'

जवाफमा स्वीकृतिसूचक टाउको हल्लाएर बिदा भएकी उनी त्यसैको ‘स्त्रि्कप्ट'मा डुब्दै थिइन्। सुटिङको दिन आयो। उनी समयमै  पुगिन्। सानो खर्चको सिरियलमा मेकअप कलाकार आफैंले गर्नुपर्थ्यो। त्यसदिन उनी सुटिङस्थलमै एउटा गाडीको सिटमा बसेर मेकअप गर्दै थिइन्। उनलाई पहिलोपटक सीतारामले त्यहीँ देखेका रहेछन्। उनले पनि सीतारामलाई पहिलोपटक त्यहीँ देख्दै थिइन्।

धुर्मुस–सुन्तली अवतार 

‘लौ न सतायो' को सेटमा उनीहरूको भेट हुनु, दमन र केदारसहितको टोली एकत्रित हुनु एउटा नयाँ योजनाको सुरु हुने अवसर पनि रहेछ। दमन, केदार र सीताराम मिलेर ‘मेरी बास्सै' हाँस्यशृंखलाको कल्पना गरे। कुञ्जना पनि त्यो  टिमको महत्वपूर्ण सदस्य भइन्। जिम्मेवारी छुट्याइयो– केदार र सीतारामले सम्पूर्ण व्यवस्थापन हेर्ने, दमनले निर्देशन गर्ने, स्त्रि्कप्टको काम सबैले मिलेर गर्ने।

२०६१ पुसतिरको कुरा होे यो। टेलिभिजनमा ‘मेरी बास्सै'को काम सुरु भइसकेको थियो। कथा पूरै सहरकेन्द्रित थियो। कुञ्जना भतिजी र सीताराम बुढो काकाको भूमिकामा थिए। आठ भागसम्म पुगेपछि टिमले नै अनुभव गर्‍यो, सिरियल अपेक्षाकृत जमेन। के गर्ने भन्ने विषयमा तर्कवितर्क –बहस चल्यो। लामो रस्साकस्सीपछि दमन नेतृत्वको टिमको निष्कर्ष थियो, अब सिरियललाई गाउँमा केन्द्रित गर्ने। घरगाउँतिर चलनमा रहेको घरज्वाइँ उभ्याउने, कोही पात्रलाई मगन्ते अवतारमा लैजाने।  उटपट्याङ एउटा जोडी पनि बनाउने जसको वरिपरि प्रेमकथा बुन्ने। दमनले घरज्वाइँको भूमिका रोजे, केदारले माग्ने बुढाको। कुञ्जना र सीतारामको भागमा पर्‍यो, प्रेमी–प्रेमिकाको भूमिका।

त्यसबेला सीतारामलाई गौरादहको गाउँमा रहेका ‘धुर्मुस दाइ' को सम्झना भयो। धुर्मुस गौरादहतिर चल्ने एउटा गाडीमा काम गर्थे। काला–काला वर्णका ती धुर्मुस शारीरिक रूपमा गठिला थिए, गाउँघरमा ज्यादै सहयोगी पनि। तर, धेरै बाठा भने थिएनन्। उनलाई सबैले धुर्मुस भनेर बोलाउँथे। ‘तिनै दाइलाई सम्झेर मेरो नाम ‘धुर्मुस' राख्ने सल्लाह भयो,' सीतारामले भने ‘मेरो जोडीका रूपमा कुञ्जनाको नाम ‘सुन्तली' राख्ने सल्लाह भयो।'

जब उनीहरू जोडीका रूपमा पर्दामा लगातार देखापरे। छोटो समयमै उनीहरू लोकप्रिय बन्न सफल भए। पर्दामा जम्दै गएपछि मुलुकभरिका विभिन्न कार्यक्रममा  उनीहरूको माग बढ्न थाल्यो। कार्यक्रममा सँगै जान थाले।

पेसागत  सहकार्य हुँदै जाँदा कुञ्जनालाई थाहा भयो, धुर्मुस  ठूलो संघर्ष पार गरेर,  अनेक कष्ट सहेर यहाँसम्म आइपुगेका थिए। ‘उहाँको काम गराइ र इमानदारीले सम्मानभाव जगाउँथ्यो,' कुञ्जनाले भनिन्, ‘अझ दुःख झेलेर अनि संघर्ष गरेर आएको भन्ने थाहा पाएपछि झनै  श्रद्धा जाग्दैगयो।' उनका अनुसार त्यसबेलासम्म उनीहरूबीच पेसागत मित्रताबाहेक अर्को सम्बन्धको कल्पना थिएन। 

सीतारामले पनि कुञ्जनाकै भनाइमा सही थपे। ‘उनी हेर्दै सुखसयलमा हुर्केकी केटीजस्तो देखिन्थिन्, घरमा टिभी पनि नभएको मैले सम्बन्धबारे सोचेकै थिइनँ,' उनले भने, ‘तर, निरन्तरको सहकार्य र निकटताले कतिबेला उनी मलाई मनपर्न थालिन् पत्तै भएन।' त्यसअघिसम्म केटीसँग बोल्न पनि हच्किने उनले आँट जुटाएर एक दिन कुञ्जनालाई प्रेम प्रस्ताव राखे। कुञ्जनाले सीतारामको प्रस्तावमा हुन्छ भनिनन् , हुन्न भनेर उनलाई निरास पनि बनाइनन्। उल्टै सम्झाइन् ‘हाम्रो यो करिअर बनाउने बेला हो। यस्तो झमेलामा फँस्ने बेला होइन।' सीतारामका अनुसार कुञ्जनाको बोली र प्रस्तुतिमा सधैं एउटा शक्ति हुन्छ, जसले उनलाई सजिलै विश्वस्त तुल्यायो  रे! त्यसपछि दुवैले कामलाई प्राथमिकता दिए। विस्तारै दुवैको निकटता मित्रता, प्रेमिप्रेमीका हुँदै दाम्पत्य जीवनमा रूपान्तरण भयो। २०६५ मा उनीहरू प्रणयसूत्रमा बाँधिए।

प्रकाशित: ११ वैशाख २०७४ ०४:०९ सोमबार

सलाम धुर्मुस-सुन्तली