राजनीति

असार ७ गते ७७ जिल्लामा ७७ पटक घण्टी बजाउन रविको आग्रह

यही असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको एक वर्ष पुग्दै छ। पार्टी स्थापनाको छोटो समयमा नै ठुलो फड्को मारेको रास्वपाले आफ्नो स्थापना दिवस मनाउने भएको छ। पार्टी स्थापनाको एक वर्ष पुगेको उपलक्ष्यमा रास्वपाले असार ७ गते ७७ वटा जिल्लामा दिवस मनाउन लागेको हो।  

यसबारे जानकारी दिँदै रास्वपा सभापति रवि लामिछानेले उक्त दिन साँझ ७ बजे सातै प्रदेश र ७७ जिल्लामा एकसाथ ७७ पटक ‌आफ्नो घरमा, मन्दिरमा, आफू काम गर्ने कार्यालयमा घण्टी बजाउन आह्वान गरेका छन्।  

उनले घण्टी बजाएको भिडियो सामाजिक सञ्जालमा ह्यासट्याग बज्यो घण्टी राखेर पोस्ट गर्न समेत आग्रह गरेका छन्।  

‘ह्यासट्याग बज्यो घण्टी, ह्यासट्याग अब दुईतिहाइ राखेर पोस्ट गर्नुहुन म हार्दिक अनुरोध गर्दछु’, उनले सामाजिक संजालमा भिडियो राख्दै भनेका छन्।  

गत वर्ष ७ असारमा रास्वपा गठन भएको थियो। स्थापनाको पहिलो वर्ष नै अर्थात ०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा  निर्वाचन लडेको रास्वापाले रास्वपाले प्रत्यक्ष र समानुपातिक र ०८० मा भएको उपचुनावमा गरी २१ सिट जितेको थियो। अबको निर्वाचनमा दुई तिहाई ल्याउने अपेक्षा रास्वपाले गरेको छ।

प्रकाशित: २ असार २०८० ०८:०६ शनिबार

रास्वपा स्थापना दिवस सभापति रवि लामिछानेले