राजनीति

चुनावपछि गाउँ–गाउँमा सरकार पुग्छ : राज्यमन्त्री जवेगु

तेह्रथुम – पशुपंक्षी विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले आसन्न स्थानीय तहको निर्वाचनपछि गाउँ–गाउँमा सरकार पुग्ने बताएका छन् । 

शनिबार सदरमुकाम म्याङलुङमा गरिएको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा उनले भने – ‘चुनावपछि सिंहदरबारका सेवा सुविधा लिएर सरकार आफैँ जनताको घरदैलोमा आइपुग्छ।’ 

राज्यमन्त्री जवेगुले निर्वाचनमा मतदान गर्न पाउनु सबै नागरिकको नैसर्गिक अधिकार भएकाले चुनावमा भाग लिन र मतदान गर्न आग्रह गर्दै “संविधानले दिएको अधिकार प्रयोग गर्दै सक्षम, विकासप्रेमी नेतृत्व चयन गरौँ भने ।” 

“यो पहिलेको जस्तै मात्रै चुनाव होइन,” उनले भने –“यसले स्थानीय सरकारमा जनप्रतिनिधि त छान्छ नै, नागरिकलाई थप सेवासुविधा र अधिकारको पनि सुनिश्चित गर्छ ।” 

राज्यमन्त्री जवेगुले सबै दलको सहमतिमा तोकिएकै मितिमा चुनाव हुनेमा आफू विश्वस्त रहेको बताउँदै यो चुनावमा पार्टीलाई अग्रपङ्क्तिमा स्थापित गराउन कार्यकर्तालाई निर्देशन पनि दिए। 

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य टङ्क आङ्बुहाङ, नेत्री वर्षा कन्दङवा, पोलिटब्यूरो सदस्य तथा जिल्ला अध्यक्ष दुर्गाप्रसाद चापागार्इं, जिल्ला संयोजक इन्द्रप्रकाश इम्सङ र केन्द्रीय सदस्य धर्मराज खड्कालगायत वर्तमान राजनीतिक अवस्था र स्थानीय तहको निर्वाचनको विविध पक्षमाथि प्रकाश पारे । रासस 

प्रकाशित: ९ वैशाख २०७४ ०९:५९ शनिबार

चुनावपछि गाउँ–गाउँमा सरकार पुग्छ राज्यमन्त्री जवेगु