राजनीति

दुई लाख रोजगारी सृजना गर्ने लुम्बिनी प्रदेशको लक्ष्य

लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

दाङको भालुवाङ स्थित प्रदेशसभामा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ९७ लाखको बजेट पेश गरेका हुन्।

कुल बजेटमध्य चालुतर्फ १५ अर्ब ६३ करोड ३० लाख ९९ हजार अर्थात ३३.८७ प्रतिशत विनियोजन गरिएको छ। पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार अर्थात ५७.४५ प्रतिशत छ।

त्यसैगरि बजेटमा स्थानीय तह मार्फत वित्तिय हस्तान्तरण मार्फत ३ अर्ब ५८ करोड ९७ लाख अर्थात ८.८७ प्रशितत विनियोजन गरिएको छ। बजेटको स्रोततर्फ आन्तरिक राजश्वबाट ६ अर्ब ७३ करोड ५१ लाख उठाउने लक्ष्य दिइएको छ।

संघीय सरकारबाट राजश्व बाँडफाँटबाट ११ अर्ब ३१ करोड ७४ लाख प्राप्त भएको छ भने रोयल्टी ३९ करोड छ। स्थानीय तहबाट राजश्व बाँडफाँटबाट प्राप्त हुने २ अर्ब ५० करोड ३० लाख प्राप्त हुने अनुमान गरिएको छ।  

संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब १४ करोड ८३ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८३ करोड ५९ लाख, समपुरक अनुदानबाट ८४ करोड र विशेष अनुदानबाट ५६ करोड प्राप्त हुनेछ। चालु आबको मौज्दात ३ अर्ब तथा अन्तरिक ऋणबाट १ अर्ब २५ करोड परिचालन हुने अनुमान प्रदेश सरकारको छ।

२ लाख रोजगारी सृजनालाई प्रदेश सरकारले आफ्नो बजेटको प्राथमिकतामा राखेको छ। लुम्बिनी प्रदेश सरकारले रोजगारी सृजना गर्ने कुरालाई नै बजेटको मुख्य विशेषता र नयाँपनको रुपमा भएको बताएको छ।

कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि, नवप्रवद्र्धन आविस्कार, गुणस्तरीय स्वास्थ्य सेवा, सिपमुलक तालिम, गुणस्तरीय दिगो भौतिक पुर्वाधार, लघु तथा घरेलु उद्योगलाई प्रवर्दन, कला संस्कृतिको माध्यमबाट पर्यटन प्रवद्र्धन, प्रम्परागत सीप कलाको प्रवद्र्धन, वातावरण संरक्षण, जलवायु परिवर्तन, लगायतका कार्यक्रम प्राथमिकता दिएको छ।

बजेटमा उद्योग दर्तामा प्रविधि, लुम्बिनी प्रदेशको उन्नति, एक जिल्ला एक नमूना बस्ती, कृषकबाट कृषकसम्म, घरदैलोमा प्राविधिक सेवा, उत्पादनमा टेवा, श्रमको सम्मान, लुम्बिनी प्रदेशको अभियान, पढ्दै कमाउँदै, कमाउँदै पढ्दै, सीप सिकौं दक्ष बनौं, मानव विकासको आधार, लुम्बिनीका स्तरीय र सुरक्षित पूर्वाधार जस्ता योजना कार्यक्रम बजेटमा समेटिएका छन्।

यस्तै पीडितसँग प्रदेश सरकार, सिकाउने, टिकाउने र श्रमबजारमा बिकाउने, लुम्बिनीका खेलाडी, सधैं अगाडि, कृषिको आधार, सिंचाइमा सुधार, उज्यालो प्रदेश, लुम्बिनी प्रदेश, एक घर एक धारा, वनजन्य उद्यमको विकास ,बेरोजगारी समस्याको निकास, मेरो स्वास्थ्य मेरो जीवन, लोरेट एण्ड लिडर कार्यक्रम पनि बजेटमा छ।

नेकपा एमाले लुम्बिनी प्रदेश संसदिय दलका नेता लिला गिरी बजेट कनिका छरेजस्तो गरि आएको बताए। ‘उहाँहरुले बिगतमा जस्तै रिपिड बजेट प्रश्तुत गर्नु भएको छ। जनताको जिबन स्तर परिबर्तन हुने गरि बजेट आउनु पर्ने थियो तर आएन। कनिका छरे जस्तो बजेट आएको छ।’ उनले कार्यकर्ता पोस्ने गरि बजेट आएको आरोप लगाए। ‘बजेटको दुरुपयोग हुने सम्भावना छ।’ 

नेकपा माओवादी लुम्बिनी प्रदेश संसदिय दलका नेता जोखबहादुर महराले आर्थिक रुपमा संकुचनको स्थितले प्रभाव पारेको बेला साढे ४१ अर्बको बजेट आउनु ठूलो कुरा भएको बताए। ‘बजेटले जनताको माग सम्बोधन गर्ने प्रयास गरेको छ। कृर्षि क्षेत्रलाई प्राथमिकता दिएको छ। जनताको जीबन प्रभावको आधार तयार भएको छ। रोजगारिको बाताबरण सृजना गरेको छ। अदक्ष श्रम सक्तिलाई दक्ष बनाउन। कार्यान्वयनको कुरा मुख्य हुने छ।’ उनले बजेट सहि सदुपयोग भयो भने रिजल्ट आउने बताए।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापती अमरसिंह पुनले अहिले आर्थिक अबस्थालाई हेर्ने हो भने समग्रतामा बजेट संतोषजनक रहेको प्रतिकृया दिए। ‘राष्ट्रिय अन्राष्ट्रिय अर्थतन्त्रको अबस्था हेर्दा बजेट कम देखिएको छ।  रोजगारिका लागि साना उद्यमशिलतालाई ध्यान दिएको छ। समग्रतामा बजेट जनपक्षिय छ।’  

प्रकाशित: १ असार २०८० १३:३२ शुक्रबार

लुम्बिनी प्रदेश