राजनीति

महाधिवेशन नआई सभापति देउवालाई पदबाट हटाउन मिल्दैनः रमेश लेखक

फाईल तस्बिर

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले महाधिवेशन नआई पार्टी सभापति शेरबहादुर देउवालाई पदबाट हटाउन नमिल्ने बताएका छन ।  

महामन्त्री गगनकुमार थापाले पार्टी सभापति देउवाले मार्ग प्रशस्त गर्नुपर्ने अभिव्यक्ति सार्वजनिक भएका बेला उनले महाधिवेशनले मात्रै उहाँलाई पदबाट हटाउन सक्ने विधि र प्रक्रिया रहेको प्रष्टयाएका हुन । पार्टी सभापति, केन्द्रिय समिति चयन गर्ने प्रक्रिया र पद्धति महाधिवेशन भएकाले त्यसबाट मात्रै सभापति चयन हुने वा परिवर्तन हुन सक्ने प्रमुख सचेतक लेखकको भनाई थियो।

आज संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले महामन्त्री थापाप्रति संकेत गर्दै सभापति हटाउने विषय एउटा व्यक्तिले भनेर नहुने बताए । काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले यहाँभित्र नेतृत्वप्रति विरोध, समर्थन, आलोचना हुन सक्ने भन्दै प्रमुख सचेतक लेखकले पार्टी सभापति र केन्द्रिय कार्य समितिको नेतृत्व पार्टीका १० लाख क्रियाशील सदस्यहरुको भावनाको प्रतिनिधित्वको आधारमा हुने स्मरण गराए ।

प्रमुख सचेतक लेखकले अरु पार्टीहरुको भन्दा युवा पुस्ता नेतृत्वमा पुर्‍याउने काम नेपाली काँग्रेसले गरेको दावी समेत गरे।

प्रकाशित: १ असार २०८० १२:५३ शुक्रबार

महाधिवेशन नआई सभापति देउवालाई पदबाट हटाउन मिल्दैनः रमेश लेखक